एजेन्सी, १७ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडसले जित निकालेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्दै कोलकाताले जित निकालेको हो ।
कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए । त्यस्तै राहुल टेवाटियाले ३१, बेन स्टोक्सले १८ र श्रेयस गोपालले अविजित रहदै २३ रन बनाए । राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए । वरुण चक्रवर्ती र शिबम माभीले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै राहुल त्रिपाठीले ३९, सुबमन गिलले ३६, आन्द्रे रसेलले २५ र पाट कुमिन्सले १५ रन बनाए । राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर, श्रेयस गोपालले १/१ विकेट लिए ।
जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोड्दै प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।




