लगातार १०-३१ पटकसम्म संसद् बैठकमा उपस्थित नहुने यी सांसद् (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०७९, आइतबार

काठमाडाैं । व्यवस्थापिका–संसद्को शुक्रबार बसेको अन्तिम बैठकले दुईवटा विधेयक पारित गरेको छ। बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक र भाषा आयोग विधेयक पारित गरेको हो।

रोकिए दुई महत्वपूर्ण विधेयक

दलीय विवादका कारण चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा विधेयक भने पारित हुन सकेन। आवश्यक परे अब चिकित्सा शिक्षा विधेयक अब बन्ने संसद्ले ल्याउनेछ । तर, संविधान कार्यान्वयनसँग जोडिएको राष्ट्रिय सभा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन भएर परिणाम आएको मितिले एक महिनाभित्र राष्ट्रिय सभा गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अाजको नयाँ पत्रिकामा खबर छ-एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने कांग्रेसको अडान र बहुमतीय प्रणालीबाट गर्नुपर्ने एमाले र माओवादी केन्द्रको अडानले राष्ट्रिय सभा विधेयक रोकिएको हो।

संसद्को अन्तिम बैठकमा देखिएका दृश्य

चार वर्षअघि संविधानसभाको दोस्रो निर्वाचनबाट निर्वाचित सांसदमध्ये शुक्रबार संसद्को अन्तिम बैठक चल्दै गर्दा आठ सांसदको नाम संसद्को सूचीमा थिएन । संसद्को कार्यकाल सकिँदै गर्दा कुल सदस्य संख्या ५९१ मात्र हुन पुग्यो । नेपालको अन्तरिम संविधानअनुसार संविधानसभामा २४० प्रत्यक्ष, ३३५ समानुपातिक र मन्त्रिपरिषद्बाट मनोनीत २६ गरी ६०१ सभासद् रहने व्यवस्था छ । सोहीअनुसार ०६४ को संविधानसभाको पहिलो निर्वाचन र ०७० मा संविधानसभाको दोस्रो निर्वाचन भयो । ०६४ को संविधानसभा निर्वाचनपछि संविधानसभाले ६०१ नै सभासद् पायो । ०७० पछिको संविधानसभा र संविधान जारी भइसकेपछि रूपान्तरित संसद्मा हुनुपर्ने सदस्य संख्यामध्ये दुईजना निर्वाचनपछि मन्त्रिपरिषद्बाट मनोनीत हुन सकेनन् । मधेसी दलबाट मनोनयनका लागि नाम सिफारिस नगरेपछि मन्त्रिपरिषद्ले २४ जना सदस्यलाई मात्र मनोनीत गरेपछि संसद्को कुल सदस्य संख्या ६०१ नभई ५९९ मात्र कायम भएको थियो ।

१. सुशील कोइरालाको निधन

कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको २६ माघ ०७२ मा ७७ वर्षको उमेरमा निधन भयो । निमोनियाले ग्रस्त पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालाको निधनले कांग्रेसबाट संसद्मा प्रतिनिधित्व गर्ने सदस्य संख्या घट्न पुग्यो । कोइराला ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा चितवन ४ र बाँके २ बाट प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए ।

२. सूर्यबहादुर थापाको निधन

राप्रपाका तत्कालीन अध्यक्ष एवं सांसद सूर्यबहादुर थापाको २ वैशाख ०७२ मा निधन भयो । तत्कालीन संविधानसभाको ज्येष्ठ सदस्यसमेत रहेका ८८ वर्षीय थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राप्रपाबाट तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने सांसदमध्ये उनी एक थिए ।

३. बाबुराम भट्टराईको राजीनामा

संविधान जारी भएसँगै तत्कालीन एमाओवादीका सांसद डा. बाबुराम भट्टराईले सांसद पदबाट राजीनामा दिए । ३ असोज ०७२ मा संविधान जारी भयो भने त्यसको ६ दिनपछि भट्टराईले एमाओवादीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको र सांसद पदबाट राजीनामा दिएको घोषणा गरे । सांसदबाट समेत उनको राजीनामापछि संसद्मा कायम कुल सांसदको संख्याबाट अर्को एक संख्या घट्न गएको हो ।

