एजेन्सी, ३० भदौ । अर्जेन्टीनाका फुटबल खेलाडी लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् । फोब्र्स पत्रिकाका अनुसार स्पेनको बार्सिलोनाबाट खेल्ने मेस्सीले सन २०२० मा १२ करोड ६० लाख अमेरिकी डलर आम्दानी गरेर सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् ।
दोस्रो स्थानमा इटालीको युभेन्ट्सबाट खेल्ने पोर्चुगाली खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन् । सन २ हजार २० मा उनको आम्दानी ११ करोड ७० लाख डलर रहेको छ । तेस्रो स्थानमा रहेका फ्रान्सेली क्लब पीएसजीका ब्राजिली खेलाडी नेयमारले ९ करोड ६० लाख र चौथो स्थानमा रहेका पिएसजी कै फ्रान्सेली खेलाडी किलियान एम्बाप्पेले ४ करोड ८० लाख डलर कमाएका छन् ।
इंग्लिस प्रिमियर लिगका तीनजना खेलाडी मोहमद शलाह, पाउल पोग्वा र डेभिड डि गेया शीर्ष १० मा पर्न सफल भएका छन् । त्यस्तै, वेल्सका फरवार्ड गेराथ बेल पनि शीर्ष १० मा समावेश छन् । शलाह पाँचौँ, पोग्बा छैटौँ र डि गेया १० औँ स्थानमा रहेका छन् । बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजमान सातौँ र बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की नवौँ स्थानमा रहेका छन् ।