एजेन्सी, १८ चैत । म्यान्मारमा प्रजातन्त्रको पुनर्वहालीको माग राख्दै प्रदर्शनमा उत्रिएका नागरिक विरुद्धको दमनलाई तीब्र बनाईएको छ । म्यानमार सेनाले मंगलबार दमनको श्रृंखलालाई निरन्तरता दिँदै गरेको हवाई हमलाका कारण हजारौं करेन समुदायका नागरिकहरु थाइल्याण्ड भाग्न बाध्य भएका छन् ।
म्यानमारमा सेनाले सत्ता कब्जा गरेको यो दुई महिनामा सरकार प्रायोजित हिंसा झनै बढ्दो क्रममा छ । नागरिकका विरुद्ध सेनाले दमन बढाउँदै गएपछि त्यहाँको मानव अधिकार हननको अवस्था चिन्ताजनक हुँदै गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
करेन अल्पसंख्यकको प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक निकाय, करेन नेशनल युनियन (केएनयु) ले, म्यानमार सेनाबाट भएको हवाइ हमलाका विरुद्धमा युनियनले कदम चाल्ने बताएको छ ।
केएनयुका विदेश मामीलाका प्रमुख साव ताव नीले, पूर्वी म्यानमारमा मंगलबार गरिएको हवाइ हमलामा ६ जना नागरिकको मृत्यु भएको छ भने ११ जना घाइते भएको जनाएको छ । केएनयुले आफ्नो इलाका र करेन जाति एवम उनिहरुको आत्मनिर्णयको अधिकारको रक्षाको लागि सधैँ आफू तैनाथ रहने जनाएको छ ।