पहिलो विद्रोही सहिद लखन थापा, यस्ता थिए राणाजीहरुको नजरमा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

पहिलो विद्रोही सहिद लखन थापा, यस्ता थिए राणाजीहरुको नजरमा

उमेश राना “गोर्खाली”

भनाइ नै छ कि जब देशमा अन्याय र अत्याचार बढ्छ, जब शोषण र दमनले सीमा नाघ्छ, अनि युगले यस्तो योद्धालाई जन्माई दिन्छ जसले आँधीबेहरी ल्याउँछ र शासकको होस उडाई दिन्छ । जंगबहादुरको सर्वसत्तावादी शासनविरुद्ध १९३२ मा गोरखाको बुंकोटमा त्यस्तै प्रकृतिको सशक्त विद्रोह देखा प¥यो र त्यसको कम्पनले थापाथली दरबारलाई ठूलै धक्का दियो । विद्रोह अद्भुत प्रकृतिको थियो, जसले देशको अमनचयन र शान्ति खल्बल्याइदियो भनी स्वयम् पद्मजंग राणाले उल्लेख गर्नुप¥यो । विद्रोहीहरू राणाशासनलाई जरैदेखि निर्मूल पार्ने उद्देश्यकासाथ अघि बढेका थिए, राज्यले ठूलो सैन्यवल प्रयोग गरी त्यसलाई निर्ममतापूर्वक दमन गर्नु ग¥यो । सात जना विद्रोहीहरू मारिए ।

बुंकोट विद्रोहका नायक लखन थापा मगर थिए, उनलाई सक्रिययतापूर्वक साथ दिनेहरूमा जयसिंह चुमी मगर, विराज थापा मगर, जुठ््या थापा मगर, जीतमान गुरुङ, अजपसिंह थापा मगर थिए । उनीहरुसँग मारिनेमा अच्छामी मगर पनि थिए । यो तथ्य रेग्मी रिसर्च सेरिज (१९८०ः७२–७५) को अध्ययन र स्थानीयहरूबाट थाहा हुन्छ । अच्छामी मगरबारेमा थप अध्ययनको आवश्यकता छ । तत्काल विद्रोही भूमिकामा रहेका यिनै व्यक्तिहरू सम्भवतः बुंकोटको काहुलेभंगारमा झुण्डयाएर मारिए । विद्रोह सफल हुन्थ्यो भने राणाशासनको जग बस्न नपाउँदै भत्किन्थ्यो, राजा–प्रजा पुनः शक्तिशाली हुने थिए र देशले राणाहरूको १०४ वर्षे कालरात्री व्यहोर्नु पर्ने थिएन ।

नेपालको राजनीतिक इतिहासमा जंगबहादुर राणा (१८७४–१९३३) चर्चित पात्र हुन् । सैन्य पृष्ठभूमिबाट आएकाले यिनी निकै साहसी, दुस्साहसी र पराक्रमी थिए । परिस्थिति अनुसार कठोर भन्दा कठोर कदम चाल्न सक्ने र मौकाको भरपुर लाभ उठाउन सक्ने यिनको विशिष्ट खूबी थियो । नेपाली इतिहासका जानकारहरू यिनलाई निकै चलाख, धूर्त र कुटिल प्रकृतिका व्यक्ति ठान्छन् । कोतपर्व, भण्डारखालपर्वको रक्तपातपछि सर्वेसर्वा भई देशको शासनसत्ता हत्याउन जंग सफल भएका थिए । शक्तिमा आएपछि यिनले भारतमा राज गर्दै आएका ब्रिटिशलाई अनेकौं प्रकारले रिझाई गहिरो मित्रता कायम गरे र आफ्नो अधिनायकवादी सत्तालाई सुरक्षित बनाए । यसरी ३० वर्षसम्म देशमा सर्वसत्तावाद चलाए । यो अवधिमा दरबारभित्र होस् या बाहिर कसैले चुइँक्कसम्म गर्न पाएनन् ।


