यसकारण पटक पटक विभाजन हुन्छन् कम्युनिस्ट पार्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

यसकारण पटक पटक विभाजन हुन्छन् कम्युनिस्ट पार्टी

काठमाडौं, २७ फागुन । २०७५ जेठ ३ गते बडो तामझामका साथ एकता घोषणा भएको सत्तारुढ दल नेकपाको एकता सर्वोच्च अदालतको एउटा आदेशका कारण भंग भएको छ । एकता घोषणा भएका दुबै पार्टी पुर्ववत् नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै हैसियतमा आईपुगेका छन् ।

पार्टी दुई चिरामा विभक्त हुनु अदालतको आदेश कारण मात्रै बनेको हो, बिगत एक बर्ष देखि पार्टी भित्र चलेको नेतृत्वतहको शक्ति संघर्षकै कारण पार्टी कुनै पनि बेला दुई चिरामा विभाजित हुने स्थितिमै थियो । नेतृत्वतहमा चलेको अन्तरसंघर्षको स्थितिले पार्टी भित्र एउटा समूहले अर्को समूहलाई निषेध नै गर्ने तहसम्मको विवादलाई अदालतले निष्कर्षमा पु¥याईदिएको मात्रै हो ।

तर यसमा भन्नै पर्दछ, विवादित दुबै खेमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दहाल‘प्रचण्ड’ दुबैले पार्टी फुटाएको अपजस भने ब्योहोर्नु परेन । यो अवगालबाट अदालतले दुबैलाई बचाई दिएको छ ।

नेपालमा विद्यमान रहेका राजनैतिक दलहरुको प्रवृत्ति र संस्कारलाई हेर्ने हो भने, यहाँ धेरै पटक पार्टीपार्टी बीच एकता र विखण्डन भएका थुप्रै दृष्टान्तहरु पाईन्छन् । तर, भएका सबै एकता प्राविधिक रुपले सम्पन्न भएपनि तिनमा भावनात्मक एकता भएको भने कुनैमा पनि देखिएको छैन । आजसम्मका अनुभवहरुलाई संगालेर भन्ने हो भने, नेतृत्वले एकता गर्दा समान विचार, पार्टीका राजनैतिक कार्यक्रम र सिद्धान्तप्रति ध्यान नै नदिई व्यक्तिगत सम्पर्क र मित्रताका आधारमा गरिएका कतिपय एकताहरु एकताले पूर्णता नपाउँदै खण्डित भएका थुप्रै उदाहरण नेपाली राजनीतिमा पाईन्छ ।

र यो रोग सबैभन्दा बढी नेपालमा रहेका कम्युनिष्ट पार्टीमै बढी देखिएको छ । विक्रम संवत २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी त्यसयता थुप्रैपटक टुक्रिएको र थुप्रैपटक एकता पनि भएको छ । तर, कुनै पनि एकताले दशक नाघेको दृष्टान्त पाईंदैन । मुलतः पार्टीले बोकेका सिद्धान्त र विचारबाट प्रभावित भएर भन्दा पनि नेतृत्वको चरम महत्वकांक्षा र नेतृत्वमै बसिरहने दम्भ नै पार्टी फुटको कारण बन्न पुगेका छन् । कम्युनिष्ट पार्टी पछि यस्ता फुटको श्रृंखला पूर्व पञ्चहरुको पार्टी राप्रपा र मधेश केन्द्रित राजनीतिमा संलग्न मधेशवादी पार्टीहरुमा निरन्तर देखिंदै आएको छ ।

पार्टीहरुमा देखिएको फुटपरस्त राजनीति केही हदसम्म विचार र सिद्धान्तबाट प्रभावित देखिएपनि बढी जसो नेतृत्वतहमा रहेकाहरुको तिब्र महत्वाकांक्षाबाटै प्रभावित हुदै आएको पाईएको छ । यस बाहेक अर्को महत्वपूर्ण पाटो भनेको नेतृत्वतहका बिचको सहमतिलाई नै समग्र पार्टी पंक्तिको धारणा भन्ने हैकमवादी सोचका कारणले पनि कतिपय बेला एकताले पूर्णता पाउन नसकेको देखिएको छ ।

