जितगढी विजय उत्सव, जहाँ अंग्रेजका सेनालाई नेपालीले हराए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जितगढी विजय उत्सव, जहाँ अंग्रेजका सेनालाई नेपालीले हराए

विमल क्षेत्री ,बुटवल । विश्वविजेता अंग्रेजलाई नेपालले पराजित गरेको आज २ सय ६ वर्ष पुरा भएको छ । नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो–जितगढी किल्ला । वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो ।

टवल उप–महानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको थियो ।

त्यतिबेला अंग्रेज इष्ट इण्डिया कम्पनी सरकारको विस्तार विश्वका लगभग सबै मुलुकमा भएको थियो । भारतलाई उपनिवेश बनाएर सयौँ वर्षसम्म उनीहरुले राज गरेका थिए । सोही क्रममा अंग्रेजी फौजले नेपालमा आँखा गाडेको थियो र बुटवलको जितगढी लगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो । जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरु किल्लाहरुमा भने आफै हारेको थियो ।

जितगढीमा भएको वि.सं. १८७२ वैैशाख ७ गतेको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ । विजय उत्सव दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले आज सम्पदा स्थलमा संक्षिप्त कार्यक्रमको आयोजना गरेको थियो । कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्दै वीर सहीदहरुको सम्झना र सम्मानमा श्रद्धाञ्जली अर्पण गरेर संक्षिप्त कार्यक्रम गरिएको थियो ।

जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरि बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ । जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरहरुको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरि गुरुयोजना अनुरुपका काम अगाडि बढेको छ । साथै त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम समेत भईरहेको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताईन् ।

जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली विरताको ऐतिहासिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरि गुरुयोजना बनाइएको उपमहानगरपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);