राजकुमार दिक्पाल
काठमाडाैं, १५ फागुन । राजदरबारमा राजगुरु, राजपुरोहित राख्ने चलन पुरानो हो । उनीहरुले राजपरिवारको धार्मिक अनुष्ठान सम्पन्न गर्ने तथा राजपरिवारलाई धार्मिक सरसल्लाह दिने मात्रै होइन, कुनै समय धार्मिक आधारमा न्याय निरुपण गर्ने काम पनि उनीहरुको जिम्मेवारीमा पथ्र्यो । उनीहरुको जिम्मेवारी प्रत्यक्ष रुपमा राज्यसँग पनि सम्बन्धित थियो ।
उपाध्यय ब्राहृमण परिवारका पुरुष सदस्यले राजदरबारबाट यस्तो जिम्मेवारी पाउनु निक्कै ठूलो प्रतिष्ठाको विषय हुन्थ्यो । नेपालमा राजतन्त्र रहुन्जेलसम्म दरबारभित्र वडा गुरुज्यू र नायव वडा गुरुज्यू नियुक्त गर्ने चलन थियो । उनीहरुलाई राज्यबाटै तलब सुविधा उपलब्ध गराइन्थ्यो ।
गुरुज्यू खलकमा जङ्गबहादुर राणाको उदय भएपछि पाण्डे खलकले निरन्तरता पाएका थिए ।गुरुज्यूहरुको काम न्याय सम्पादन गर्नु पनि हुन्थ्यो । उनीहरुलाई धर्माधिकार भनिन्थ्यो ।
धर्माधिकारको कानुनी अर्थ धर्म र अधर्म केलाई त्यसको यथोचित न्याय दिने अधिकारी भन्ने हुन्छ । धर्म र अधर्मको निर्णय गरी पतिया दिने अधिकार धर्माधिकारीमा हुन्छ । धर्मशास्त्र, ऐन कानुन, रीतिथिति वा चाल चलनअनुसार न्याय भएको छ छैन भनी जाँचबुझ गर्ने र सो नभए यथोचित रुपमा धर्म र न्यायको व्यवस्था गर्नको लागि भएको प्रमुख अधिकार राखेर राजालाई धामिक सल्लाह दिने व्यक्ति नै धर्माधिकारी हुन् । (सुवेदी, राजाराम । ‘प्राचीन नेपाल’ सङ्ख्या ९१ (२०४२ पुस–माघ) । पृ. ११)
नेपालका राजगुरु खलक
गोरखा राज्यको स्थापनापछि द्रब्य शाहले नारायणदास अज्र्याललाई राजगुरु र सर्वेश्वर खनाललाई राजपुरोहित बनाएर आफ्नो भारदारीमा राखेका थिए । (आचार्य, बाबुराम । ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१) । पृ. ७) द्रब्य शाहका सन्तान राजा राम शाहको जन्मकालसम्म यिनकै अज्र्यालका सन्तान गोरखामा बडा विद्वान थिए ।
राम शाह युवावस्थामा पर्वतका राजा राज मल्लकी छोरी विवाह गर्न जाँदा उनले हेपेर राम शाहलाई भान्जीसँग विवाह गराइदिएका थिए । त्यतिवेलै राज मल्लका बुवा नारायण मल्ल राजपाठ त्यागेर बसेका थिए । उनी गलकोटमा बसेर यज्ञ गरिरहेका थिए । त्यही यज्ञमा भाग लिन आएका वनारसका नन्दा मिश्रसँग राम शाहको भेट भयो । उनको विद्वतादेखि प्रभावित भई राम शाहले उनलाई गोरखा ल्याएर राजगुरु बनाए । ( आचार्य । उही पृ. ८)
उनले बाँधेको थितिअनुसार अरु ब्राहृमणहरु पनि पुरोहित थिए । तीमध्ये वगाले अर्जेललाई होता, विहारे अर्जेललाई आचार्य, खनाललाई ब्रहृमा र भट्टराई गणेश गरी पुरोहित राखिएको थियो । (राज, प्रकाश ए.। ‘प्राचीन नेपाल’ सङ्ख्या १४५ (असार २०५७) । काठमाडौं ः पुरातङ्खव विभाग । पृ. ५०) नरभुपाल शाहलाई मन्त्र सुनाउने गुरु गौरीश्वर पण्डित (पाण्डे) थिए । पृथ्वीनारायण शाहको समयमा भने मिश्रहरुले राजगुरु चलाउने अवसर पाएका थिए । (राज । उही पृ. ५०)
