निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेन : उपप्रधानमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, २५ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विभिद पक्ष सम्बन्धी अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रुपमा रहेको बताएका हुन् ।

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको उनको भनाई छ । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको उनले बताए ।
कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलको भनाई छ । ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनले बताए ।

म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारी तन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । कर्मचारीतन्त्र निष्पृय, असंवेदशिल र जडसमूह नभएकोले कर्मचारी तन्त्रले आफूलाई संवेदनशिल, गतिशिल मानवहरुको विवेकशिल समूहको रुपमा स्थापित गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मुल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिक मैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्धारा निजामती सेवा प्रतिको धारणा सकारात्मक बनाउन सकिने बताए ।

कर्मचारी प्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्राशासनको मुख्य चुनौती भएको उनको भनाई छ । निजामती सेवालाई सबल र सक्षम बनाउन सेवा भित्रका कर्मचारीहरुको क्षमता विकास गर्ने र कर्मचारीको मनबोल बढाउने कार्यक्रमहरु ल्याउनु धारण मुख्य सचिव बैरागीले राखे । ज्ञान र सीपमा लगानी नगरी प्रतिस्पर्धामा उत्रन नसक्ने पनि मुख्यसचिव बैरागीको भनाई छ । निजामती सेवा सरकारको सोच र दृष्टिकोणलाई कार्यान्वयनमा उतार्ने औजार भएको पनि मुख्य सचिव बैरागीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);