कञ्चनपुर, ४ मंसिर । कञ्चनपुरसंग सीमा जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ उदरी बस्ने ३५ वर्षीय शिवलाल रानाको बिहीबार हत्या भएको बताइएको छ ।
बुधबार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । मृतक रानाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताएपनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन ।
घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।