स्वाधीन मधेस जन अभियानको बृहत राष्ट्रिय भेला नवलपरासीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

स्वाधीन मधेस जन अभियानको बृहत राष्ट्रिय भेला नवलपरासीमा

जीवन न्यौपाने

पौष १९, नवलपरासी। स्वाधीन मधेस जन अभियानको बृहत राष्ट्रिय भेला शनिबारदेखि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा सूरु भएको छ ।
केहि समय अगाडि डा.सिके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टी परित्याग गरेका सो पार्टीका सहसंयोजक कैलाश महतोले आफु संयोजक रहने गरि स्वाधीन मधेस जन अभियानको १३ सदस्य केन्द्रिय कार्यसमिति गठन गरेका थिए ।

सोहि समितिले आफ्नो अभियानलाई अगाडि बढाउनका निमित्त विधान निर्माण, घोषणापत्र जारी र अवधारणापत्र पारितका निमित्त २ दिने राष्ट्रिय भेला आयोजना गरेको अभियानका संयोजक कैलाश महतोले जानकारी गराउनु भयो । भेलामा अभियानका केन्द्रिय सदस्य कैलालीका महेन्द्र चौधरी, कपिलवस्तुका हटिकुल्ला मुसलमान, महोत्तरीका रमेश सिंह, सिराहाका सतिला यादव र देवकान्त सिंह, मोरङका प्रविण महतो, रुपन्देहीका जगन्नाथ सहानी, बाराका सुदिप कुशुवाह, महोत्तरीका राजकुमार यादव, नवलपरासीका ध्रुवप्रसाद गौण, धनुषाका राममनि शाह सहभागी थिए ।

त्यस्तै तराईका अन्य १७ जिल्लाबाट जिल्ला तदर्थ कार्यसमितिका संयोजकहरु समेत भेलामा उपस्थित भएका थिए । राष्ट्रिय भेलाबाट ५ जना केन्द्रिय सदस्य समेत थप गरिएको छ । थपिएका केन्द्रिय सदस्यहरुमा कपिलवस्तुबाट रोसन शाह, रुपन्देहीबाट अमर धवल, बाराबाट सुभरन्त श्रीवास्तव, धनुषाबाट राममनि शाह, महोत्तरीबाट राजकुमार यादव छन् । राष्ट्रिय भेला पश्चात् मधेसवादी र खस पार्टीहरुको राजनैतिक चरित्रहीनताबारे पर्दाफास गर्दै आफ्नो अभियानलाई अगाडि बढाइने बताईएको छ । मधेसी जनताहरुलाई भाषा, संस्कृति, रहनसहन स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रहरुमा राज्यबाट बन्देज लगाउदै आइएको महातोको आरोप छ ।

दुई तिहाइ प्राप्त सरकार पनि चलाउन नसकि संसद विघटन गरेको वर्तमान सरकारको कदमप्रति आफुहरु पनि गम्भीर भएको बताउदै सरकार विरुद्ध आफुहरु जनसङ्घर्ष र जनदवावका कार्यक्रमहरु अगाडि बढाउने उहाँले चेतावनी दिनुभयो ।भेलाले माघ ५ गते सिराहको लाहानमा देशको स्वाभिमान र रक्षाका निम्ति ज्यान अर्पण गर्ने महान शहिदहरुप्रति श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

वि.स २०६४ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकार रहँदा मधेसी जनाधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले वार्ता टोलिका संयोजक काङ्ग्रेस नेता रामचन्द्र पौडेलसङ्ग मधेस स्वतन्त्रताकोलागि २२ बँुदे माग सहित सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सो समयमा महतो पनि मधेसी जनाधिकार फोरमका केन्द्रिय सदस्य रहनु भएको थियो ।

तिनै २२ बँुदे सहमति पत्रमा उल्लेख भएका मागलाई कार्यान्वयन गर्न जनदबाब दिने उद्देश्यले अभियानको केन्द्रिय समितीसङ्गै जिल्ला कार्यसमिति गठन गरिएको बताईएको छ । अहिलेसम्म कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, सप्तरी र मोरङ जिल्लामा जिल्ला तदर्थ कार्यसमिति गठन भैसकेको छ । मधेसी जनताहरु आफ्नो अभियानमा चासो र सवेदनशिल भएर लागेकाले सबै जिल्लामा समिती गठन गरि आफ्नो अभियान अन्तर्गतका जनदबाबका कार्यक्रमहरु देशभर एकैसाथ सूरु गर्नेगरि तयारी भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);