Our Network

वैशाख २९ २०७८, बुधवार

तरवारको धारमा पोखरेलको राजीनामा र राजनीतिक यात्रा

काठमाडौं । नेकपा एमाले नेता शंकर पोखरेल पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । तर त्यसमा पनि उनी पृथक छन् । ओली निकट मानिएका अरु भन्दा भिन्न स्वभाव छ उनको । उनी धेरै फतर–फतर बोल्दैनन् । तर जे बोल्छन् साँचो बोल्छन् ।

२०६२ सालमा एमालेले माओवादीलाई शान्तिपूर्ण मुलधारमा ल्याउने प्रयास गरिरहेको थियो । तर कसरी र कुन मुद्धामा ल्याउने भन्ने टुंगो थिएन । तत्कालीन माओवादीको माग भने बाहिर आएको थियो । ती माग थिए गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभाको निर्वाचन । त्यो बेला माओवादी प्रष्ट थियो । तर एमाले र कांग्रेस द्धिविधामा थिए ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए । तर सबैभन्दा पहिला गणतन्त्रको बिगुल फुक्ने पार्टी एमाले नै थियो । २०६१ साल माघ २२ गते एमालेको केन्द्रीय समितिको बैठक बस्यो । सो बैठकले नै ,गणतन्त्रका लागि आन्दोलन गर्ने निर्णय गर्‍यो । जसलाई जति मन परे पनि नपरे पनि त्यसको नेतृत्व तत्कालीन महासचिव माधवकुमार नेपालले गरेका थिए । तर पनि माओवादीलाई कुन मुद्धामा कसरी ल्याउने भन्नेमा एमाले क्लियर थिएन ।

सोेही समयमा तत्कालीन एमालेका केन्द्रीय सदस्य रहेका शंकर पोखरेलले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममा मुख खोले अन्तरिम सरकार प्रस्थान विन्दु र संविधान सभाको निर्वाचन परिणाम विन्दु । तर पोखरेलको यो बिचारमा धेरै एमालेहरुले मुखामुख गरेका थिए । माओवादीभन्दा बाहेकका पार्टीमा यो विचारका प्रवर्तक नै थिए पोखरेल ।

कतिपयले उनलाई तत्कालीन माओावादी विद्रोहीको मतियार भएको समेत आरोप लगाएका थिए । तर उनी माओवादीका कटु आलोचक थिए । तर आखिर पोखरेलको बाटोमा एक दिन मुलुक गएर छोड्यो । कुनै बाटो देखाउन उमेर वा केस फुल्नुसंग सरोकार छैन भन्ने उदाहारणका पात्र छन् पोखरेल । तर नेपाली समाजमा जिउँदोमा कदर नगर्ने र मरेपछि धुप बाल्ने चलनका शिकार भएका छन् पोखरेल ।

पोखरेल चुनावी नेता होइनन् । उनी जस्तै अर्का नेता हुन् घनश्याम भुसाल । उनीहरु माक्र्सवादको पिँजडामा राखिएका सुगा जस्तै हुन्। चुनावमा जाँदा कसैले धारा हलिदिनु पर्‍यो भनेर माग गरे, जवाफमा तपाई जस्तो क्रान्तिकारी भएर यति सानो कुरा गने , कालमाक्र्सले कति धारा हालेका थिए भनेर उल्टै कार्यकर्ताको दिमाग भुट्ने क्षमता उनीहरुमा छ ।

यस कारणले पोखरेल र भुसालले धेरै चुनाव जित्न सकेनन् । तर दुबैले एकै चोटी चुनाव जिते। उनीहरुको चुनाव जिताईलाई धेरैले टिप्पणी गरे– कहिले काँही कुुकुरलाई हान्दा ढुकुर पनि मर्ने रहेछ । तर जे भए पनि पोखरेल र भुसाल चुनावका नेता होइनन् । उनीहरु त विचारका नेता हुन् ।

पोखरेलले आइतबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले चलखेल अन्तरगत राजीनामा दिएको धेरैले अनुमान गरेका छन् । यो कुरा सही पनि हुन सक्छ । तर उनी समीकरणका खेलाडी होइनन् । विचारका खेलाडी हुन् । समीकरणका खेलाडी हुने भए उनी ओली समूहमा हुँदैनथे । उनको एकल सरकार बनाउने सपना केन्द्रमा भएको एमाले विवादले पुरा गर्न दिने सम्भावना कम छ । राजीनामा दिएका पोखरेललाई कर्णाली प्रदेशको फ्लोक्रसको बाछिटाले छुने निश्चित जस्तै छ ।

Leave a Reply