काठमाडौं, १९ चैत । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलाको पुनरावालोकन निवेदन प्रधान्यायधीश चोलेन्द्र शम्सेर राणाको पूर्ण ईजलासमा बिहीबारका लागि पेशी चढेको छ । सो ईजलासामा पेशी सूची दोस्रो नम्बरमा परेको छ । यसका लागि राणाको नेतृत्वमा न्यायाधीश तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए ।
एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रको टिप्पणी छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।
तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।