‘गोरखाको इतिहास’, ‘विजयराज पण्डित’, ‘इतिहास प्रकाश’लाई उद्धृत गर्दै उनै राजगुरु खलकका सन्तति प्रकाश ए. राजको लेख ‘नेपालका मूल पुरोहितहरु’ पढ्दा राजगुरु खलकमा कस्यप गोत्रका पाण्डेकोे उदय बारेमा थाहा पाउन सकिन्छ । (राज । उही, पृ, ५०–५३ ) विसं. १८६१ साल माघ सुदी ५ मा सन्धि रुजु गर्ने काममा रंगनाथ पण्डित (पौडेल), धर्माधिकार वाणीविलास (पाण्डे) र पुरोहित यदुनाथ अर्जेल संलग्न थिए भन्ने उक्त लेखमा परेबाट नरभुपाल शाहपछि गिर्वाणयुद्धविक्रम शाहको समयमा मात्र पुरोहितका रुपमा पाण्डेहरुको राजदरबारमा पुनरागमन भएको देखिन्छ । यसमा चार पुस्तासम्म पाण्डेहरुले दरबारभित्र पण्डित्याई गर्ने अवसर पाएनन् भन्ने बुझिन्छ ।
प्रकाश ए. राजले गौरीश्वरले नरभुपाल शाहलाई मन्त्र सुनाएको उल्लेख गरे पनि इतिहास शिरोमणि बाबुराम आचार्यले नरभुपाल शाहलाई मन्त्र सुनाउने काम गौरीश्वरका छोरा गोकुलविलाश पाण्डेले गरेको उल्लेख गरेका छन् । पाण्डे राजगुरु खलकको इतिहास खोतल्दा आचार्यले तनहुँका राजा दिग्विजय सेनका समयमा कुमाउँ बरखोलाका सिद्ध कहलाएका लक्ष्मण नामका पाँडे ब्राह्मण केही काल तनहुँमा बसी त्यहाँकी एक ब्राह्मणीसङ्ग विवाह गरी गौरेश्वर (गौरीश्वर) नामका पुत्रलाभ गरेपछि देश घुम्न गएका उनी कहिल्यै फर्केनन् ।
पछि विद्यासम्पन्न उनका छोरा उनै गौरेश्वर तनहुँका उत्तराधिकारी कामराजदत्त सेनका गुरु भई राजसभामा समेत घुसेर परामर्शदाता पनि हुन सफल भएका थिए । ( आचार्य, बाबुराम । ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१) । ललितपुरः साझा प्रकाशन । पृ. २१–२२) नरभुपाल शाहकी आमा मल्लिकादेवी छोरासाथ माइति तनहुँमै रहदा गौरेश्वरले आफ्नो प्रभाव विस्तार गर्ने अवसर पाए ।
तनहुँबाट मल्लिकादेवी र नरभुपाल शाहका साथ आफ्ना छोरा गोकुलविलासको पनि गोरखा प्रवेश गराउन उनी सफल भए । उनै गोकुलविलासले नरभुपाललाई मन्त्र सुनाए । यसबाट बनारसबाट आएका मिश्र गुरुज्यूका खलक भने रुष्ट भए । तर नरभुपाल शाहका पूर्ववर्ति राजा पृथ्वीपतिले धादिङ सलाङ गाउँ विर्ता दिई उनीहरुका एक जना छोरालाई गोरखामै बस्ने प्रवन्ध गरेपछि उनले चित्त बुझाए । (आचार्य । उही । पृ. २१–२२) तर प्रकाश ए. राजले ‘प्राचीन नेपाल’मा प्रकाशित गरेको पाण्डे राजगुरु खलकमा गौरीश्वरको बंशावलीमा उनीपछिका पुस्ता गोकुलविलास नभई जगन्निवास नाम उल्लेख गरेका छन् ।
उनका अनुसार वि.सं. १८९८ को लालमोहरमा पुरोहित विद्यारण्यकेशरीका साथै तीर्थराज पण्डितको नाम उल्लेख छ । वंशावलीअनुसार तीर्थराज गौरीश्वरका छोरा जगन्निवासका नाती वेणीप्रसादका छोरा हुन् । जगन्निवासका अर्का नाती नागेश्वरका छोरा विजयराज हुन् । वि.सं. १८९८ तिरै तीर्थराज सहायक पुरोहितका रुपमा राजदरबारभित्र प्रवेश गरिसकेका थिए ।
