काठमाडौं, १३ चैत। नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले हरसम्भव कोशिस गर्नु पर्ने बताएका छन्। नेता भट्टराईले ट्विीट गर्दै नेकपा एमालेको पार्टी एकता जोगाउन सम्भव भएसम्म कोशिस गर्नु पर्ने बताएका हुन् । उनले पार्टी एकता अझै पनि सम्भव रहेको उल्लेख गरेका छन् ।
उनले पार्टीभित्र थोरै पनि लचकताबाट एकता जोगिन सक्ने बताएका हुन् । एमाले विभाजन भएपछि हुने नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने जिकिर उनले गरेका छन्।
नेता योगेश भट्टराईले एमालेमा एकताको पक्षमा उभिँदै आएका छन् । केही समय अघि पनि उनले एमालेमा एकताका लागि दोश्रो पुस्ताका नेताहरु लाग्नु पर्ने धारण राखेका थिए । गएको फागुन २३ गते सर्वोच्चले नेकपा एकता बदर गर्दै नेकपा एमाले र नेकपा माओवादी ब्युँताउने फैसला गरेपछि एमालेमा विभाजनका चिरा स्पष्ट देखिएका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली एक पक्ष र वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल अर्को पक्षमा रहेका छन् । यी दुवै पक्षले आ–आफ्नै पक्षको केन्द्रीय कमिटी बैठक तथा भेलाहरु गर्दै आइरहेका छन् ।