एजेन्सी, १२ कार्तिक । अमेरिकी विदेशमन्त्री माइक पम्पियोले भारत भ्रमणकाबेला दिएको अभिव्यक्तिको चीनले आलोचना गरेको छ ।
अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको भनेर दिएको अभिव्यक्तिको चीनले आलोचना गरेको हो ।
दिल्लीस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै भारत र चीनको बिचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी समेत दिएको छ । विज्ञप्तिमा अमेरिकी अधिकारीहरुले बारम्बार झुटो बोल्दै चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहनु कूटनीतिको आधारभूत सिद्धान्तको विपरत भएको उल्लेख छ ।

दूतावासले भारत र चीन बिचको सीमा विवाद दुईपक्षीय भएको र यसलाई समाधान गर्नका लागि बारम्बार वार्ता भइरहेको समेत उल्लेख गरेको छ । भारत र चीनसँग असहमतिहरुलाई ठीक ढंगले समाधान गर्ने ज्ञान र क्षमता रहेको र यसमा तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ नरहेको दिल्लीस्थित चिनियाँ दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ ।