नेकपाका दुबै पक्ष विप्लव समूहलाई खोसाखोसको प्रतिस्पर्धामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेकपाका दुबै पक्ष विप्लव समूहलाई खोसाखोसको प्रतिस्पर्धामा

सरोज बस्याल
काठमाडौं, ३० माघ ।
सरकारले विसं २०७५ फागुन २८ गते मंगलबारका दिन नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएसँगै विप्लव नेतृत्वको पार्टीका नेता तथा कार्यकर्तालाई सरकारले धरपकड गर्ने, थुनामा राख्ने तथा कडा निगरानीमा राख्दै आएको छ ।

सरकारी पक्षबाट विःस २०७६ असार ५ गते विप्लव नेतृत्वको पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका थिए । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव कार्यकर्ताले ठाउँठाउँमा बम राख्ने र विस्फोट गराउने, जनमानस तर्साउने तथा भौतिक क्षति पुर्याउने काम गर्दै आएका छन् ।

विप्लव नेतृत्वको पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई सुराकी गरेको आरोपमा हत्या गर्यो । यता सरकारले पनि विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई ठाउँका ठाउँ पक्राउ गर्ने नीति लिएको देखिन्छ । सरकारले प्रतिबन्ध लगाएदेखि राज्य पक्ष र विप्लव पक्षबीच लुकामारी चल्दै आएको छ । तर पछिल्लो समय सरकार र नेकपाकै दाहाल–नेपाल पक्षले नेत्र विक्रम चन्द नेतृत्वको पार्टीलाई हेर्ने दृष्टिकोणमा आनकातान फरक आएको छ ।

सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध फुकुवा त गरेको छैन । तर माघ २० गते नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले विप्लवले नेतृत्व गरेको नेकपाका नेता हेमन्तप्रकाश वलीसँग भेटवार्ता गरेका छन् । बन्दीगृहको अबस्था बुझ्न भन्दै नख्खु कारागर पुगेर मन्त्री थापाले नेता वलीसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा मन्त्री थापाले विप्लवलाई मुलधारमा आउन अनुरोध गरेको समाचार विवरणहरु सर्वजनिक भएका थिए ।

यता नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विप्लव नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने लबिङ गर्दै आएका छन् । ठ्याक्कै यहि बेला प्रतिबन्धित चन्द नेतृत्वको नेकपासहित अन्य वामपन्थी दलले खुला ‘रणनैतिक संयुक्त मोर्चा’ घोषणा गरेका छन् । जसमध्ये चन्द नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् । बिहीबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त मोर्चा बनाउने घोषणा सभा आयोजना गरिएको थियो ।

देशभित्र गम्भीर राजनीतिक संकट बढी रहेका बेला सरकार तथा लामो समयदेखि बेवास्ता गर्दै आएको दाहाल–नेपाल पक्षले किन एकाएक विप्लवप्रति ‘सफ्ट सिग्नल’ देखाइरहेका छन् भन्ने यतिबेला आम चासो रहेको छ ।

नेकपाका नेता एवं राष्ट्रिय सभाका सदस्य रामनारायण विडारी सरकार र नेकपाको दाहाल नेपाल पक्षले पछिल्लो समय देखाएको चासोलाई सकारात्मक पक्ष नै भएको बताउँछन्। तर सरकारले विप्लवप्रति देखाएको चासो भने उनीहरुको राजनीति मन परेर भन्दा पनि राजनीतिक स्वार्थ पूरा गर्नका लागि भएको उनको आरोप छ ।

उनले भने–‘यो सकारात्मक कुरा नै हो । किन भने विप्लवले पनि देश र जनताको मुक्तिका लागि नै काम गर्नुभएको हो । मन नपरेको कारणले वा भनौ आफ्नो सत्ता जान्छ कि भन्ने डरले प्रतिबन्ध गरिएको हो । यो जालसाझी हो । जालसाझी भनेको प्रचण्डको विरोध गर्छौ भने म अलिकति आँखा चिम्लिन्छु भनेको हो । सरकारले देखाएको चासो विप्लव जि लाई माया गरेर वा उहाँहरुको राजनीति मन परेर होइन । राजनीतिक स्वार्थ पूर्ति गर्नका लागि हो ।’

त्यस्तै राजनीतिक विश्लेषक डा. राजेश अहिराजले शक्तिहिन र सामाजिक स्वीकृत गुम्दै गएपछि थप शक्ति आर्जनका लागि नेताहरुले प्रयोग गर्ने तरिका भएको बताउँछन् । पहिले विदेशी शक्तिलाई गुहार्ने तर उनीहरुले आन्तरिक राजनीतिमा आउन नचाहेपछि देशभित्रको हतियारधारी वा नागरिक समाजसँग साठगाँठ गर्ने गरेको उनकोे भनाई छ ।

‘आफूलाई बलियो बनाउन गुटको प्रयोग गरेर पार्टी कब्जा गर्ने र देश कब्जा गर्ने उहाँहरुको नीति हो । उहाँहरुको मन्तव्य र गन्तव्य मिल्दैन ।’–उनले भने–‘शक्तिहिन हुँदै गएका नेताहरु र सामाजिक स्वीकृति गुम्दै गएका पात्रहरु पदमा बसेपनि वैधानिकता कायम हुने अवस्था नभएपछि विदेशी शक्तिलाई गुहार्ने तर विदेशी शक्तिले आन्तरिक मामलामा चासो नदेखाएपछि देशभित्रकै कुनै खालको हतियारधारी, कुनै खालको नागरिक समाज वा शक्ति समूह उहाँहरुले साठगाँठ गर्ने तरिका हो ।’

विश्वकै नमुना मानिएको नेपालको संविधानमा दुई तिहाई मत ल्याउने दलले केही सिमित धारा बाहेक सबै कानुन बदल्न सक्छ । यस्तो देशमा बन्दुकको बलमा सत्ता कब्जा गर्ने नीति लिएको विप्लवलाई मुलधारको राजनीतिमा ल्याउन खोज्नु आफैमा सकारात्मक पक्ष हो । तर आफ्नो राजनीतिक शक्ति बढाउनका लागि प्रतिबन्धि अवस्थामा नै साठगाँठ गर्ने र स्वार्थसिद्ध भएपछि चियाको झिँगा टिपेर फाले जसरी फाल्ने प्रवृतिले कदापी राम्रो गर्नेछैन । त्यसैले दुबै पक्षले राजनीति र अपराध कहिले एउटै हुँदैन भन्ने बुझ्न जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);