चुनावी तयारीमा लाग्न सबैलाई आग्रह : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

चुनावी तयारीमा लाग्न सबैलाई आग्रह : सभापति देउवा

काठमाडौं, २७ चैत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाले संरकार गठनमा कांंग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गरे ।

उनले संसदमा आफूहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोखे । विभिन्न किसिमका टिकाटिप्पणी भन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा उनले सबैलाई आश्वस्त तुल्याए । संसदमा भएको कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न पनि उनले आग्रह गरे ।

तर कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रबार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उहाँले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले राज्यसत्तालाई भात्तृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यस विरुद्ध एकजुट हुन सभापति देउवाले आव्हान गरे । सभापति देउवाले आफूले पटक पटक प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यसलाई अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओली संग मिल्न गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बल्ल थाहा पाएको भन्दै कटाक्ष समेत गर्न भ्याए ।

उनले भने “मैले प्रचण्डलाई तपाई नै हो प्रधानमन्त्री बन्नु भनेको हो नि । उनी उता गईदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पायो प्रचण्डले आएर । धेरै पटक प्राईमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफु प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस् । ”

उनले चुनावको समयमा आफूले कम्युनिष्टको सरकार आयो भने रुन पनि पाईदैन भनेर भनेको स्मरण गर्दै अहिले अवस्था त्यस्तै आएको बताए । तर तात्कालीन समयमा आफूले भनेका कुरा कसैले नसुनेको र दुईवटा पार्टी मिलेकाले जनताले पनि तीनै पार्टीलाई भोट दिएको उनले उल्लेख गरे । सभापति देउवाले संविधान अनुसार भदौ भित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्दै महाधिवेशन सम्पन्न गर्नतर्फ लाग्न र जनताको घर दैलोमा गएर जनताको दिल जित्ने काम गर्न पनि निर्देशन दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);