काठमाडौं, १९ चैत । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले माओवादी केन्द्रलाई स्पष्टिकरण नदिने बताएका छन् । मन्त्री आङ्बुहाङले आफू एमाले भईसकेकाले माओवादी केन्द्रलाई स्पष्टिकरण दिन आवश्यक नरहेको स्पष्ट पारेका छन् ।
सर्वोच्चको फागुन २३ को फैसलापछि आङ्बुहाङले माओवादी केन्द्र छाडेर एमालेतिर लागेका थिए । यही विषयमा गएको मंगलबार माओवादी केन्द्रले उनलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको थियो । आङ्बुहाङले स्पष्टिकरण सोधिएको पत्रमा के थियो भनेर एकपटक नपढेको समेत बताए ।
स्पष्टिकरण सोध्नु स्वभाविक प्रक्रिया भएको भन्दै उनले एमालेमै प्रवेश गर्नु नै स्पष्टिकरणको जवाफ भएको समेत बताए । माओवादी केन्द्रले कारबाही गरेर आफूलाई केही फरक नपर्ने बताउँदै उनले प्रश्न गरे ‘एमाले भएर जिम्मेवारी लिइसकेपछि स्पष्टिकरण दिनुको अर्थ छ र ?
लिखित रुपमा जवाफ दिन आवश्यक छैन, त्यसैले म जवाफ दिन्नँ । उहाँहरुले विधानको औपचारिकता निभाउनु भएको हो, त्यसैले जे गर्न मन छ त्यही गर्नुहुन्छ ।’