नेकपा विवाद । जुटेर सकिंदैन भने फुटेरै भए पनि मुलुकलाई निकास दिन ढिलो गर्नु हुँदैन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नेकपा विवाद । जुटेर सकिंदैन भने फुटेरै भए पनि मुलुकलाई निकास दिन ढिलो गर्नु हुँदैन (भिडियाेसहित)

सत्तारुढ दल नेकपाको विवाद एकपछि अर्काे गरी सतहमा छरपस्ट हुँदै गएको छ । पार्टीका लाखौं नेता तथा कार्यकर्ताहरुले एकतावद्ध पार्टीको कामना गरिरहेको भएपनि सत्ता स्वार्थमा लिप्त हुँदै गएका नेताहरुले पार्टीलाई झन भड्खालोतर्फ धकेलिरहेका छन् । करीब पाँच महिनापछि हुने भनिएको एकताको महाधिवेशनबाट नेतृत्व हात पर्ने अवस्था हुँदाहुँदै कतिपय नेताहरु अहिले नेतृत्व परिवर्तनको अप्राकृतिक दौडमा सामेल भइरहेका छन् ।

जसले गर्दा नेकपा भित्रको वातावरण हेमन्तकालीन पारिलो अवस्थामा पनि बैशाख जेठको खडेरी जस्तै उराठ लाग्दो बन्दै गएको छ । नेकपा भित्र पार्टी र सरकारको सत्ता स्वार्थ बढिरहँदा मुलुकलाई हित हुनेगरी निर्णय हुने लक्षण समेत नदेखिएकाले पार्टी अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने स्पष्ट हुन्छ । मुलुकको मुहार फेर्ने भन्दै एक भएका नेकपाका नेताहरुले बेमौसममा सुरु गरेको झगडाले पार्टीलाई समाप्त पार्नेतर्फ उन्मुख छ ।

सत्ता स्वार्थमा केन्द्रित यो लडाइँमा अन्नत कसैलाई पनि जितको अनुभव हुने छैन । यसैगरी किचलो अघि बढिरहने हो भने, नेकपाका नेताहरुको अवस्था युद्धमा भएभरका सिपाही गुमाएर एक्लै जीवित कमाण्डोको जस्तो हुनेछ । करीब ७० वर्षदेखि नेपाली जनताले मुलुकमा सकारात्मक परिवर्तनको लागि आन्दोलन गरिरहे । समृद्ध नेपालको परिकल्पना गर्दै जनताले नेकपालाई केन्द्रदेखि गाउँसम्म झण्डै दुई तिहाइको जनमत पनि दिए ।

सकारात्मक परिवर्तनका लागि भनेरै जनताले नेकपालाई अत्यधिक जनमत प्रदान गरेकोमा नेताहरुलाई त्यो अहिले पचाउन गाह्रो भइरहेको छ । जनभावनाकै बर्खिलाप हुनेगरी नेताहरु सत्ता केन्द्रित राजनीतिमा निर्लज ढंगले लागिरहेका छन् । जसले गर्दा नेकपाकै नेतृत्वमा सरकार चलिरहँदा पनि जनताले सोचे जस्तो सकारात्मक नतिजा आउने लक्षण देखिंदैन । किनभने सत्ता स्वार्थले नेकपा अहिले आफ्नै सरकारलाई घेराबन्दी गर्ने खतर्नाक दुष्चक्रमा फसिसकेको छ ।

विश्वमा कहीं पनि नदेखिएको आफैं सत्तापक्ष आफैं प्रतिपक्ष हुने बिचित्रको रोग नेकपामा सल्किएको छ । जनताको चाहना नेकपाले मुलुकलाई सकारात्मक दिशामा अघि बढाओस भन्ने नै छ । तर नेकपाका नेताहरु देशलाई अब निकास दिनै नसक्ने अवस्थामा पुगिसकेका छन् । अवस्था यस्तोसम्म भइसकेको छ कि, पार्टी नफुटीकन अगाडि बढ्यो भने पनि त्यो फुटेको हाँडी जोडिए जस्तो मात्र हुनेछ ।

यस्तो अवस्थामा नेकपाको एकता कति दिन टिक्छ भन्ने ज्वलन्त बनिरहेको छ । नेकपाले आफूलाई सच्याउँदै, जनताको भावनालाई कदर गर्दै देशलाई निकास दिन खोज्ने हो भने सुध्र्रिन अझै पनि अवसर छ । तर फुट्न पनि नसक्ने जुट्न पनि नसक्ने अहिलेकै जस्तो अवस्थाबाट नेकपा गुज्रिरहने हो भने, त्यो देशका लागि झनै घातक सिद्द हुने प्रष्ट छ । त्यसैले पुर्णविराम नलाग्ने खालको नेकपाको यो कचिंगलबाट देशलाई मुक्त गर्नु तत्काल आवश्यक भइसकेको छ ।

नेकपामा विद्यमान अवस्था कायमै रहने हो भने, न त यो पार्टी चल्छ न त सरकार नै गतिशील बन्न सक्दछ । पार्टी एकताबद्ध पनि नहुने र सरकार पनि सशक्त नहुने हो भने मुलुक झन बन्धकीमा पर्ने भएकाले नेकपाका नेताहरुले आगामी बाटो कस्तो तय गर्ने हो तत्काल निर्णय दिन जरुरी छ । सरकारी सेवा सुविधा उपभोग गर्दै मुलुक नै बन्धकमा पर्ने गरी नेकपाका नेताहरुले मञ्चन गरिरहेको सत्तामुखी नाटक हेरिरहने धैर्यता अब जनतालाई पनि छैन ।

पार्टी एकताको नाममा एकै ठाउँमा बस्न र अघि बढ्न सकिंदैन भने एकताको जप मात्रै गरेर बस्नुको औचित्यता पनि छैन । कचपच गर्दै एक ठाउँमा बस्नु भनेको मुलुकको लागि समय बर्बादी गर्नु सिवाय अरु केही हुने छैन । त्यसैले जुटेर मुलुकलाई निकास दिन सकिंदैन भने फुटेरै अघि बढेर भए पनि मुलुकलाई निकास दिन ढिलो गर्नु हुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);