जंगबहादुरको सर्वसत्तावादी शासनको कालो छाँयामा सर्वसाधारणहरू बाँच्न विवश थिए । शासककासामु जनताहरू निरीह थिए, कोही बोल्न सक्दैनथे । राणाहरूको हुकुम कानुनसरह थियो, त्यसको अवज्ञा गर्ने साहस कसैमा थिएन । यस्तो निरंकुश र तानाशाही शासनमा भित्रभित्रै जनआक्रोश बढ्दै थियो, तर त्यसले मूर्तरूप लिनसकेको थिएन ।

अनेकौं हत्या, हिंसा र षड्यन्त्र मार्फत् जसरी जंग शक्तिमा आए, त्यसैगरी उनलाई सिध्याउने उद्देश्यले भाइभारदारहरूबाट अनेकौं दरबारीया षड्यन्त्रहरू भएका थिए तर सवैलाई उनले विफल तुल्याए । तीमध्ये जंगले जीवनको उत्तराद्र्धमा व्यहोरेको सवैभन्दा डरलाग्दो विद्रोह थियो– गोरखा बुंकोटको । यसको नेतृत्व गरेका थिए, लखन थापा मगरले ।

आफ्नै पूर्वज जंगबहादुरका कट्टर विरोधी लखन थापा र उनको सशस्त्र विद्रोहबारे स्वयम् जंगकै सन्ततिहरूको धारणा र दृष्टिकोण के रहेछ ? तिनलाई हेरौं ।

पद्मजंग राणा

पद्मजंग राणा (१९१४–१९६३) जंगबहादुरका साँहिला छोरा थिए । उनी जंगका अत्यन्त प्रिय थिए । पितानिकट रहँदा उनले कतिपय दरबारीया गतिविधि नजिकबाट नियालेका थिए र कैयन घटनाका साक्षी स्वयम् थिए । जंगबहादुर आफैंले तयार पारेको डायरी र राणा परिवारको वंशावली (पुस्तक) हात परेकाले त्यसैको मद्दतबाट यिनले आफ्ना पिताको विस्तृत जीवनकथा तयार पारे र त्यसको नाम दिए – “लाइफ अफ महाराजा सर जंगबहादुर राणा अफ नेपाल” । यो जंगबहादुरको जीवनीमा आधारित सवैभन्दा पुरानो र आधिकारिक कृति मानिन्छ ।

वि.सं.१९४२ को हत्याकाण्डमा भाग्यले जोगिएका पद्मजंग भारतको इलाहावाद पलायन भई जीवन बिताउन बाध्य भए । प्रस्तुत कृति आजभन्दा एक सय ११ वर्षअघि वि.सं. १९६६ (सन् १९०९) मा इलाहावादबाट प्रकाशित भएको थियो । सो पुस्तक प्रकाशित हुँदा लेखक पद्मजंग जीवित थिएनन्, जंगबहादुर भने ३३ वर्ष पहिले नै दिवंगत भइसकेका थिए । २०७४ मा त्यसैको नेपाली अनुवाद “जंगबहादुरको जीवनयात्रा” आएको छ । मूल पुस्तकमा प्रयोग भएका भाषाशैली, ऐतिहासिक घटनाक्रम र प्रस्तुती रोचक छ । पुस्तकमा जंगबहादुरको वीरता र साहस अनि चतु¥याईँ, देशभक्ति र कुटनीतिलगायतका सकारात्मक पक्षहरूमा बढी प्रकाश पारिएको छ । यति हुँदाहुँदै पनि लेखकले कतिपय सन्दर्भमा जंगबहादुरको शासकीय कमीकमजोरीलाई सभ्य, शिष्ट, मर्यादित र शालिनतापूर्वक टिप्पणी गरेका छन् । जंगको अन्तिम समयमा देखापरेका विद्रोही लखन थापाको प्रसंगलाई पनि छोटकरीमा समेटिएको छ ।

