काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले सबैतिर आफ्नो मागको विषयमा छलफल गरेर मात्र निष्कर्षमा पुग्ने बताएका छन् ।
शनिबार माओवादी केन्द्रसँग छलफलका लागि आफ्नो पार्टीका अन्य नेताहरु सहित पेरिसडाँडा पुगेका अध्यक्ष ठाकुरले छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रसँगको छलफल सकरात्मक भएको जानकारी दिएका छन् ।
माओवादी केन्द्रसँगको छलफल राम्रो भएको भएपनि कुनै निष्कर्षमा भने नपुगेको उनको भनाई छ ।
अध्यक्ष ठाकुरले आफ्नो माग पूरा नभएसम्म कसैसँग सहकार्य नहुने प्रष्ट पारेका छन् । गत आइतबार सर्वोच्चले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने गरी गरेको फैसलापश्चात जसपा अहिले नेपाली राजनीतिको केन्द्रमा रहेको छ ।
जसपाले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तीन वटै दलसँग सत्ता समीकरणका लागि छलफल गरिरहेको छ ।