मोहनचन्द्र देखि कमल कोइरालासम्म अटाएको त्यो मञ्च… | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८३, मंगलबार

मोहनचन्द्र देखि कमल कोइरालासम्म अटाएको त्यो मञ्च…

काठमाडौं, ४ चैत । राष्ट्रिय गीत बजिसकेपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट गीत बज्यो

‘जाग उठ, ए ! भोका नाङ्गाहरु हो’ । गीत यसरी समापन भयो ‘यो अन्तिम युद्ध थियो, आ आफ्नो ठाँउमा डटौं ।’

नेकपा एमालेको नेपाल–खनाल पक्षको बुधबार भएको भेलामा देखिएको दृष्य थियो त्यो । तर अन्तर्राष्ट्रिय गीतमा भनिए झैं सो पक्षको अन्तिम युद्ध थिएन । त्यो पार्टी भित्रको लडाईंको सुरुआत थियो ।

मोदनाथ प्रश्रित लामो समयदेखि राजनीतिक रुपमा सक्रिय थिएनन् । तर बुधबार नेपाल खनाल पक्षको भेलमा मञ्चमा देखिए । झापा आन्दोलनका कमाण्डर मध्येका एक मोहनचन्द्र अधिकारी पनि लामो समय देखि सक्रिय छैनन् । तर उनी पनि भेलाको मञ्चमा देखा परे ।

सिद्धिलाल सिंह अशक्त भएका कारण सक्रिय राजनीतिमा छैनन् । तर भेलामा उनी मञ्चमा देखा परे । कार्यक्रमका संचालक सुरेन्द्र पाण्डेले सिद्धिलाल सिंहको नाम आशन ग्रहणका लागि बोलाउँदा उनी आधा मात्रै उठ्न सके ।

ललितपुरको हेरिटेज गार्डेनमा भएको सो भेलामा देशभरीबाट दुई हजार पाँचसय सहभागी भएको दावी आयोजकले गरे । सो पार्टी प्यालेसमा कार्यकर्ताको ठूलो उपस्थिति थियो । ‘पहिला पो प्रचण्डका पछि लाग्न कठिन थियो, अब त सजिलो भयो’ भेलाका एक सहभागीको टिप्पणी थियो । भेला बुधबार र बिहीबार दुई दिन चल्ने छ ।

Leave a Reply