भण्डारखाल पर्वपछि विजयराज शक्तिमा आए । तीर्थराज भने राजा राजेन्द्र र महारानी राज्यलक्ष्मीसङ्गै बनारस गएका थिए । तीर्थराजले विसं. १९०६ र १९१० पुरोहित पाएका थिए । यसरी विजयराज तथा तीर्थराज पाण्डेहरुले राजदरबारबाट अज्र्यालहरुलाई विस्थापित गरी राजगुरु खलकमा आफ्नो वंशजको वर्चश्व स्थापित गर्न सफल भएको देखिन्छ ।
प्रकाश ए. राज चाहिँ विजयराज पाण्डेका नाती ‘माहिला गुरुज्यू’ नामले प्रशिद्ध हेमराज पाण्डेका नाती हुन् । कोतपर्वअघि रहस्यमय रुपमा मारिएका जनरल गगनसिंहको ढोकाटोलस्थित घर उनै राजगुरु खलकका सदस्यलाई प्रदान गरिएको थियो । गगनसिंहको उक्त घर ‘नाती गुरुज्यू’ नामले चिनिएका लोकराज पाण्डेलाई दिइएको थियो । उनी विजयराज पाण्डेका नाती हुन् ।
ढोकाटोलको उक्त घर लोकराजका कान्छा छोरा विश्वराज पाण्डेको अङ्शमा परेको थियो । यो घर अहिले पाण्डेहरुको स्वामित्वमा छैन । विश्वराजका नातीले अन्य ब्यक्तिलाई बिक्री गरिसकेका छन् । (इतिहासकार डा. महेशराज पन्तले यस लेखकलाई मङ्सीर १६, २०७७ को संवादमा बताएअनसार ।) जङ्गबहादुरलाई मार्ने गोप्य योजनामा सहभागी हुने र पछि त्यहीँ योजनाबारे जङ्गबहादुरसमक्ष पोल खोली योजना असफल बनाउन सफल विजयराज पाण्डे र उनका वंशजका भाईका दरसन्तानले नै राजतन्त्र रहुञ्जेल एक सय ६० वर्षसम्म राजगुरु तथा धर्माधिकार चलाए ।
पतिया गरेको एक नमूना
१९१०को मूलुकी ऐनपछि उक्त ऐनमा धर्माधिकार महल पनि समावेश गरियो । पतिया दिन, सजाय दिन, पतित गर्न र शुद्धि गर्ने अधिकार धर्माधिकारलाई नै दिइयो । अख्तियार बाहेक अरुले त्यस्ता कार्यहरु गरेका खण्डमा एक वर्षदेखि डेढ वर्षसम्म थुनामा राखिन्थ्यो । भोरमा पनि जात गुमाएकाहरुलाई धर्माधिकारले पतिया दिई शुद्ध गराउँथे । (सुवेदी । उही, पृ. १५)
उदाहरणका लागि काठमाडौंनिवासी नामेन्द्रसिंह आङबुहाङको सङ्कलनमा रहेको र इतिहासकार तथा पूर्वप्रशासक भगिराज इङ्नामबाट यस लेखकले प्राप्त गरेको एक सय वर्षअघिको चन्द्रशम्शेरकालिन लाहुरेको पानी पतिया वा प्रायश्यित पत्र को पाठ यहाँ प्रस्तुत गरिन्छ ।
तत्कालिन वडा गुरुज्यू धर्माधिकारी तर्कराज पाण्डेले जारी गरेको यस्तो पत्रको पाठ यस्तो छ :
श्रीमद्रोरक्षश्भुपेन्द्रप्रेरितंस्मृति सम्मतम् ।।
स्तच्छेदनोपायं प्रायश्चितं समाचर ।।
प्रथमादिन मण्डन गरी माटो भष्म पञ्चगव्य लेपन गरी स्नान गर्नू त्यस दिनैमा हविस्य ग्रास १५ दिन खानू दोस्रादिन १२ खानू तेस्रादिन नमागी कसैले खा भनी दिए ग्रास २४ खानू चौथादिन नीराहारगर्नू यस्ता रीतले फेरा ३ गर्दा १२ दिन हुन्छ तेह्रौ दिनमा पञ्चगव्य खाई व्राह्मणलाई सिधा दक्षिणा दिनू तिमीहरु यो महाघोर लडाइको कामपरेको हुनाले र आफना सर्कारको अैनले लडाईका निमित्त मात्र समुद्र पार जान हुन्छ भन्ने भएकोले हुनाले र हुकुमले लडाईमा जाँदा पनी आफनो जात खाँदा पिदा पनी कौनै कुरा तलमाथी नपारी आफनो जात धर्म मजव राखि आएको प्रतितपर्ने सबुद समेत दाखिल गरेको हुनाले देहशुद्ध संवत् १९७७ साल चैत ३ गते रोज ३ शुभम्
