एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच चुनावमा तालमेल गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच चुनावमा तालमेल गर्ने सहमति

काठमाडौं, १७ असोज । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच ६ बुँदे सहमति भएको छ । राष्ट्रिय सभा गृहमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा भएको ६ बुँदे सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

तीन दलबीच भएको सहमतिमा आगामी मंसीरमा हुने चुनावमा तालेमल गर्ने र चुनाव लगत्तै पार्टी एकिकरण गरी एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने सहमति भएको छ ।

 यी तीन पार्टीले चुनावी एकतासंगै कार्यगत एकताको र त्यसपछि पार्टी एकता गर्ने घोषणा गरेका छन् । तीन दलबीचको चुनावी तालमेल सहितको पार्टी एकीकरणका लागि गरिएको सहमति पत्र सरकारका गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले पढेर सुनाएका थिए ।

फरक फरक पृष्ठभुमिका साथ अघि बढेका दलहरु नेपालको संविधानको रक्षा र प्रयोगको क्रममा देशको आवश्यकता अनुसार विकास तथा सामाजिक आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्दै समाजवादका साझा अवधारणा तय गर्ने निष्कर्षका साथ पार्टी एकिकरणमा पुगेको सहमति पत्रमा उल्लेख छ ।

गृहमन्त्री शर्माले सहमति पत्र पढेर सुनाई सकेपछि तीनवटै पार्टीका शिर्ष नेताले हस्ताक्षर गरी हात उठाउँदै पार्टी एकता र सहकार्यका लागि प्रतिवद्धता जनाएका थिए ।

आगामी मंसिरमा सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा नयाँ शक्ति र अन्य दललाई आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुने गरी तालमेल गर्ने सहमति भएको छ ।

तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति अनुसार एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहने गरि ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ ।

पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहाललाई राखिएको छ । यो समितिलाई पार्टी एकिकरणको खाका, कार्ययोजना तथा सहमति हुन बाँकी विषयमा सहमति जुनाउने जिम्मेवारी दिईएको छ ।

पार्टीको निति, विधान र घोषणा पत्र तयार पार्न दस्तावेज समिति गठन गर्ने, निर्वाचन पश्चात विधिवत पार्टी एकता घोषणा गर्ने तथा पार्टी एकताको आधार सुदृढ गर्न सार्वजनिकरुपमा एक अर्काप्रति आलोचना तथा टिकाटिप्पणी नगर्ने सहमति तीन दलबीच भएको भएको छ ।

तीन दलले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन र अन्य दललाई चुनावी तालमेलमा सहभागि हुन आहृवान गरेका छन् । साथै नेताहरुले पार्टी एकिकरण कसैका विरुद्ध नभई नेपाल र नेपालीको इच्छा आवश्यकता अनुसार भएको स्पष्ट पारेका छन् ।

मंगलबार बिहान ललितपुरमा भएको शिर्ष नेताको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमाले र माओवादीले चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने सहमति गरेका थिए । त्यस लगत्तै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसंगको गहन छलफलपछि अन्तिम समयमा तीन पार्टीबीच चुनावी तालमेल र एकता भएको हो ।

आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति भएसँगै त्यसको जानकारी दिन  एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

राष्ट्रिय सभा गृहमा भएको पत्रकार सम्मेलनमा तीन पार्टीका नेता तथा कार्यकर्ताले हल खचाखच भरिएको थियो । यतिमात्र नभई पत्रकार सम्मेलनको समाचार तयार पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुको सभागृहमा बाक्लो उपस्थिति थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);