नेपाली राजनीतिमा सिद्धान्त ठूलो कि भिड ठूलो भन्ने बहस सुरु भएको छ । पञ्चायती व्यवस्थामा जस्तै नेतृत्वमा रहेकालाई गुमराहमा राख्ने र जनतालाई प्रभावित गर्नेगरी भिड जम्मा गर्दै जनता आफ्नो पक्षमा रहेको देखाउने शैली अहिले नेपाली राजनीतिमा देखिन थालेको छ । यसले राजनीति विकृतीको दिशा तिर गैरहेको विश्लेषण भएको छ ।
पञ्चायती व्यवस्थामा ठूलाठूला पन्च ¥याली देशभरी हुने गर्दथे । स्थानीय गाउँ पञ्चायत, जिल्ला पञ्चायतहरुलाई उर्दी जारी गरेर भिड जम्मा गरेर व्यवस्थाको समर्थनमा ठूलो जनसमर्थन छ भनेर तत्कालीन राजालाई गुमाराह राख्नु त्यस्तो भेलाको उद्देश्य हुन्थ्यो । लाखौं खर्च हुन्थे, यस्तो भिड देखाएर राजाका आसेपासे पञ्चहरुले अरु जनबिरोधी काम गर्दथे, अर्थात् पञ्चायत इतर शक्तिहरुलाई दमन गर्दथे । अहिले सत्तामा रहने र सत्ताको वरिपरी रहने शक्तिहरु यसका साक्षी छन् । त्यसबेलाको त्यो प्रवृत्तिलाई अहिलेका राजनीति गर्नेहरु खिसी गर्दथे । देशको ढुकुटी सकेको, जनतालाई दुख दिएको भन्दै कटाक्ष गर्दथे ।
यो लगभग ३०–४० वर्ष पुरानो प्रसंग हो । अहिले लगभग यस्तै प्रवृत्ति देखिँदैछ । शक्ति प्रदर्शनको नाममा नीति अनिती जे गरेर पनि देशभरीबाट भिड जम्मा गरेर माइक बजाउने त्यही पुरानो युग दोहोरिँदैछ । त्यतिबेला संचार क्षेत्र अहिलेजस्तो डिजिटल प्रणालीको थिएन, न अहिले जस्तो अनलाइन थियो । प्रविधिको नाममा रेडियो थियो, सबै कुरा मेनुअल सिस्टममा भर पर्नुपथ्र्यो । तर अहिले त्यस्तोे छैन । संचार जगतले कायापलट हुनेगरी प्रगति गरेको छ । अहिलेको पुस्ताको अगाडि पुरानो कथा ढुंगे युग को सूचक जस्तो लाग्नसक्छ ।
यहाँ प्रसंग के हो भने देश, जनताको सोच, प्रविधिमा आएको यत्रो परिवर्तनले पनि राजनीति गर्नेहरुलाई किन छुन नसकेको होला भन्ने हो । अरु त सकेनन् सकेनन्, राजनीति गर्ने तरिका समेत पनि पञ्चायत कै जस्तो अपनाउनुलाई बौद्धिक खडेरी नभनेर के भन्ने ? डिजिटल युगमा कार्यहरुपनि त्यस्तै हुनुपर्ने होइन र ? ५० जना जतिको भेला गरेर देशका संचार क्षेत्र मार्फत जनतामा आफ्नो विचार प्रवाह गर्दै आफूलाई स्थापित गर्नुपर्ने होइन र अब त? यही भएर नयाँ पुस्ता को नेतृत्वको खोजी भएको पनि हो कि? विकसित देशहरुमा विकासका र विचारका लडाई हुनेगर्दछ ।
टेलिभिजनको पर्दामा भएको लडाईंबाट अमेरिका जस्तो देशको राष्ट्रपतिको चयन हुन मद्दत गर्छ । अरु विकसित देशहरु पनि प्रविधिमा टेकेर हरेक विषयलाई स्मार्ट बनाउँछन् । तर भएजति विदेशीको विकृतिको सिको गर्ने हामी भने अहिलेपनि व्यवहारमा उही ढुंगे युगको सेरोफेरो मै रहेको देख्दा र विचार बिनाको थोत्रो माइक मा क्रान्तिकारी नेता गर्जिदा कान फुट्ला जस्तो आवाजमा उफ्रीउफ्री ताली बजाउने नयाँ पुस्ता देख्दा न वर्तमान न भविष्यसँग नै आशा गर्न सक्ने अवस्था भयो ।
भर्खरै दाहाल–नेपाल पक्षले काठमाडौँमा गरेको शक्ति प्रदर्शन कै स्तरमा अब स्वयं प्रधानमन्त्रीको पार्टीले समेत शक्ति देखाउने प्रसंगले विकृत राजनीतिलाई थप मलजल गर्ने आशंका गरिँदैछ । प्रधानमन्त्रीको बिद्वता र विश्लेषण शैली विशेष प्रकारको मान्नेहरु देश र विदेशमा समेत धेरै छन् । कमसेकम प्रधानमन्त्रीबाट पुरानो शैलीलाई विराम दिँदै प्रविधिमा आधारित विचार प्रधान आम सभाको सुरुवात हुन सक्यो भने त्यो पनि देशको निमित्त विशेष सुखद् क्षण हुन जान्थ्यो कि ?