चाँगुनारायणमा जस्तो संक्रमण त्यस्तै तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चाँगुनारायणमा जस्तो संक्रमण त्यस्तै तयारी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा कोभिडका संक्रमित बढ्दै गएका छन् । संक्रमित बढेसँगै त्यसको व्यवस्थापनको तयारीमा नगरपालिका जुटेको छ ।

चाँगुनारायण नगरपालिका भक्तपुरका प्रमुख सोमप्रसाद मिश्रले हिजो बेलुकासम्मको तथ्याङ्कमा संक्रमितको संख्या २ सय नाघेको बताउँदै त्यही अनुसारको तयारीमा जुटेका बताए । प्रमुख मिश्र भन्छन्, ‘अवस्था भयावह छ, तयारी पनि छ, जत्रो महामारी त्यही अनुसारको तयारी त गर्नै पर्यो नि त्योसँग जुध्नलाई’ ।

संक्रमितलाई राख्नको लागि नगरपालिकाले १ सय बेडको आइसोलेसन निर्माण गरेको छ । नेपाल इञ्जिनियरिङ कलेजको भवन लिएर नगरपालिकाले त्यहीँ आइसोलेसन बेड स्थापना गरेको छ ।

मिश्रका अनुसार नगरपालिकाले संक्रमितको उपचारको लागि नगरअस्पताल सञ्चालनमा ल्याएको छ । १७ बेडको नगरअस्पताललाई बिरामीको चाप हेरेर ३० बेडसम्म राख्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

नगरपालिकाले क्वारेन्टाइनको आवश्यकता भने महसुस नगरेको नगरप्रमुख मिश्रको भनाइ छ । ‘क्वारेन्टाइन विदेशबाट आउनेलाई आवश्यक पर्ने रहेछ, हवाई सेवा बन्द भएकोले विदेशबाट आउने अवस्था अब छैन, बाँकीलाई आइसोलेसन नै हो’, उनले भने ।

विद्यार्थीहरु घर गइसकेका र मजदुरहरुको काम चलिरहेको कारण यस वर्ष राहत वितरण गर्नुपर्ने अवस्था नरहेको उनले बताए । ‘अब खेतीपातीको काम सुरु भएकोले काम गरेर खानेलाई ज्यालादारीको अवसर छ, त्यसकारण खानै नपाउने स्थिति नबुझिएकोले राहतको काम भने अघि बढाएको छैनौँ’, उनले भने ।

नगरपालिकाले बिरामीको उपचारको लागि प्रविधिको प्रयोग पनि सुरु गरेको छ । हरेक साँझ आइसोलेसनमा बसेका बिरामीलाई जुममा जोडेर चिकित्सकले परामर्श तथा काउन्सिलिङ दिने गरेका छन् ।

यसबाट संक्रमितले अनुभव आदानप्रदानका साथै उचित परामर्श पाउने गरेका छन् । ‘२ सय ८ जना बिरामी मध्ये ६ जना अस्पतालमा हुनुहुन्छ, अरु सबै होम आइसोलेसनमा हुनुहुन्छ, उहाँहरुको लागि हामीले डाक्टरको परामर्श सेवा चलाएका छौँ, जसलाई हामीले डाक्टर सर्विसिङ इन आइसोलेसन भनेका छौँ’, मिश्रले भने।

नगरपालिकाका बाहिर परीक्षण गर्ने संक्रमितले स्थायी ठेगाना नलेखाइदिँदा संक्रमण नियन्त्रणमा समस्या देखिएको उनको अनुभव छ । जहाँ काम गर्छन् त्यहीँको ठेगाना लेखाएर संक्रमित भएपनि नगरपालिकामा आएर बस्नेको तथ्याङ्क नहुने हुँदा उनीहरुको स्वास्थ्य अवस्था बुझ्न र मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न अप्ठेरो भइरहेको उनले बताए ।

त्यसैले चाँगुनारायण स्थायी ठेगाना हुने सबैलाई कोभिडको परीक्षण गर्दा स्थायी ठेगाना र सही मोवाइल नम्बर लेखाउन उहाँको आग्रह छ । यसो गर्दा बिरामीको हेरचाह र कन्ट्रयाक ट्रेसिङ् गर्न समेत सजिलो हुने उनले बताए ।

अहिले सबै भन्दा ठूलो समस्या चाहीँ आईसीयू र भेण्टिलेटरको भएको उनको अनुभव छ । आईसीयू चाहियो भनेर फोन गर्नेको संख्या दिनदिनै बढ्दै गएको उहाँले बताउनुभयो । ‘अस्पतालमा आईसीयू नपाइने चाहीँ एकदमै ठूलो समस्या छ’, उनले भने ।

कोभिडको परीक्षण रिपोर्ट आउनलाई दुई दिन पर्खनु पर्ने भएकोले पनि संक्रमण थप फैलिएको उनको अनुभव छ । यसैगरी नमूना संकलन गर्दा हुने भिडले थप संक्रमण सार्नसक्ने जोखिम रहेको मिश्रले बताउनुभयो । ‘स्वाब दिएको दुई दिनमा मात्र रिपोर्ट आउँछ, त्यतिबेलासम्म संक्रमित परेजमा नबस्दा धेरैलाई संक्रमण सारिसक्छ’, उनले भने ।

कतिपय अस्पतालले बेड हुँदा हँुदैपनि बेड छैन भनेर पन्छने गरेको गुनासो नगरप्रमुख मिश्रको छ । ‘आईसीयू खाली हुँदा पनि प्याक छ भन्ने गरेको पाइयो’, उनले भने ।

छिटो भन्दा छिटो संक्रमितको रिपोर्ट सार्वजनिक गर्ने, स्थायी ठेगाना र सही मोवाइल नं सहितको रिपोर्टिङ सिस्टम विकास गर्नु पर्ने, परीक्षणको दायरा बढाउनु पर्ने, आईसीयू र भेण्टिलेटर रिजर्व राखेर हुँदा हुँदै पनि छैन भन्ने कुरालाई हटाउन कडा अनुगमन गर्ने सिष्टम विकास गर्नु पर्ने उहाँको सुझाव छ । ‘मान्छे अक्सिजन, बेड र आईसीयू नपाएर मर्ने स्थिति नहोस्’, नगरप्रमुख मिश्रले भने ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);