४. योगेन्द्र तामाङ घिसिङको राजीनामा

माओवादी केन्द्रका ललितपुर जिल्लाबाट समानुपातिक सांसद योगेन्द्र तामाङ घिसिङले गत १५ भदौमा राजीनामा दिए । संसद्मा पार्टीको तर्फबाट भएका पटक–पटकका ह्विप उल्लंघन गरेको तथा स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै माओवादी केन्द्रले उनीमाथि कारबाहीको तयारी गरेको थियो । संविधान संशोधन प्रस्तावमा पार्टीले ह्विप जारी गर्दासमेत घिसिङ अनुपस्थित थिए ।

५. माओवादी केन्द्रका भक्तिप्रसाद पाण्डेको निधन

माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको गत २९ कात्तिकमा निधन भयो । माओवादी केन्द्रबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदको संख्या ८४ भए पनि बाबुराम भट्टराईको राजीनामा तथा पाण्डेको निधनपछि अहिले सभामुखसहित गन्दा ८२ जनाको प्रतिनिधित्व छ ।

६. एमाले सांसद विद्यादेवी भण्डारी राष्ट्रपति

एमालेकी तत्कालीन उपाध्यक्ष एवं समानुपातिक सांसद विद्यादेवी भण्डारी ११ कात्तिक ०७२ मा राष्ट्रपतिमा निर्वाचित भइन् । संविधानसभाबाट संविधान जारी भएपछि रूपान्तरित संसद्ले नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गरेको हो । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेबाट संसद्मा प्रतिनिधित्व गर्ने सदस्यको संख्या घट्न गएको हो ।

७. एमाले सांसद दुलारी देवीको निधन

गत ७ चैतमा भारतको सीतामढीमा एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल दुर्घटना भयो । घाइते देवीको काठमाडौंको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा ९ चैतमा निधन भयो । सर्लाहीबाट समानुपातिकतर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसद देवीको निधनले संसद्को सदस्य संख्या घट्न गयो।

८. एमाले सांसद महिन लिम्बूको निधन

एमाले केन्द्रीय सदस्य एवं सांसद महिन लिम्बूको गत असारमा निधन भयो । धनकुटाबाट एमालेको तर्फबाट समानुपातिक सांसद रहेकी लिम्बूको धरानस्थित बिपी कोइराला अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ६० वर्षीया लिम्बू लामो समयदेखि अर्बुद रोगबाट पीडित थिइन् ।

यी सांसद जो लगातार १० देखि ३१ संसद् बैठकमा उपस्थित भएनन्

सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१ वटा संसद बैठकमा उपस्थित नभएका सांसदले आफूलाई जानकारी गराएकाले उनीहरूको सांसद पद निलम्बन नभएको सभामुख ओनसरी घर्तीले बताइन्।

‘कोही विदेश भ्रमण, कोही बिरामी, कोही जिल्ला भ्रमण जाँदा लामो समयसम्म उतै बस्ने गरेको पाइयो,’ उनले भनिन् । आफूलाई जानकारी नदिई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित हुने सांसद नरहेको सभामुख घर्तीले बताइन् । संसद् बैठकमा लगातार उपस्थित नभए पनि यी सांसदले नियमित पारिश्रमिक भने लिएको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । उनका अनुसार यी सांसदहरूले बैठक भत्ता भने पाएनन्, अाजको नयाँ पत्रिकामा खबर छ।

सांसद लगातार अनुपस्थित बैठक संख्या

कांग्रेस

१. प्रदिप गिरी ११

२. नरहरि आचार्य ११

३. सुधीरकुमार सिवाकोटी १९

४. सुजाता परियार १०

५. कविताकुमारी सरदार १२

६. पद्मनारायण चौधरी ११

७. अमीयकुमार यादव १२

एमाले

१. विष्णु पौडेल ११

२. गौरीकुमारी ओली १२

३. तुलबहादुर गुरुङ १३

४. हरिबहादुर राजवंशी ११

५. कमलादेवी महतो ११

६. धनबहादुर घले ११

माओवादी केन्द्र

१. रवीन्द्रप्रताप शाह ११

राप्रपा

१. भक्तबहादुर खपांगी १०

२. रामकुमार सुब्बा ३१

३. जयन्त चन्द १९

अन्य दल

१. मिलनकुमारी राजवंशी (नेपाल परिवार दल) ११
२. डा. बाबुराम पोखरेल (लोकतान्त्रिक फोरम) २७
३. रुक्मिणी चौधरी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट) १२
४. श्रवणकुमार अग्रवाल (संघीय समाजवादी फोरम) ११
५. डिल्लीप्रसाद काफ्ले (नेमकिपा) १९
६. दुर्गा पौडेल (राष्ट्रिय जनमोर्चा) २८