काठमाडौं, १२ चैत । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्न लागेको हो । नेपाल आज किर्गिस्तानलाई पराजित गर्ने लक्ष्यसहित मैदान उत्रने छ भने किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ ।
यसैबीच नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरेका छन् । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।