नेकपाको घरझगडा सामाजिक संजालमा छताछुल्ल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपाको घरझगडा सामाजिक संजालमा छताछुल्ल (भिडियाेसहित)

विभाजनको दिशामा गएको नेपाल कम्युनिष्ट पार्टी नेकपामा अहिले वाकयुद्ध चलिरहेको छ । शीर्ष नेताहरु नियमित जसो सार्वजनिक कार्यक्रममा सहभागी भइ एकअर्काविरुद्ध रिस पोख्ने काम गरिरहेका छन् । गत फागुनदेखि नै नेकपामा विभाजनको संकेत देखिएपनि प्रतिनिधि सभा विघटनपछि भने नेकपा स्पष्टरुपमा दुई कित्तामा नै विभक्त भएको हो ।

फरक कित्तामा उभिएपनि सुरुका दिनमा दुवै पक्षले एक अर्काविरुद्ध सोचविचार गर्दै तर्कहरु प्रस्तुत गर्ने शैली पछ्याएका थिए, तर पछिल्लो समय यो अवस्था पूरै परिवर्तन भएको देखिन्छ । सार्वजनिक कार्यक्रममा हुने आरोप–प्रत्यारोपको श्रृंखला ह्वात्तै बढेको छ । यसरी भाषणको शब्दहरु आक्रामक हुँदै जानुमा आक्षेपको श्रृंखला बढ्नु नै मुलकारण रहेको बुझिएको छ ।

हुनत राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भनिन्छ, सोहीकारण आजका दिनमा भाषणमार्फत् गालीगलौजको नीति अपनाएका नेताहरु भोलिका दिनमा अँगालो मार्दै एउटै नीतिमा उभिए भने त्यसलाई नौलो मान्नु पर्दैन । तर पछिल्ला दिनहरुमा शीर्ष नेताको भाषण भन्दा चर्को रुपमा कार्यकर्ता गणहरु चर्कोरुपमा एकअर्काको उछित्तो काटिरहेका छन् । एकअर्काप्रति सामाजिक संजालमा वाकयुद्धमा व्यस्त बनेका उनीहरुले वर्तमानकै अवस्थामा भविष्यको राजनीति हुन्छ भन्ने गरी अघि बढेको देखिन्छ ।

विगतमा तत्कालीन माओवादी र नेकपा एमालेका शीर्ष नेता मिलिसक्दा समेत कार्यकर्ता स्तर मिल्न नसकेको इतिहास हाम्रै सामु छ । अहिले पनि नेकपाका दुई कित्तामा उभिनासाथ वैचारिक भन्दा पनि व्यक्तिगत लान्छनामा ध्यान केन्द्रित गरेका कार्यकर्ता गणलाई भोलिका दिन कुनै बिन्दुमा पुगेर एकै स्थानमा उभिनुपर्ने अवस्थामा कस्तो महसुस होला ? अहिले यसमा ध्यान दिएको देखिँदैन ।

अहिले सामाजिक संजालको युग छ । सामाजिक संजालमा राखिएका विषयवस्तुहरु सार्वजनिक भएपछि ती कतै प्रमाण रुपमा रहेका हुन्छन् । आज नेकपामा घरझगडा हुँदा विपक्षी कित्तामा उभिएका शीर्ष देखि दोस्रो तहका नेताविरुद्ध व्यक्त गरिएका विचार र आलोचना भोलिका दिनमा कसैले आफूविरुद्ध प्रयोग गरिँदा कस्तो महसुस गर्नुपर्ला ? भनेर सोच्न सकेको देखिँदैन ।

राजनीतिमा फुट र जुटको श्रृंखला चल्नु अस्वभाविक होइन । समयसँगै परिवर्तन हुने राजनीतिक एजेण्डा र नीतिका कारण कहिले विचार नमिल्ने पार्टीसँग चुनावी तालमेल गरिन्छ भने सिद्धान्त मिल्ने दलसँग एकता समेत गरिन्छ । नेपाली राजनीतिमा यो श्रृंखला चलि नै रहेको छ । इतिहासले यी शिक्षाहरु दिएरहेपनि यसलाई बेवास्ता गर्दै भैरहेका गतिविधिको गन्तव्य पक्कै पनि अनुकूल हुन सक्दैन ।

राजनीतिमा विचारको प्रशंसा हुन्छ, तर्कको प्रशंसा हुन्छ, तर गालीगलौजले अल्पकालन तालीको गड्गडाहट पाउने र सामाजिक संजालमा चर्चा पाएपनि दीर्घकालनमा र यसको प्रभाव भने नकारात्मक नै रहने गरेको देखिन्छ । सोहीकारण राजनीतिलाई वाकयुद्ध गर्ने थलो नबनाई तर्क र सिद्धान्तको आधारमा अघि बढाउन सके नेपाली राजनीतिमा स्वस्थ प्रतिस्पर्धा हुने वातावरण बन्न सक्ने थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);