विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न सरकारसँग आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न सरकारसँग आग्रह

काठमाडौं, १२ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एशिया प्रशान्त क्षेत्रका देश तथा खाडीलगायत अन्य देशमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमिमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले विदेशमै रोकिएका नागरिकलाई बिनाशर्त यथाशीघ्र निःशुल्क उद्धार गर्न आग्रह गरेको हो ।

सम्मेलनले विदेशमा अलपत्र नागरिकलाई सहज स्वदेश फर्काउने वातावरण सिर्जनाका लागि नेपालमा हुने हवाई उडानको सङ्ख्या वृद्धि गर्नसमेत अनुरोध गरेको छ । वैदेशिक रोजगारबाट फर्किएका नेपाली श्रमिकको पुनः एकीकरण र रोजगारका लागि सङ्घ र नेपाल सरकारबीच स्वदेशमै रोजगार सिर्जनाका लागि सहकार्य गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगारको विविधीकरणमा जोड दिँदै सम्मेलनले उचित पारिश्रमिक, कम जोखिम तथा मानवअधिकार तथा सामाजिक सुरक्षा सुविधा भएका गन्तव्य देशको खोजी गरी ती देशमा वैदेशिक रोजगारको व्यवस्था मिलाउन सरकारसमक्ष अनुरोध गरेको छ । यसैगरी देशको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेका नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

सम्मेलनले गैरआवासीय नेपालीको सहकार्यमा श्रमिक सूचना बैंक कार्यान्वयन गराउने र विदेशबाट फर्किएका नेपालीको सीपसहितको तथ्याङ्क राख्ने व्यवस्थालाई प्रभावकारी बनाउन तथा विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत क्षेत्रमा उपयोग गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सबै गैरआवासीय नेपालीलाई आह्वान गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);