सरोज बस्याल
काठमाडौं, १० फागुन । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच वार्ता हुने संकेत देखिएको छ । सरकारका खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले विप्लव नेतृत्वका शीर्ष नेतालाई भेटवार्ता गरेसँगै सरकार र विप्लव पक्ष बीच वार्ता हुने संकेत देखिएको हो । मन्त्री थापाले माघ २० गते नख्खु जेलमा पुगेर नेता हेमन्तप्रकाश वलीसँग भेटवार्ता गरेका थिए।
बन्दीगृहको अबस्था बुझ्न भन्दै नख्खु कारागार पुगेर मन्त्री थापाले नेता वलीसँग भेटवार्ता गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । तस्वीर सार्वजनिक भएसँगै सरकार र प्रतिबन्धित पार्टी बीच अनौपचारिक संवाद सुरु भएको समाचार विवरणहरु समेत सार्वजनिक भएका थिए ।
प्रतिबन्धित पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ता गर्न आफ्नो पार्टी सकारात्मक रहेको संकेत गरी सकेका छन् । सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण भएमा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको उनको भनाइ छ । नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विप्लव नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै आएका छन् ।
सरकार, प्रतिबन्धित पार्टी र नेकपाको दाहाल नेपाल पक्ष समेत विप्लवप्रति सकारात्मक हुनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यस विषयमा अनेक खालका टीकाटिप्प्णी गरिएको छ । कसैले यसलाई सकारात्मक पक्ष मानिरहेका छन् भने कसैले ढिलो चाँडो विप्लव वार्तामा आउनुको विकल्प नभएको दाबी गर्दै आएका छन् । नेकपाको दाहाल–नेपाल पक्षकी केन्द्रीय सदस्य जयपुरी घर्ति लामो समयदेखि प्रतिबन्धित पार्टीलाई मुलधारमा ल्याउने सरकारी कदम सकारात्मक भएको बताउछिन् । देशमा परिवर्तन ल्याउन विप्लवको पनि महत्वपूर्ण भूमिका रहेकाले मुलधारको राजनीतिमा ल्याउन आवश्यक भएको उनको भनाइ छ ।
उहाँले भनिन् यो धेरै सकारात्मक पक्ष हो । नेपालको राज्य सत्ता परिवर्तनमा विप्लवको पनि विशेष भूमिका छ । पछिल्लो समय पार्टीहरु विभाजन हुने र टुटफुट हुने श्रृङखला चलिरह्यो । त्यसैले कोही कता कोही कता गए । देशमा परिवर्तन भएपछि नयाँ ढंगले अगाडि बढाउने बेलामा उहाँहरु विद्रोहको बाटो रोज्नुभयो । अहिले उहाँहरुलाई पनि मुलधारमा ल्याएर सहजता पूर्वक खुल्ला तरिकाले राजनीति गर्ने वातावरण मिलाउने सरकारी कदम सही छ ।’
पछिल्लो समय सत्तारुढ दल नेकपा दुई कित्तामा विभाजित भएको छ । यस्तो बेला दाहाल–नेपाल पक्षसँग बदला लिन विप्लवसँग सरकारले वार्ता अगाडि बढाउन लागेको आरोप समेत लगाइन्छ । तर नेकपाको ओली पक्षका नेता शेरबहादुर तामाङ यसको खण्डन गर्छन् । प्रधानमन्त्री मुलुकको अभिभावक भएकाले मुलुकलाई द्वोन्द्वबाट बचाउनका लागि विप्लवसँग वार्ता अगाडि बढाउन चाहेको उनकोे तर्क छ । सशस्त्र द्वोन्द्वको बाटो रोजेको पक्षलाई मुलधारमा ल्याउन खोज्नु कसैलाई चिढाउन वा कर्नरमा पार्न खोजेको नहुने उनको भनाइ छ ।
‘प्रधानमन्त्री भनेको राष्ट्रको प्रधानमन्त्री हो । कुनै समूह विशेषको होइन । मुलुकको अभिभावक हो । मुलुकको अभिभावकले मुलुक द्वोन्द्वतर्फ अगाडि नबढोस, मुलुकमा शान्तिपूर्ण स्थिती आवस्, मुलुकमा संमृद्धी र विकासको एजेण्डामा बहस गर्न सकियोस भनेर मुलुकको अभिभावकले सोच्ने हो ।’–उनले भने–‘ यस्तो गर्नु कसैलाई चिढाउन वा कर्नरमा पार्न होइन । मुलुकको अभिभावकले यस्तो सोच्न सक्दैन र सोच्न पनि हुँदैन ।’
त्यस्तैगरी राजनीतिक विश्लेषक पुरुषोतम दाहाल नेपालको इतिहासमा कुनै पनि आन्दोलन द्वोन्द्वका माध्यमबाट सफल नभएकाले विप्लव नेतृत्वको पार्टी पनि मुलधारमा आउन खोज्नु सकारात्मक भएको बताउछन् । विगतका उदाहरणले सशस्त्र द्धन्द्व सात सालमा राणा शासन हटाउदा बाहेक सफल हुन नसकेको उनको भनाइ छ ।
विगतका अनुभव र उदाहरणहरुलाई हेर्दा पनि नेपालमा सशस्त्र द्वन्द्व सफल हुँदैन भन्ने पुष्टि भएको छ । नेपालको इतिहासमा एक पटक मात्र सफल भएको छ । त्यो भनेको विसं २००७ सालमा राणा शासन विरुद्धको हो । त्यसपछिका कुनै पनि सशस्त्र आन्दोलन सफल हुन सकेका छैनन् ।’उनले भने–‘विसं २०१८ सालमा सुवर्ण शम्शेर नेतृत्वको सशस्त्र आन्दोलन, २०२७/२८ सालको झापा विद्रोह, २०३०/३१ सालमा वीपी कोइरालाले सुरु गरेको आन्दोलन, २०४२ सालमा जनवादी मोर्चाको नाममा रामराजाप्रसाद सिंहरुले सञ्चालन गरेको सशस्त्र आन्दोलन र विसं २०५२ देखि ६२ सम्म माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोह पनि असफल भयो । त्यसैले विप्लव नेतृत्वको नेकपा पनि सशस्त्र विद्रोह छोडेर मुलधारमा आउनु सकारात्मक पक्ष हो ।’
सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । प्रतिबन्धित पार्टी भएपछि सत्ता र विप्लव पक्षको लुकामारी करिब दुई वर्षसम्म चल्दै आएको छ । दुई वर्षसम्म लुकामारी चलिरहँदा मुलुकले धेरै मानवीय तथा भौतिक क्षति समेत भोग्नु पर्यो । यस्तो अवस्थामा मुलुक परिवर्तनमा अग्रणी भूमिका खेलेको विप्लव नेतृत्वको पार्टीलाई मुलधारको राजनीतिमा ल्याउन खोज्नु आफैमा सकारात्मक पक्ष हो । जुन मुलुकका लागि आजको आवश्यकता पनि हो ।




