बिष्णु खनाल
अर्घाखाँची, १ माघ । लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले स्थानीय उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । घरेलु तथा साना उद्योग अर्घाखाँचीले सन्धिखर्कमा गरेको लघु घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको गुणस्तर र लेवलिंग सम्बन्धि १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनु भएको हो ।
गुणस्तरहीन सामाग्रीको प्रयोगले स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले स्थानीय सरकारसँग सहकार्य गरेर विषादी प्रयोगको रोकथामका लागि सबै एकजुट हुनेपर्ने बताउनुभयो । नेपालमा गुणस्तरहीन वस्तुको प्रयोग बढ्दै गएकाले यसको रोकथाम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साना उद्यमीहरुलाई स्थानीय उत्पादनमा हौसला प्रदान गर्न सरकारले लगानि गरिरहेको पनि बताउनुभयो ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विनोद कुमार दाहालले प्रशिक्षण दिनुभएको थियो । स्थानीय स्तरमा उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई कसरी प्रवद्र्धन गर्ने, खाद्य नियम, लेबलमा खुलाउनु पर्ने विवरण, नेपाली वा अग्रेजी भाषामा प्रष्ट उत्पादन सम्बन्धी मापदण्ड राख्नु पर्ने विवरण, स्वच्छता कसरी कायम गर्ने, गुणस्तर कसरी बनाउने लगायतका विषयमा प्रशिक्षण दिनुभएको हो ।
कार्यकममा मालारानी गाउँपालिकाका अध्यक्ष तथा लघु, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष बालकृष्ण आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, चेम्बर अफ कर्मशका अध्यक्ष अशोक कुमार श्रेष्ठ, सृजनशिल अपाङ्ग संस्थाका फर्शुराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
वस्तुहरुको उत्पादन गुणस्तर र लेवलिंग प्रशिक्षणमा जिल्लाका ६ वटा पालिकाका ३७ जना उद्यमीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशव सुनारको अध्यक्षता लक्ष्मी प्रसाद दाहालको संचालनमा सम्पन्न भएको हो ।