गुटको संरक्षण गर्ने समय हैन, कार्यकर्ता जुधाउने कर्मले कसैको हित गर्दैन । (भिडियोसहित)


सत्तारुढ दल नेकपा भित्रको विवाद बढेर केन्द्रबाट जिल्ला तहमा देखिन थालेको छ । यसो हुनुमा शीर्ष नेतृत्व जनता केन्द्रित मुद्दामा भन्दा सत्ता केन्द्रित मुद्दामा लागेर हो भनी बुझ्न कठिन छैन । नेतृत्वलाई खुशी पार्न नै सरकार केन्द्रित भइरहँदा तल्लो तहका जनता आक्रोशित हुने अवस्था देखिएको छ । शीर्ष नेतृत्व तहमा एकले अर्काेलाई निषेध गरेर अघि बढ्न खोज्ने प्रवृत्ति अन्त्य नभए यसले अझ ठूलो रुप लिने आंकलन हुन थालेको छ ।

सत्तारुढ दल नेकपाको केन्द्रिय नेतृत्वबिचको विवाद विस्तारै जिल्लातर्फ विस्तारित हुँदै गएको छ । विवादले आफुलाई विस्तारित गर्दै गर्दा पार्टी भित्रको दोश्रो तहका नेताहरु विवाद निरुपणका लागि मध्यमार्गीको भूमिकामा देखिनु अनिवार्य नै भई सकेको छ । र यसतर्फ केही नेताहरुको पहल शुरु पनि भएको छ । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच यतिबेला चुलिएको द्वन्द एकले अर्कोलाई ‘देखाई दिने’ हदमा बढेको यो स्थितिले एकताका सबै काम पनि सिध्दि नसकेको सत्तारुढ दल कतै विभाजित त हुने हैन भन्ने खालका प्रश्न उठ्न थालेका छन्, परिस्थितिले पनि त्यसैतर्फ संकेत गरेको छ ।

यस्तोमा पार्टीको एकतालाई कायम राख्न र पार्टीका लाखौं कार्यकर्ताको पार्टी र नेताप्रतिको विश्वासलाई अक्षुण्ण राख्न पनि यतिबेला पार्टीको विवाद दीर्घकालकै लागि साम्य हुनु जरुरी छ । जुन पार्टी भित्रैबाट खोजिनु पर्दछ । समाधानको सूत्र भएकाहरुलाई निषेध गरेर जो जहाँ बलियो छ त्यहीं आफ्ना पक्षका ‘छौंडा’ खेलाएर शक्ती प्रदर्शन गर्दा न पार्टीलाई हित हुन्छ, न त पार्टी निर्माणमा रगत पसिना बगाएर, जेलनेल भोगेर आएका नेतालाई नै यसको लाभ पुग्दछ । हो नेतृत्व तहमा नेताहरुबाटै बेलाबखत एक अर्का विरुध्द अर्घेल्याईं भएकै हो । तर, अर्घेल्याईं भयो भन्दैमा घरमै आगो लगाउने धृष्टता पक्कै पनि क्षम्य चाहीं हुँदैन ।

विगतमा नेतृत्वले विवेक नपु¥याएर पार्र्टीभित्र आफु आफैंमा लाखा र पाखा गर्दै अस्थिरहरुलाई विश्वासमा लिंदा यतिबेला बगेको पानीभित्रको बालुवा टेक्दा बालुवाले ठाउँ छाडेजस्तो अवस्थामा नेताहरु आई पुगेका छन् । तर, समय बितेको छैन, अझै बिग्रिसकेको पनि छैन । त्यसैले बिगतका सबै खाले तिक्ततालाई बिर्सेर पार्टीमा नयाँ उर्जा भर्न पार्टी भित्रै बसेर समाधानको सूत्र तयार गरिहाल्नु पर्दछ । त्यसका लागि पार्टी भित्रैका दोश्रो तहका मध्यमार्गी नेताहरुको पहल यतिबेला सान्दर्भिक छ । हिजो पनि यो पुस्ताले आफ्नो दक्षता देखाएकै हो । अब पुनः पार्टीलाई त्यो पुस्ताको दरकार परेको छ ।

नेतृत्वमा बसेकाहरुले यतिबेला एउटाले अर्कालाई होच्याउने, दंग्याउने र हुर्मत लिने भन्दा पनि बलेको बिग्रहको आगोलाई कसरी मत्थर पार्ने भन्ने तिर आफ्नो मगजलाई ब्यस्त राख्नु नै उचित हुन्छ । झण्डै तिन दशक अस्थिर राजनीति भोगेका नेपाली जनताले स्थिर राजनीति स्थापित गर्ने विश्वासका साथ दिएको यो बहुमतको सम्मान नेतृत्वले नगर्ने हो र ‘मेरो गोरुको बाह्रै टक्का’को शैलीमा नेतृत्वको दम्भ विस्तारित हुँदै जाने हो भने निश्चित रुपमा भन्नै पर्ने हुन्छ यो सुविस्ता पुनः नेपालका कम्युनिष्टहरुले पाउलान नपाउलान् !

त्यसैले, नेतृत्व बिचको अहिलेको यो परिस्थितिले पार्टीभित्र देखिएको स्थितिले सिर्जना गर्ने परिस्थितीको स्वाद सबै भन्दा पहिले पार्टीकै दोश्रो पुस्ताले चाख्न बाध्य हुनु पर्ने यथार्थलाई बुझेर आफ्नो गुट चिन्तनलाई त्यागेर विवेकसम्मत भएर अगाडि बढ्नु पर्ने जिम्मेवारी यतिबेला दोश्रा ेपुस्ताको काँधमा आईपुगेको छ । दुबै नेताहरुको प्रतिष्ठा र सम्मानको रक्षा गर्दै दुबैले जित्ने गरि विकल्पको खोजी हुनु पनि जरुरी छ । बिगतमा दुई अध्यक्षबाट भएका कमीकमजोरीको विस्तृत विश्लेषणसहित कसैको मर्ममा प्रहार नगरिकन समाधानको सूत्र पहिल्याउने जिम्मेवारीबाट दोश्रो पुस्ता भाग्न मिल्दैन । यसमा रत्तिमात्र पनि चुक भएमा यसको परिणामको शोधभर्ना पनि यहि पुस्ताको भविष्यबाट हुने छ, चेतना भया ।


Leave a Reply