लेखक पद्मजंगका अनुसार– “गोदावरीबाट फर्के लगत्तै एक प्रकारको विलक्षण प्रकृतिको विद्रोहले देशको अमनचयन र शान्ति खल्बल्याइदियो । एकजना भूतपूर्व सैनिकले आफूलाई प्राचीन युगको लखन थापा नाम गरेका प्रसिद्ध पुरुषको अवतार भएको प्रचार गर्दै आफैंलाई राजा भएको घोषणा ग¥यो । उसले कैयौं लाटा सोझा सर्वसाधारण जनतालाई झुक्याएर आफूलाई त्यो सिद्ध पुरुषको अवतार मान्न लगायो । आफ्नो कुरा सत्य हो भनेर प्रभाव पा¥यो र जंगबहादुरको सरकार उल्टाउन आफ्नो दलमा सम्मिलित हुन आहृवान ग¥यो । जंगबहादुरलाई सत्ताच्यूत गरेर आफूलाई स्थापित गर्न महादेवी मनकामनाले यस धर्तीमा अवतरण गराएको स्वाङ ग¥यो । उसको विनीत आचरण र अनुनयी भाषाले गर्दा ऊ छोटो समयमा नै पन्ध्र सय संख्याको सेना जम्मा गर्न सफल भयो । उसले नेपाली सेनाको नेतृत्व गर्ने, राजधानी प्रवेश गर्ने, जंगबहादुरको हत्या गरेर सरकार आफ्नो अधीनमा लिने र त्यसै दिनदेखि नेपाली इतिहासको स्वर्णयुग आरम्भ गर्ने घोषणा ग¥यो” (२०७४ः२८३–२८४) ।

पुरुषोत्तमशमशेर जबरा

राणाकालीन इतिहासका विशेष ज्ञाता पुरुषोत्तमशमशेर जबराले यो पंक्तिकारलाई एक हस्तलिखित दस्तावेज देखाएका थिए, जसको मुखपृष्ठमा “नेपालको श्री ३ माहाराज जङ्ग बहादुर राणा, जी.सी.बी.; जी.सी.यस.आई.को जीवन चरीत्र” लेखिएको थियो । उनका अनुसार १९४२ को हिंसामा जंगपुत्र जगतजंगको हत्यापछि तिनका सवैथोक वीरशमशेरले हात पारे, त्यही क्रममा यो दस्तावेज पनि आइपुगेको र बाजे रुद्रशमशेर (वीरशमशेरका छोरा) बाट बाल्यकालमा यिनलाई प्राप्त भएको रहेछ । यही दस्तावेजको अध्ययन र बाजे (रुद्रशमशेर), बुबा (ईश्वरशमशेर) र काकाबाजेद्वय (सिंहशमशेर र प्रचण्डशमशेर) मार्फत् संकलित जानकारी र केही ऐतिहासिक सामाग्रीहरूबाट यिनले “श्री ३ हरूको तथ्य वृत्तान्त” तयार गरेको प्रसङ्ग निकालेका थिए (२०७७ पौष ३ को वार्तालापको आधारमा) ।

उमेरले ९६ पुग्नै आँटेका बयोबृद्ध पुरुषोत्तमशमशेरबाट इतिहास लेखनमा उपयोग गर्न सहर्ष सो दस्तावेजका केही अंश (लखन थापा प्रकरण) तस्वीरमा उतार्ने अनुमति मिल्यो । दस्तावेज नेपाली कागजमा लेखिएको अत्यन्त जीर्ण र देब्रेतर्फको शीर्षभाग उडिसकेको अवस्थामा थियो । उक्त पाण्डुलिपि कसले, कहिले र कति संख्यामा तयार पारेका थिए ? त्यो यिनलाई पनि थाहा रहेनछ । तथापि जंगबहादुरको जीवनीमा आधारित भएकोले जंगको शेषपछि र जगतजंग मारिनुपूर्वको बीच अवधिमा (१९३३–१९४२) कुनै जंगपुत्रबाट राणापरिवारका निम्ति लेखाइएको हुनुपर्छ भन्ने लाग्छ । पद्मजंगको भाषाशैली र घटनाको फेहरिस्त हेर्दा तिनले उपयोग गरेको दुर्लभ सामाग्री सम्भवतः यही थियो ।

(दस्तावेजको तीन फोटोहरू)
उक्त दस्तावेजमा लखन थापा र उनको विद्रोहबारे उल्लेख भएको व्यहोरा यस्तो छ :