एकताका लागि तयार नेतृत्वले सम्भावित एकता र एकताहुने पार्टीसँगको एकताको स्वरुपका बारेमा आम कार्यकर्ता पंक्तिसँग राय सल्लाह नलिने, पार्टीका तल्ला निकायसँग एकताका बारेमा कुनै छलफल नै नचलाईने जुन प्रवृत्ति देखिएको छ, त्यसले कार्यकर्ताहरुलाई नेतृत्वले जहिल्यै अह्रनपह्रन गर्ने समूहका रुपमा बुझ्ने सामन्ती संस्कार नेतृत्व पंक्तिमा रहनुले पनि कार्यकर्ताले एकता भएको पार्टीको स्वामित्व दुबै थरि कार्यकर्ताले नलिईदिनाले पनि सम्पन्न एकताले पूर्णता पाउन नसकेको बिगतका कतिपय घटनाले स्पष्ट पारेका छन् ।

यस प्रसंगमा आजभन्दा ३३ महिना अगाडि एक भएका तत्कालिन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रमा विगत एक वर्ष देखि देखिंदै आएको अन्तरसंघर्षमा नेतृत्व तहमा देखिएको महत्वाकांक्षा र कार्यकर्ताले एकिकृत पार्टीमा स्वामित्व नपाउनुले पार्टीलाई फुटको वातावरण तर्फ धकेल्दै लगेकै हो । त्यसमा पार्टी एकता गरेर नेकपामा समाहित हुन आएको तत्कालिन माओवादी केन्द्रका अध्यक्ष लगायत नेतृत्वतहमा रहेका कतिपय नेताहरुको पार्टी नै कब्जा गर्ने रणनीतिकै कारण केन्द्र देखि स्थानियतहसम्म नै नेता र कार्यकर्तालाई दुई चिरामा पवभक्त गरिदिएको थियो ।

पार्टीभित्र बढेको सत्ता र शक्तिको अन्तरसंघर्षकै परिणाम एक पक्षले अर्को पक्षलाई पँधेरे शैलीमा गर्ने सत्तोसराप र एउटाले अर्काको अस्तित्व नै नामेट पार्ने ढंगले बढेको वैमनष्यताले पार्टी कुनैपनि बेला दुर्घटनामा पर्ने अवस्थाबाट गुज्रिएकै बेला सर्वोच्च अदालतले गरेको एक फैसलाबाट पार्टी विभाजनकारीको अपजसबाट तत्काललाई नेताहरु त बाँचे तर, नेपाली जनताले कम्युनिष्ट शासनमा देखेको आफ्नो भबिक्ष्य भने चकनाचुर बनेको छ ।

जसको हिसाब यिनै नेताले जनताको ईजलासमा उचिएर दिनु पर्ने हुन्छ । सर्वोच्च अदालतले पार्टीको नाम सम्बन्धी विवामा अदालतमा परेको एउटा मुद्दामा आफ्नो फैसला सुनाउँदै सत्तारुढ दल नेकपालाई एकता अगाबैको स्थितिमा पु¥याई दिएपछि नेकपाका कतिपय विभाजन चाहने नेताहरुलाई त हाईसञ्चो नै भएको होला, तर हिजो एकिकृत कम्युनिष्टको नाममा स्थिर सरकार र विकासको नारा दिएर संसदमा दुई तिहाइ निकटको मत सहित सरकारमा पुगेको निवर्तमान नेकपाका यि नेताहरु पुनः कसरी जनतासमक्ष जान्छन् र के भनेर पुनः जनताको विश्वास जित्दछन्, त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);