तालिवानको कब्जामै तीन सन्तान जन्माएका दम्पत्ती रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

इस्लामावाद, २८ असोज । अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल तालिवानले अपहरण गरेका एक दम्पत्ती रिहा भएका छन् । क्यानाडेली पति र अमेरिकी पत्नीले तालिवानकै नियन्त्रणमा रहँदा तीन सन्तानलाई जन्म दिइसकेका छन्। तीन सन्तान र दम्पत्ती गरी पाँचै जनालाई सकुशल उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ।

अमेरिकी गुप्तचरसँगको सहकार्यमा पाकिस्तानी सेनाले उनीहरुलाई तालिवानको नियन्त्रणबाट मुक्त गराएको हो। क्यानाडाका जोशुआ बोयल र उनकी अमेरिकी पत्नी क्याटलन कोलमेनलाई तालिवानले अफगानिस्तानबाट सन् २०१२ मा अपहरण गरेको थियो।

अपहरण हुँदा कोलमेन गर्भवती थिइन्। तालिवानको कब्जामै पहिलो सन्तान जन्माएकी उनले त्यसपछि थप दुई सन्तानलाई जन्म दिइन्। पाँच वर्षसम्म तालिवानको कब्जामा बिताएका उनीहरुलाई हालै तालिवान समूहले पाकिस्तानी क्षेत्रमा लगेको थियो। ती दम्पत्तीको रिहाईमा पाकिस्तानी सेनाले निर्वाह गरेको भूमिकालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशंसा गरेका छन्। – एजेन्सी