“गोदावरीबाट थापा थली दर्वारमा सवारी ….एक अनौठो कीसीम्को वागीयानी को कुरा उठयो. अगी… भयेको यौटा कुनै गोर्खा को वासीन्दा ले आफूलाई उईलेको लखन थापाको अवतार हुँ भनी राजा वनेर हीन्दो रहेछ. त्येस्ले अं… नजान्ने रैतीहरूलाई तेही भनाई वाट छलछाम पारी धेरैजना मानीस हरू आफ्नु ठानेको राज्यको रैती तुल्याई आफु राजाभै वसेको रहेछ . मन कामना देवीले जङ्गबहादुर को राज्य खतंपार्नाको लागि तेस्लाई थापना गर्नु भयेको भनी भन्दोरहेछ . तेस्को यो चलाकीले १५०० हात हतीयार समेत फौज तेस्को झण्डामुनी जम्मापनी भै सकेको रहेछ, ती फौजहरू समेत साथमा लीयेर राज्धानी मा आई जङ्गबहादुर लाई मारेर राज्ये छीनेर ली नेपालमा सत्येजुग फीराउने भन्ने वहाना गरेको हुँदा धेरैमानीस नीजले हातलीन सकेको रहेछ .

यो प्रारम्भीक वीद्रोह को खवर जाहेर हुनासाथ् महाराजाले देवीदत् पल्टन वाट दुईतीन कम्पनी सीपाँही तीनीहरू पक्रन तुरुन्त खटाई वक्स्यो ; उनी हरूले हात् हतीयार चलायेमा मात्र आफुले पनी हतीयार चलाउनु भन्ने अडर थीयो. भाग्यले ती वागीहरूले थोरैवेरमात्र रोक् टोकगरी चाँडैनै हातहतीयार सुम्पी दीये . ती सवै नेल ठोकीयेर काठमाडांै चलान भये . त्यो राजा हुने र अरू तेस्को मुख्य मुख्य मानीस हरूलाई चाँही कोक्रा मा हालेर काठमाडौं चलाये . यस वीसय मा वुझ्नु पर्ने कुराहरू सवै वुझी सकेपछी तीनीहरूको कसुर सावीत् हुन आयो .

प्रीन्स अव वेल्सको सीकार वाट महाराजाको सवारी फीर्दा, द्यौराली मा सवारी पुगेको वखत्मा महाराजा लाई त्याहाँ वीलाई जङ्ग बहादुरको साथमा आयेका फौजहरू लाई समेत हातली साथ् साथै राजधानी मा गई त्यो लखन थापाको औतार भनाँउदो मानीस राजाहुने, तेसकीसम गरेमा तीनीहरू लाई कौनै कीसीम्को रोकटोक कतैवाट परी न आउने भन्ने तीनीहरू को वुज र मत्तो समेत रहेछ . तेस लखन लाई र अरु मुख्ये मुख्ये छ जनालाई ज्यानको सजाँय भयो, अरू वाँकी …… आफ्ना घरजानु भनी माफी मील्यो . रक्तपात को कां गर्ना …… कामना को अडर भयेको थीयो भन्ने जस्तो तेस्को भनाई थीयो, तेही बमोजीं ……को मन्दीर अघाडीको रूखमा लगेर तेस लखन भन्नेलाई …..याये .

अघी एकचोटी पनी त्यो मानीस लाई वात लागेको रहेछ . गोर्खा…. सहरको टोल टोलमा हीँडी म ठुलो अवतारी जोगीहुँ भनी गरीव गुरुवा सङ्ग रुपैञा पैसा धेरैनै ठगी जम्मा गरेको हुनाले अघीपनी नेपाल चलान् भै गयेको रहेछ . महाराजा जङ्गवहादुर को सामन्नेमा नीजलाई केर कार हुँदा फगत पेटपाल्ना को नीमीत्त मात्र तेस्तो कां गरेकोहुँ भनी नीजले वीन्तीचढायेको हुँदा, हावा वीग्रेको सील्ली ठहरी फुर्सत् पायेको रहेछ . त्यहाँ वाट फुर्सत पायेपछी फेरी गोर्खैमा गै गरीव गुरुवालाई झन ठगनाको नीमीत्त म ठुलो औतारी जोगी भयेको हुनाले महाराज ले पनी मलाई केही गर्न सकेनन् भनी हीँडेको रहेछन् . पैला पटकको माफ्ले तेस्को झन हौसला वढी ज्यानमारा र वागी सम्म हुने आँट् उठी आखीर झुण्डीयेर मर्नु प–यो .”

