काठमाडौं, ६ असोज । अनशनरत डाक्टर गोविन्द केसीलाई प्रहरीले वीर अस्पतालको ट्रमा सेन्टर पुर्याइएको छ। जुम्लामा अनशनका क्रममा धरपकड हुन सक्ने भन्दै डाक्टर केसीलाई मंगलबार काठमाडौ ल्याइएको हो ।
केसी जुम्लाबाट सोमबार नेपालगञ्ज आउनु भएको थियो । नेपालगञ्जबाट मंगलबार जहाजमार्फत काठमाडौं आउनु भएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगेको हो ।
काठमाडौ ल्याइनुभएका डाक्टर केसीले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै अनसन जारी राख्ने बताउनुभएको थियो । तर प्रहरीले विमानस्थलबाटै ट्रमा सेन्टर पुरयाएको हो । केसीले शिक्षण अस्पताल नलगेसम्म कुनै पनि उपचार सेवा नलिने अडान राख्नु भएको बताइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तीब्रता दिनुपर्ने लगायतका माग राखेर डाक्टर केसी गत भदौ २९देखि अनसनरत हुनुहुन्छ ।