यो पत्र ताप्लेजुङ हाङपाङका निवासी तत्कालिन ब्रिटिश भारतीय सेनाका सुवेदार धरमधोज (धर्मध्वज) लिम्बुले पाएका हुन् । यो पत्रमा हातले लेखिएको उनकै नाम उल्लेख छ । लाहुरेहरु विदेशमा जाँदा खासगरी म्लेच्छ (गोरा जाति)को संसर्गमा रहेर उनीहरुसँगै खाने बस्ने हुँदा उनीहरुलाई शुद्ध बनाउन पतिया गर्ने चलन थियो । यस्तो पतिया उनीहरुले धर्माधिकारबाट लिनु पथ्र्यो । धर्माधिकारहरुलाई तलब सुविधाका साथै अङ्गरक्षक र अर्दलीहरु पनि पाउने गर्थे ।
राजगुरुलाई दण्ड सजाय
पृथ्वीनारायण शाहका छोराहरुमध्ये प्रतापसिंह शाह भोगविलासमा मस्त थिए । उनले मोक्षका लागि मैथुनमार्ग हुँदै मन्त्रसाधना अपनाएका थिए । उनी राज्यको शासन चलाउन असमर्थ थिए । १७/१८ वर्षकै उमेरमा पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले भने शासन गर्ने योग्यता देखाइसकेका हुनाले दलजित् शाहले यिनैलाई उत्तराधिकारी बनाउन दिएको सल्लाह पृथ्वीनारायण शाहले स्वीकार गरेनन् ।
पृथ्वीनारायण शाहको नुवाकोटको देवीघाटमा वि.सं. १८३१ माघ १ गते देहान्त हुँदा उनकी रानी नरेन्द्रलक्ष्मी सतिका लागि चितामा चढ्नुअघि ‘दाजु भाई मिलेर शासन’ गर्नु भन्ने उपदेश दिदै प्रतापसिंह शाहको शिरमा मुकुट पहिराइदिएकी थिइन् । देवीघाटबाट आई सजधजका साथ सिंहासनमा बसेर उनले ब्रजनाथ पौडेललाई मुख्तियार र स्वरुपसिंह कार्कीलाई मुख्य सेनापति बनाए । आफ्ना भाई बहादुर शाहलाई नजरबन्दमा राखे भने काका दलजित् शाहको सर्वश्वहरण गरे । (आचार्य, बाबुराम । ‘पूर्णिमा’ पूर्णाङ्क ५१ (२०३८ चैत) । काठमाडौं : संशोधन मण्डल । पृ. २)
तर प्रतापसिंह शाहले लामो समय शासन चलाउन पाएनन् । वि.सं. १८३४ मङ्सिर ६ गते २८ वर्षको उमेरमा राजा उनको मृत्यू भयो । उनको मृत्यूले राजदरबारमा हल्लीखल्ली मच्चियो । राजाको सतिमा को जाने भन्ने सवाल उठ्यो । राजगुरु तथा मुख्तियार ब्रजनाथ पौडेलले राजेन्द्रलक्ष्मीलाई नै सति पठाउनमा जोड गरिरहेका थिए । त्यसबेला रणबहादुर शाह केवल अढाई वर्षका थिए । यदि राजेन्द्रलक्ष्मी सति गए, राजकाजमा उनको हालीमुहाली चल्ने निश्चित थियो ।
राजेन्द्रलक्ष्मीले आफूलाई धर्मसंकट परेको बेला आफ्ना काशीबासमा रहेका काका ससुरा दलमर्दन शाह र देवर बहादुर शाहलाई सम्झिइन् र बोलावटका लागि रुक्का जारी गरिन् । तर उनीहरु आइपुग्न ढिला भयो, उनीहरुलाई बीच बाटोमा रोक्ने प्रयास पनि भयो । सम्भवतः यसमा ब्रजनाथ पौडेलको हात थियो । तर दलमर्दन शाह र बहादुर शाह काठमाडौं आइपुगेपछि राजमाता राजेन्द्रलक्ष्मी शक्तिमा आउनासाथ सबैभन्दा पहिले महारानीको ज्यान लिने उद्योग गरेको अभियोग लगाएर ब्रजनाथ पौडेललाई चारपाटा मुढेर जात पतित गराई सिन्धुलीको बाटो निर्वासित गरियो । ( नेपाल, ज्ञानमणि । ‘नेपालको महाभारत’ (२०५२)। ललितपुर : साझा प्रकाशन । पृ. १५–१८)