पद्मजंगलाई पढ्दा उल्लिखित व्यहोरा (लखन थापाको सन्दर्भ) लाई केही परिस्कृत, केही निजी अनुभव मिलाई लेखकले आफ्नो पुस्तक लेखेको अनुभूति हुन्छ भने पुरुषोत्तमशमशेरले लगभग सवै पक्षलाई आफ्नै प्रकारले समेटेको देखिन्छ । यिनको २०४९ मा “श्री ३ हरूको तथ्य वृत्तान्त” र २०६८ मा “लुकेछिपेका प्रतिभाहरू” प्रकाशित भएका पुस्तक हुन् । दुवै कृतिमा लखन थापाले विद्रोह गर्नुको उद्देश्य खुलाइएको छैन । पछिल्लो कृतिको भूमिका खण्डमा “तत्कालीन अवस्थामा स्मरणीय कार्य गर्ने व्यक्तिहरूको स्मरण गर्दै… समाज र राष्ट्रको दृष्टिकोणमा महत्वपूर्ण ठहरिएका व्यक्तित्वहरूको बारेमा लेख्ने जमर्को गरेको…” भन्ने लेखकीय परेकोले लखन थापालाई यिनले एक ‘प्रतिभाशाली व्यक्ति’ मा गणना गरेको देखिन्छ ।

माथिको ऐतिहासिक दस्तावेजमा ‘…१५०० हातहतियारसमेतका फौज लखनको झन्डामुनी जम्मा भै सकेको…’ भन्ने परेको छ, यसबाट लखन थापाले गोरखा बुंकोटमा कतै ‘स्वतन्त्र राज्य’ त खडा गरेका थिएनन् भन्ने जिज्ञासा उत्पन्न हुन्छ । आवश्यक प्रमाणसहित यसको छुट्टै विवेचना जरुरी छ ।

प्रमोदमशमशेर जबरा

लेखक प्रमोदशमशेर पनि राणाकालीन इतिहासका राम्रा ज्ञाता मानिन्छन् । उनले लखन थापालाई पढेलेखेका, टाठाबाठा र गहिरो विचार बोकेका एक चेतनशील व्यक्तिको रूपमा उभ्याएका छन् । सन् १९९५ मा “राणा इन्ट्रीगेज” र सन् २००७ मा “राणाशासनको वृत्तान्त” नामक यिनका पुस्तकहरू प्रकाशित छन् । अघिल्लो कृतिमा सन्दर्भ सामाग्री खुलाएझैं पछिल्लोमा केही खुलाइएको छैन, तर पुस्तकको प्रस्तावनामा ‘यथासम्भव प्रमाणित कुराहरू र भरपर्दो सूत्रहरूबाट प्राप्त तथ्यहरूमा आधारित भएर यो वृत्तान्त लेखेको’ लेखकको दावी छ र कृति पढ्दा माथि उल्लिखित दस्तावेज एवम् पुस्तकहरूको प्रभाव ज्यादै न्यून देखिन्छ । लेखकको प्रस्तुति हेर्दा अधिक स्वतन्त्र र निर्भिक देखिन्छ ।

