एजेन्सी, २८ माघ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।
रियल मड्रिडका लागि ६० औँ मिनेटमा करिम बेन्जिमा र ६६ औँ मिनेटमा फर्ल्याण्ड मेन्डीले गोल गरेका हुन् । जितसँगैै रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी कम गरेको छ ।
जितपछि दोस्रो स्थानमा पुगेको रियल मड्रिडको २२ खेलबाट ४६ अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ तथा तेस्रो स्थानको बार्सिलोनाको २१ खेलबाट ४३ अंक छ ।