बारा, १३ कार्तिक । बारा जिल्लाको सीमावर्ती सुवर्ण गाउँपालिका वडा नम्बर २ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडी बुधवार प्रहरी र स्थानीय बिच झडप भएको छ ।
बुधवार राती साँढे ८ बजे तिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याजलाई प्रहरीले खोसेर कलैया तर्फ लैजाने क्रममा स्थानीयले रोक्न खाोज्दा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना बालक गम्भीर घाइते भएका छन् ।
गोली लागेर सुवर्ण गाउँपालिका वडा नं.२ कै १४ वर्षीय रंजन कुमार यादव घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको छ ।
बालकको स्थानीय एस.आर अस्पतालमा उपचार हुँन नसक्दा थप उपचारको लागि बिरगंजको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले बताउनुभएको छ ।
झड्पलाई नियन्त्रणमा लिन प्रहरीले दर्जन भन्दा बढी हवाई फायर गरेको थियो । घाइतेको साथमा रहेका स्थानीय रामनिवास यादवले बयोधा अस्पतालमा घाइतेको सिटी स्क्यान भएको र गोली टाउकोमा बाँया पट्टिको भागमा भित्रै रहेको बताइएको छ ।




