नेकपा पार्टी एकता । दुई पाइलटसहितको गन्तव्यहीन यात्रा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा पार्टी एकता । दुई पाइलटसहितको गन्तव्यहीन यात्रा (भिडियोसहित)


सत्तारुढ दल नेकपाको एकता अब कता जस्तै देखिएको छ । आगामी चैतमा पार्टीको महाधिवेशन मिति तोकिएपछि त्यसयता एकता प्रक्रियाका सबै बांकी काम पूरा गर्ने भनिएकोमा कामहरु अघि बढ्न सकेको छैन । नेतृत्वको ध्यान सरकार केन्द्रित हुँदा एकता प्रक्रिया अवरुद्ध मात्र भएको छैन नेतृत्वको यात्रासमेत गन्तव्यहीन जस्तो देखिएको छ । यात्राको गन्तव्य निर्धारण गर्न नसकेपछि नेकपा नेतृत्व जनताको नजरमा निकम्मा जस्तै बन्दै गएका छन् ।

तत्कालिन नेकपा एमाले माओवादीबीच एकता हुँदा जनतामा एक प्रकारको उत्साहित तरंग ल्याउन सफल भएको थियो । एकाएक चमत्कारिक एकता देख्दा आश्चर्यचकित बनेका जनता पार्टी नेताहरुको व्यापक बहस र ठूलो तयारी पछिमात्र पार्टी एकता भएको भन्ने विचार उत्तेजक भाषण पश्चात साँच्चै ठूलो अभ्यासका साथ एकता भएको रहेछ भन्ने अवस्थामा जनता पुगेका थिए । पार्टी एकतासँगै अब राष्ट्रका सम्पूर्ण निर्णयहरुमा लैनचौर वा दिल्लीको भूमिका कमजोर हुन्छ र आफ्नै देशका नेताहरु बसेर मजबूत वातावरणमा देशको विकासका निमित्त भरपुर निर्णय गर्छन भन्ने आशा पलाएको थियो ।

राजनीतिका कठोरतम इतिहास पार गरेका दुई हस्ती केपी शर्मा ओली र प्रचण्ड दुबै जना पार्टी अध्यक्षको रुपमा रहने, त्यसमाथि पनि हवाइजहाजको पाइलटसँगको सांकेतिक रफ्तारतर्फ इंगित गर्दै पुष्टि गर्न खोजिएको दुई अध्यक्षात्मक पार्टी संचालन विधिले साँच्ची नै सत्तारुढ दल नेकपा हवाइजहाजकै गतिमा चलायमान हुन्छ कि भन्ने जनताको बुझाइ थियो । तर यी सबै बुझाई केवल बुझाइमा मात्र सीमित हुन जाने अवस्था देखिंदैछ । दुई जना पाइलटलाई हवाइजहाजको गन्तव्य नै थाहा छैन । दुबै जना हवाइजहाज भित्र कति आफ्नो पकट हुन सक्छ, भनी त्यसकै अंकगणितीय खेलमा व्यस्थ हुँदै हवाईजहाजलाई आ–आफ्नो स्वार्थीय सोच अनुसार खिचावट गर्न थाल्दा शक्ति संघर्षको उत्कर्षले जहाजको गति नै अवरुद्ध बनाएको छ ।

दिशाहीन यात्रामा रहेको हवाइजहाज कुहिरो भित्र रुमलिए जस्तो छ । दुबै अध्यक्ष आ–आफ्नो दिशातर्फ मोड्ने प्रयत्नमा छन । कुहिरोले ढाकेको यात्रा गन्तव्यतर्फ त कुरै छाडिदिउँ दुर्घटनातर्फको सम्भावना भने तीव्र बन्दै गएको छ । झण्डै दुई तिहाइको बहुमतसहित बनेको सरकार, नेकपाको लागि बाँदरको हातमा नरिबलको अवस्थामा पुगेको छ । दुबै नेता मिलेर बस्न नसक्ने निष्कर्षमा पुगिसकेको भए पनि विभाजनको अपजस लिने आनाकानी स्वरुप आजको दिनसम्म नाम मात्रको पार्टीको अध्यक्षको भूमिकामा कार्यरत छन् ।

प्रधानमन्त्रीको कार्यशैली प्रधानमन्त्री इतरका नेताहरुलाई पचेको छैन । प्रधानमन्त्रीको पद मात्र ताक्ने इतरका नेताहरुको स्वभाव प्रधानमन्त्रीलाई पचेको छैन । बश, आजको झगडा यति नै हो । पार्टीको नेताहरुको बोलाई पदीय मर्यादा अनुरुप छैन । पार्टी प्रवक्ताले आफ्नो पार्टीको सरकारलाई इंगित गर्दै व्यक्तिगत विचार भन्दै पोखिएको कुण्ठित आवाजले पार्टी भित्रको मर्यादा रचनात्मक नबन्दै गएको स्पष्ट देखाउँछ । पार्टी प्रवक्ताले नै व्यक्तिगत विचार राख्दै हिंडेपछि पार्टीको विचार राख्ने पद्धती चाहीं के होला ? जीवन्त पार्टी भित्र कामको सिलसिलामा हुने गल्ती कमजोरीहरुलाई एक आपसमा आत्मालोचना गर्दै पार्टीको सम्पत्तिको रुपमा व्यवस्थित गर्दै जानु पर्नेमा, हुँदै नभएका बेतुकका प्रसंगहरुमा समेत एक अर्कालाई नांगेझार बनाउनेतर्फ क्रियाशील हुनुले कम्युनिष्ट पार्टीको सिद्धान्त र मर्मलाई समेट्न सक्दैन ।

भारतीय प्रधानमन्त्री मोदीका दुत आएर प्रधानमन्त्रीलाई भेटेको विषय परराष्ट्रको विज्ञप्तिसँगै कानुनसम्मत् हुन गएको यथार्थतालाई समेत अतिरन्जित गर्दै प्रचारबाजीमा उत्रिनुले विवादको लागि नेकपा भित्र अब ठूला बिऊ जरुरत नभएको स्पष्ट देखाएको छ । प्रधानमन्त्री ओलीबाट भएको काम गलत हो भने पार्टीको कार्यकारी अधिकार सम्पन्न अर्का अध्यक्षले छानबीन गरी सत्यतथ्य बाहिर ल्याउने पाइला चाल्नुको सटृा बाहिर बसेर टिकाटिप्पणी गर्नुले नेतृत्वको क्षमता प्रदर्शन गर्दैन ।

यस्तो प्रकारको कार्यशैलीको निरन्तरता रही रहने हो भने पार्टी एकताको कुनै अर्थ छैन । विचार नमिलेका पात्र र प्रवृत्तिको एकै ठाउँमा उपस्थितिलाई पार्टी एकता भनी रहनु भन्दा बरु अलग अलग पार्टीको कार्यगत एकताले देशलाई निकास दिन सक्छ । नेतृत्वले सुनौलो अवसर गुमाउँदैछ । एकमुष्टमा सबै नेताहरु जनताको नजरमा निकम्मा बन्दै छन् । दुबै थरीले छ्यापेको हिलो दुबैको मुखमा पोतिएको छ । सिंगो पार्टी पंक्तिको सुझबुझ आवश्यक छ । यात्राको गन्तव्य यथाशिघ्र निर्धारण हुनुपर्छ । विचार र प्रवृत्ति मिल्ने पात्रहरुको एकताले मात्र राष्ट्रले निकास पाउन सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);