ब्रजनाथ पृथ्वीनारायण शाहले पनि त्यति रुचाएका मानिस थिएनन् भन्ने अनुमान गर्न सकिन्छ । पृथ्वीनारायण शाहले उनको उपदेशमा ‘पुरुव पछिम्काका षस वाहुन्लाई दरबारमा पैठ नदिनू. क्यान भनौला वाहिडा मान्छ्याले दरवारमा वेथिति गराउँछन्’ भन्ने उल्लेख छ । (आचार्य बाबुराम, योगी नरहरिनाथ । ‘बडामहाराजाधिराज श्री ५ पृट्ठवीनारायण शाहको दिव्य–उपदेश’ (२०६१) पृ. ५५) यी दुईमध्ये पश्चिमका बाहुन ब्रजनाथ पौडल रपूर्वका खस स्वरुपसिंह कार्की हुन् भन्ने अनुमान कतिपय इतिहासकारहरुले गरेका छन् ।
गुरुज्यूहरुको तलब
राजगुरुहरुलाई के कस्तो तलव सुविधा थियो भन्ने कुरा जङ्गबहादुरको र उनीपछिका समयका केही राजगुरुहरुले पाउने गरे तलबको विवरण ‘रेग्मी रिसर्च सेरिज’ मा पाइएको छ । जङ्गबहादुरलगायत उनका भाईहरु, त्यसबेलाका गुरुपुरोहित र सेनाका अधिकारीहरुले पाउने बार्षिक खान्कीको विवरण दिइएको छ । यो तलबमान वि.सं. १९१० को हो । (रेग्मी, महेशचन्द्र । ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ८, अंक १ (सन् १९७६ डिसेम्बर) । काठमाडौं : रेग्मी रिसर्च सेन्टर । पृ.१६–१९)
यसअनुसार राजगुरु धर्माधिकारहरुको तलब यस्तो थियो :
१. गुरुराज पण्डित धर्माधिकार विजयराज पण्डित रु. ४,५००/-
२. गुरु नगेन्द्रराज पण्डित रु. ४,०००/- र
३. गुरु पुरोहित तीर्थराज पण्डितको रु. ३,०००/-
‘रेग्मी रिसर्च सेरिज’ अनुसार १९४६ भाद्र वदी १३ राजगुरु तथा धर्माधिकारहरुले पाउने गरेको तलबको विवरण पनि पाइएको छ । (रेग्मी रिसर्च सेरिज वर्ष १५ अंक ८ पृ. ११३)
जो यसप्रकार छः
१. राजगुरु कुवेरराज पण्डितज्यू १२ आना-
२. राजगुरु लोकराज पण्डितज्यू रु. १११५४-१२
३. राजगुरु तर्कराज पण्डितज्यू रु. १११५३-७
४. राजगुरु हेरम्बराज पण्डितज्यू रु. ११५९३/-
५. राजगुरु अमरराज पण्डितज्यू रु. २११४-११
गुरु पुरोहित खचाञ्ची वामदेव पण्डित रु. ६८२६/-
त्यसबेला देवशमशेरको तलव वाषिक रु. २८०२३-८ थियो । तर त्यो समय देवशमशेर श्री ५ महाराज भइसकेका थिएनन् । तर माथि उल्लेख भएको राजगृुरु कुवेरराज पण्डितको तलबमा १२ मात्र कसरी रहन गयो यो भने अस्पष्ट छ ।
यस्ता नगदबाहेक उनीहरुले अर्दली तथा अङ्गरक्षक पनि पाउने गरेका थिए भन्ने प्रसङ्ग माथि परिसकेको छ । त्यो समयमा उनीहरुले पाउने गरेको तलव सुविधाको मूल्यै निक्कै ठूलो भए तापनि राणाहरुले लिने गरेको तलब सुविधाको तुलनामा निक्कै कम हुने गरेको थियो । तुलनाका लागि माथि उल्लेखित देवशमशेरले लिने गरेको तलबको रकमबाटै स्पष्ट हुन आउँछ ।