खोटाङ। सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्डको घुर्मी, वेतेनी र पट्ना भञ्ज्याङ सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । बन्दका कारण ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट आएका सवारीसाधनहरू कटारीको उत्तरपश्चिमी बजार घुर्र्मीमा रोकिएका छन् ।
खोटाङबाट तराईका लागि हिडेका यात्रुबाहक बस तथा मालबाहक गाडीहरु बिचबाटोमै रोकिएपछि यात्रु तथा मालबाहक गाडीहरू अलपत्र परेका छन् । सो सडकखण्ड स्तरोन्नति गर्न गत चैत्र ३१ गते नै ज्ञापन पत्र बुझाइएको थियो । संघर्ष समिति र वाणिज्य संघले बुझाएको ज्ञापनपत्रको सुनुवाइ नभएपछि सडक बन्द गर्न बाध्य भएको उदयपुर वाणिज्य संघका अध्यक्ष पुस्कर खड्काले जानकारी दिए ।
कटारी–घुर्मी ४७ किलोमिटर सडक खण्डको स्तरउन्नतीका लागि आर्थिक वर्ष २०७८/७९ को लागि विनियोजन हुने बजेटमा बजेटको सुनिश्चितता हुनुपर्ने मुख्य माग संघर्ष समितिले राखेको छ । त्यस्तै घुर्मी–कटारी–मिर्चैया सडक खण्ड हेर्ने छुट्टै कार्यालयको स्थापना हुनुपर्ने तथा सडकको स्तरोन्नतीका लागि तत्काल डिपीआरको व्यबस्था गर्नुपर्ने माग सहित सडक खण्ड बन्द गरिएको हो ।