सम्झनामा गणेशमान सिंह | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सम्झनामा गणेशमान सिंह

काठमाडौं । नेपालका वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर लौहपुरुष गणेशमान सिंहको २५औँ स्मृति दिवश आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गरेर मनाईएको छ ।

स्मृति दिवशको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा उनका सुपुत्र तथा कांग्रेस नेता प्रकाशमान सिंह लगाएतका नेताहरुले माल्यापर्ण गरेर उनको योगदानको स्मरण गरेका थिए ।

माल्यापर्ण गर्दै नेता सिंहले गणेशमानले आर्दशको राजनीतिलाई अबलम्बन गरेको उल्लेख गर्दै जनआन्दोलनका सर्वोच्च कमान्डर सर्वमान्य नेता र उनको राजनीतिक योगदानलाई सदैब स्मरण गर्नुपर्ने बताए । विसं १९७२ कात्तिक २४ गते जन्मिएका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो । नेपाली राजनीतिमा सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिन्छ ।


काठमाडौंको खानदानी परिवारमा जन्मेका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ ।


राणाको हुकुमी जहानियाँ शासनको अन्त्यका लागि प्रजा परिषद् गठनबाट सुरु भएको प्रजातान्त्रिक आन्दोलन सशस्त्र क्रान्तिको सफलतापश्चात २००७ साल फागुन ७ गते अन्त्य भएको हो । २००७ सालको राजनीतिक परिवर्तनपश्चात मोहन शमशेमरको नेतृत्वमा गठित नेपाली कांग्रेससहितको संयुक्त सरकारमा उनी बन्दी जीवनको अन्त्यसँगै मन्त्री बनेका थिए । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षनिरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका विरुद्ध सक्रिय रहे ।


तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । २०४६ सालमा राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए ।


उनले २०५१ साल भदौमा पार्टी परित्याग गरी प्रजातन्त्रको संरक्षणका लागि जनजागरण अभियानको नेतृत्व गरेका थिए । उनको ६ दशक लामो राजनीतिक जीवनमा अनवरत रूपले कसैसँग सम्झौता नगरी प्रजातन्त्रकै लागि जीवन उत्सर्ग गर्ने दुर्लभ स्वभावले एक कुशल राजनेताका रूपमा उनको नाम स्मरणीय छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);