‘राणाशासनको वृत्तान्त’ मा लेखकले जनाए अनुसार– “सैनिक सेवाबाट अवकाश लिएपछि लखन थापा आफ्नो पुख्र्यौली घर गोरखा बुंकोटमा गए । त्यहाँ रहँदा पुरानो रूढिवादी परम्परा र अन्धविश्वाससमेतले गर्दा आफ्ना देशवासीहरूमा दासमनोवृत्ति बढेको रहेछ भन्ने कुरा यिनको मनमा प¥यो । यस्ता सामाजिक कुरीतिहरूलाई हटाएर यहाँ नयाँ समाजको निर्माण गर्छु भनी यिनले कम्मर कसे । यस्तो नयाँ समाजको स्थापना गर्नुभन्दा अघि नेपालको निरंकुश शासकलाई हटाउनैपर्छ भन्ने दृढ संकल्प गरे । अब एउटा संगठनको आवश्यकता प¥यो । अघिका साथीहरू जयसिंह चुमी राना र सुपति गरुङसंग सम्पर्क गरी यिनीहरू सबैलाई मिलाएर सन् १८७५ मा एउटा गुप्त संगठन यिनले खडा गरे । त्यस बखतको रूढिवादी समाजमा धर्मकै आड लिएर संगठन गर्न सके चाँडै संगठित हुन सकिन्छ भनी यिनीहरूले धर्म र देवीको नामबाट जनचेतना जगाउन खोजे । लखन थापाले योगीको जस्तो भेष धारण गरी मलाई देवीले वरदान दिएर पठाएकी छन्, भाइ हो, आओ, हामीसबै मिलेर जंगबहादुरलाई हटाएर नेपालमा ‘सत्ययुग फिराउँ’ भनी गाउँ गाउँमा गएर प्रचार गर्दै हिँडे । यिनको प्रचार तथा वाक्शक्तिबाट प्रभावित भई गाउँघरका झन्डै दुई हजार जति काम नपाएका अल्लारे ठिटाहरू जम्मा भए । ती केटाहरूलाई बुंकोटकै आसपासका गौचरहरूमा लगेर सैनिक अभ्यास पनि गराउन थाले । थोरबहुत सानातिना हातहतियारहरू पनि यिनीहरूले खोजेर ल्याए”(२०७०ः८७–८८) ।

विद्रोहको उद्देश्य

उल्लिखित कृतिहरूको विवेचना गर्दा लखन थापाको विद्रोह पूर्णतः राजनैतिक प्रकृतिको देखिन्छ । तर उनले आफूलाई राजा घोषित गरेको या राजपरिवारहरूप्रति विद्वेष राखेको कतै पाइँंदैन बरू स्थानीय जनताले आफ्नै दरबार र आफ्नै सेना भएकाले यिनलाई राजा सरह मानेका थिए कि ? त्यसबखतको जनमानसले बाइसी–चौबीसी राज्यको इतिहास भूलेका थिएनन् भन्न सकिन्छ । बुंकोट विद्रोहको मुख्य लक्ष्य जंगबहादुर र उनको निरंकुशतालाई समाप्त गर्नु नै थियो । यही उद्देश्यलाई सार्थक बनाउन स्थानीयहरूले आफ्नो साथ, सहयोग र समर्थन विद्रोहीहरूलाई पूर्णरूपले दिएका थिए । जंगबहादुरले जनहितमा असल कार्य गरेका हुन्थे भने उनीविरुद्ध यसरी सर्वसाधारणहरू एकत्रित हुने थिएनन् ।

