सरकारले सोच्नु पर्‍यो । व्यवस्थापन जनताको कि नेताको ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारले सोच्नु पर्‍यो । व्यवस्थापन जनताको कि नेताको ? (भिडियोसहित)


लामो समयदेखि राजनीतिमा एउटा काम देैनिकी जस्तै बनिरहेको छ । नेकपाका दुई पार्टी अध्यक्षहरु दुईतिर फर्किने, केही दिन संवाद नहुने, अनि मन्त्री, मुख्यमन्त्रीदेखि पार्टीका नेताहरु दुबै अध्यक्षलाई मनाउने भन्दै खुमलटार र बालुवाटार गर्ने, अनि समय बिताउने । नमिलेको के हो ? अनि मिल्दाखेरी मिल्ने विषय के हो ? त्यो सायद दुबै नेताहरुको बीच ओहोरदोहोर गर्ने दुबैतर्फका पात्रहरुलाई पनि थाहा छ कि छैन ? यस्ता निर्थरक सवालहरुमा समय गुमाएर पार्टी जोगिन्छ कि जोगिन्न ? यसरी जोगिएको पार्टीले काम गर्न सक्छ कि सक्दैन ? इत्यादि विषयहरु सायद दुबै समूहका नेताहरुले सोचेका पनि छैनन् होला । कामको लागि काम भने जस्तो निरर्थक कामको कुनै अर्थ छैन । प्रधानमन्त्रीको पद नै न्यूनतम माग हो भने माग गर्ने पक्षसँग वार्ता गर्नुको अर्थ पनि छैन ।

विगत लामो समयदेखि अनिर्णयको बन्दी बन्दै गएको नेकपाको सरकार र पार्टीका दोश्रो वरीयताका भनिने नेताहरुले अब सोच्ने समय आएको छ । संधैभर टालटुलमै जसअपजसको भागिदार हुनु भन्दा समस्याको निकासतर्फ प्रवृत्त हुनसके पार्टी र सरकारको भविष्य राम्रो देखिन सक्छ । दुई नेताको घरघरमा गएर आफू पनि ठूलै नेता भएको आभास दिनु भन्दा सही र यथार्थपरक निर्णय प्रक्रियामा गइ सहीलाई सही र गलतलाई गलत भन्न सकेमा मात्र नेतृत्वको वास्तविक कला प्रदर्शन हुनसक्छ । अब सरकार अलमलिन हुँदैन । नेकपा फुट्दा सबै भन्दा ठूलो हानी फुटाउने पक्षलाई हुन्छ भन्ने कुरा सम्बन्धित पक्षलाई थाहा छ । अपजस लिन सजिलो छैन ।

त्यसैले पार्टी फुट्ने कुरालाई सनसनी मच्चाउने हल्ला बाहेक केही होइन भन्ने राजनीतिक विश्लेषकहरुको तर्क अनुपयुक्त होइन । सकेसम्म सरकारलाई गलाउन र प्रधानमन्त्री केपी शर्मा ओलीको नाडी छाम्नेतर्फ लक्षित प्रधानमन्त्री इतरका नेताहरुको राजनीतिक चालबाजी सबैले बुझ्न जरुरत छ । भारतीय प्रधानमन्त्रीका दुतले नेपाल भ्रमणको समयमा प्रधानमन्त्रीसँग भएको भेटलाई लिएर भएको भनिएको पार्टी भित्रको हंगामापछि अब छिटृै हुन गइरहेको भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेको भ्रमणलाई लिएर पनि ठूलै हंगामा हुने निश्चित छ ।

यसतर्फ सरकार बढी नै संवेदनशील र सचेत हुन जरुरत छ । भारतीय व्यवहारका कारण नेपाल भित्र बढीरहेको भारत विरोधी जनमतलाई मध्यनजर गर्दै हंगामाका लागि नेकपा भित्रै फेरी अर्काे अफवाह सृजना हुनसक्छ भन्नेतर्फ सरकार सचेत हुन जरुरत छ । सानातिना विषयहरुलाई लिएर गरिने गरेको अफवाहप्रति शुरुमै सचेत हुन सक्यो भने सरकारको निमित्त अनुकुल वातावरण सृजना हुनसक्छ । सरकारको ध्यान अब जनतातर्फ केन्द्रित हुन प¥यो । धेरै विषयहरु सरकारकै कारण अनुत्तरित बनिरहेको छ । कोरोनाको नाउँमा केही अफवाहरु सृजना भइरहेका छन् । सांच्चिकै अप्ठेरोमा परेका वर्गहरुको सरकारी स्तरमा पहिचान गर्दै उपयुक्त वातावरण सृजना गर्नेतर्फ सरकारको यथाशिघ्र ध्यान जान जरुरत छ ।

एउटा समूह विगत लामो समयदेखि खुलामञ्चमा गरिबहरुलाई खाना खुवाउने भन्दै खाना खुवाइ रहेको छ । राजनधानीको खुलामञ्चमा खाना खुवाउनु पर्ने अवस्था वास्तविक हो कि अफवाह हो ? सरकारले तत्काल छानबिन गर्न जरुरी छ । यदि वास्तविक नै हो भने, सरकारले नै खानाको लागि उपयुक्त ठाउंको व्यवस्था गर्न जरुरत छ । खाना खुवाउने पक्ष कस्तो हो ? यति लामो अवधिसम्म गरिबहरुको नाममा खाना खुवाउन त्यो समूहलाई कसले सहयोग गरेको छ ? त्यसबारे छानबिन हुन जरुरी छ । राहात दिने सरकारको काम हो । खुलामञ्चमा खाना खुवाउने अवस्थाले गरिबीको उपहास भएको छ । त्योभन्दा बढी सरकारको पनि उपहास भएको छ । गरिबीमा रहेका नागरिकको सही व्यवस्थापनमा सरकारले यथाशिघ्र ध्यान दिन जरुरी छ ।

त्यस्तै विभिन्न अस्पतालहरुले कोरोनाको नाममा लिइरहेको शुल्कका साथै सेवा सन्दर्भमा पनि व्यापक लुट मच्चाइरहेको जनबुझाई छ । यो विषयलाई पनि सरकारले ध्यान दिंदै विषयवस्तुको गम्भीरतालाई मनन गर्नुपर्छ । त्यस्तै कोरोनाले सृजित विभिन्न व्यवसायहरु जो धरासायी बन्दै गएका छन त्यसतर्फ संवेदनशील बन्न जरुरत छ । लामो समयसम्म भएको बन्दाबन्दीका कारण धेरै पक्षलाई असर गरेको छ । नेतृत्व लिने काम सरकारको नै हो । त्यसैले पार्टी भित्रको नेता व्यवस्थापन गर्ने विषय भन्दा पनि पीडित जनताको सही व्यवस्थापनमा सरकारको ध्यान जान सक्यो भने मात्र सरकारको कार्यकुशलता देखिन जान्छ । अन्यथा, नेकपारुपी ढलपले डुंगा सबैको लागि भारी पर्ने निश्चित छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);