चीनद्वारा अमेरिकालाई चेतावनी–युद्धको मानसिकता त्याग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनद्वारा अमेरिकालाई चेतावनी–युद्धको मानसिकता त्याग

एजेन्सी, २२ माघ । चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो । चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ ।

अमेरिकाले आफूसँग भएका हतियारहरू प्रयोग गर्न निकै ठूला भएको भन्दै नयाँ स–साना परमाणु हतियार विकास गर्ने योजना सार्वजनिक गरेको हो । रूसले भने अमेरिकी योजनाको यसअघि नै विरोध गरिसकेको छ ।

अमेरिकाले चीन, रूस, उत्तर कोरिया र इरान आफ्नो सुरक्षा खतराका रूपमा रहेको औंल्याउँदै साना हतियारको आवश्यकता भएको जनाउँदै आएको छ । चीनले आइतबार अमेरिकी योजनाको दृढतापूर्वक विरोध जनाएको हो । चिनियाँ रक्षा मन्त्रालयले आफ्नो रक्षात्मक नीतिको वासिङ्टनले फाइदा उठाएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामीलाई आशा छ अमेरिकाले आफ्नो शीतयुद्धकालीन मानसिकता त्याग्नेछ र निशस्त्रीकरण प्रतिको आफ्नो उत्तरदायित्व महसुस गर्नेछ ।’ चीनले यसअघि पनिपटकपटक अमेरिकाको रक्षा रणनीतिको विरोधका लागि ‘शीतयुद्ध’ को सन्दर्भ उल्लेख गर्ने गर्छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार सार्वजनिक गरेको योजनामा जमिन, पन्डुब्बी तथा विमानबाट प्रहार गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्रको आधुनिकीकरणमा जोड दिइएको छ । उक्त योजना पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा सुरु गरिएको थियो । यसअघि रूसी विदेश मन्त्रलायले अमेरिकी योजनाप्रति ‘पूर्णरूपमा निराश’ भएको बताएको थियो । विदेशमन्त्री सर्गेइ ल्याभ्रोभले राष्ट्रको सुरक्षाका लागि ‘आवश्यक उपायहरू अवलम्बन’ गर्ने बताएका थिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);