तत्कालीन समाज कर्ममा भन्दा धर्ममा विश्वास गर्थे, उनीहरू देवीदेउताको अलौकिक शक्ति, अवतार र भाग्यमा भरोसा गर्थे । लखनले आफूभन्दा अढाई-तीनसय वर्ष पहिलेका सिद्ध लखन थापा (प्राचीन व्यक्ति) को अवतार र मनकामनाको बरदानप्राप्त व्यक्तिको रूपमा आफूलाई चित्रण गर्दैगर्दा बुंकोटमा ठूलो जनलहर उठेको थियो । यसलाई लखनको रणनीतिक सफलता मान्न सकिन्छ । सर्वसाधारणलाई आफूतिर एकोहो¥याउन सक्ने क्षमताले लखनको कुशल नेतृत्वलाई दर्शाउँछ । त्यो अभियान सफल भएको खण्डमा देशले काँचुली फेर्ने र दुनियाँलाई सुख, शान्ति मिल्ने हुनाले सर्वसाधारणलाई आकर्षित गरेको स्पष्ट हुन्छ । यसले लखन थापाको दूरदर्शिता कति थियो भन्ने देखाउँछ ।
त्यसबखतका मानिसहरू धार्मिक प्रवृत्तिका हुन्थे, त्यही आस्था र विश्वासले चल्दथे । पाप र पुण्यको लेखाजोखा गर्थे । स्वर्ग र नर्कको परिकल्पना गर्थे, देवीदेवताहरूको युगलाई स्वर्णिम काल भन्थे र सत्ययुगलाई आदर्श मान्थे । पद्मजंगले आफूलाई बुंकोट विद्रोहको प्रत्यक्षदर्शी बताएका छन् । उनी त्यतिखेर १९ वर्षका युवक मात्र नभई सेनाका जनरल पनि थिए । उनले प्रयोग गरेको ‘स्वर्णिमयुग’ शब्दावलीले त्यसबेलाका मानिसहरूको धार्मिक भावनालाई प्रतिबिम्बित गर्दछ । स्वर्णयुग वा सत्ययुगले सामाजिक भेदभावको अन्त्य गरी सवैलाई न्याय र समानताको आधारमा हेर्ने, देशमा शान्ति र सुव्यवस्था कायम हुने एक आदर्श शासन प्रणालीलाई इंगित गरेको अर्थमा लिनु पर्दछ र त्यसैको विकसित रूप आजको ‘प्रजातन्त्र’ हो । त्यसबखत दरबारीयाहरूले ‘वेलायतको जस्तो संविधान’ भन्ने गर्थे । ‘प्रजातन्त्र’ भन्ने शब्दावली प्रचलनमा थिएन र यी कुराहरू सर्वसाधारणको बुझाईभन्दा बिल्कुलै बाहिर थियो । विद्रोहीहरूले निरंकुशताको अन्त्य र जनअधिकारको बहाली गर्न जंगबहादुरको शासनविरुद्ध लडेको स्पष्टै छ । विद्रोहको भावना र चाहना हेर्दा आन्दोलनकारीहरू सुधारिएको शासन प्रणालीका पक्षपाती थिए । त्यो भनेको प्रजातन्त्र नै हो, जहाँ राजा–प्रजा एकसाथ अँटाउन सक्थे ।

(तीन पुस्तकको फोटोहरू)
यसअघिको पक्राउ सन्दर्भ :

सैन्यसेवा छाडी १९२७ तिर लखन थापा आफ्नै घर गोरखाको बुंकोट फर्के । उनी जंगबहादुरको अधिनायकवादी शासनबाट ज्यादै रुष्ट थिए । त्यसैले उनी शान्तिका लागि आध्यात्मिक मार्गमा लागे र जोसमनी विचारधाराका अनुयायी बने । त्यसबखत योगीको भेषमा नभई सक्कली योगी (साधुसन्त) बनेरै उनी हिँडेका थिए । गाउँघर डुल्ने क्रममा जंगको कुकृत्यहरूको भण्डाफोर गर्थे र सवैलाई जनचेतना बाँडी हिँड्थे अनि आफ्नो विद्रोहमा सरिक हुन सर्वसाधारणलाई उनी आव्हान पनि गर्थे ।

रेग्मी रिसर्च सेरिजमा समेटिएको वि.सं.१९३२ चैत्र १ को प्रतिवेदन अनुसार लखन थापाले बनाएको घर र उनलाई साथ दिन आउनेहरूको विवरण यस्तो छ –

“लखन थापा बस्ने घर चारैतिरबाट ८ हात चौडा र १६ हात अग्लो पर्खालले घेरिएको छ, हेर्दा किल्लाजस्तै छ । वि.सं.१९३२ फागुन २६ मा ससाना बन्दुक र तरवारले सुसज्जित ठूलो संख्यामा भोटेहरू लखनलाई साथ दिन आएका थिए । उनीहरू पश्चिमतिर जंगबहादुरसंग मिल्ने बहानाले निस्केका थिए तर खास मनसाय चाँहि जंगबहादुरकै जीवनमाथि धावा बोल्नु थियो” (रेग्मी, १९८०) ।

पुरातत्व विभागबाट प्रकाशित ‘नेपाल देशको इतिहास संग्रह’ (२०३१ वैशाष, अंक २७) को वंशावली र ‘डेमोक्रेटिक इन्नोभेसन्स इन नेपाल’ का लेखकद्वय भूवन एल.जोशी एण्ड लियो ई.रोज (१९६६ ः ४३–४) ले उल्लेख गरेको विवरण हेर्दा लखनले ‘पाँच तल्ले’ भवन बनाएको स्पष्ट हुन्छ । सो भवन कुनै दरवार वा किल्लाभन्दा कम थिएन भन्ने आशय माथि परेको छ । त्यसको निर्माणमा निश्चय नै ठूलो धनराशी आवश्यक थियो र त्यो खाँचो टार्ने हैसियत एक्लो लखनसंग पक्कै थिएन । सम्भवतः यही किल्ला बनाउन खर्चको जोहो गर्ने क्रममा उनले योगी बनेर गोरखाको गाउँघर डुलेको र अर्थ संकलन गरेको हुनुपर्छ । योगीले मागेरै गुजारा गर्छ, यो आपराधिक कार्य थिएन । यसलाई शासकको आँखाले ठगी र लुटपाट देख्यो । यही अभियोगमा लखन समातिए, सोधपूछ पश्चात् निर्दोष ठहरिएर छाडिए । यो रिहाईलाई जनमानसले दैवी चमत्कार मान्यो र लखनका समर्थकहरू झन् बढेर गए ।

लखन आध्यात्मिक मात्र नभई पूर्व सैनिक पनि थिए । उनको कमाण्डमा १५०० सेनाका अतिरिक्त ठूलो संख्यामा आएका भोटेहरूले साथ दिएको र विद्रोहीहरूसंग भएको हातहतियारको विवरण माथि परेको छ । एक योद्धाले आरोप लगाइएझैं नीचकार्य गरेको पत्याउन सकिन्न । देश र जनताका लागि समर्पित र युद्धकिल्ला बनाई सैन्यशक्ति निर्माण गर्नसक्ने देशभक्तले कसैलाई किन लुट्नु प¥यो र ? लखनको अगुवाईमा ठूलो जनमत छँदैथियो, हतियारसहितको सैन्यदस्ताले साथ दिएकै थिए । त्यसर्थ लखनले ‘जोगीको भेषमा लुटपाट गर्दैहिँडेको’ कुरा तथ्यहिन देखिन्छ, यो उनीविरुद्धको लाञ्छना थियो ।

निष्कर्ष

नेपालको इतिहासमा बुंकोट विद्रोह एक अविस्मरणीय घटना थियो । इतिहासकारहरूले यसमा त्यति रूची देखाएका छैनन् । विद्रोहको सत्यतथ्य केलाई त्यसको व्याख्या, विश्लेषण र विवेचना गरेका पनि छैनन् । बरू राणाजीहरूले धेरै हदसम्म लखनप्रति न्याय गरेका छन् । तत्कालीन शासकले आफू र आफ्ना स्वार्थ अनुकूल लेखाएका वंशावलीहरूमा त्यसबेलाको वास्तविक इतिहासलाई बङ्ग्याइएको र शासकहरुकै पृष्ठपोषण गरिएको छ । इतिहासको सन्दर्भमा विजेताहरूले ‘आफ्नो लेखाउने, अरूको मेटाउने’ चलन संसारमै छ । बुंकोटको इतिहास उपेक्षित रहनुमा मुल कारण यही हो । यथार्थमा जनताको पनि स्वर्णिम इतिहास हुन्छ, ढिलोचाँडो त्यसको खोजी पक्कै हुन्छ र लिपिबद्ध हुँदै जान्छ । त्यसर्थ शासकहरूको मात्र इतिहास लेख्ने विगतको परम्परा तोडिनुपर्छ । नेपाली इतिहासको लोकतान्त्रिकरण र पुनर्लेखन भनेको यही हो ।

अन्त्यमा, विद्वान प्रमोदशमशेरकै वाक्य जस्ताको तस्तै– “लखन थापाको नेतृत्वमा गोरखामा भएको यो विद्रोह निरंकुश राणाशासनविरुद्ध जनताले शुरु गरेको पहिलो विरोध हो । कोतपर्व, भण्डारखालपर्व र अलौको युद्धपछि नेपालमा स्थापना भएको एकतन्त्री जहानिया शासनको विरोधमा योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरंकुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन्” (२०७० : ८९) ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);