इतिहासदेखि वर्तमानसम्म देखिएको आसेपासे प्रवृत्ति कै कारण नेतृत्व अलोकप्रिय

काठमाडौं, २९ भदौ । नेपालमा शासन गर्ने शासकहरुको इतिहास हेर्दा राणा पश्चात राजा महेन्द्रको शासनलाई शक्तिशाली मानिन्छ । शक्तिशाली यस अर्थमा की, उनी जनताको लागि प्रत्यक्ष शासनको अभ्यासमा थिए । आफ्नो वरिपरि धेरै आसेपासे राख्दैन थिए । उनकै कार्यकालमा विकासले सर्वाधिक गति लिएको देखिन्छ । त्यतिबेलाका विकासका मुलभूत संरचनाहरु अहिले पनि जस्ताका त्यस्तै छन ।

पूर्वपश्चिम राजमार्गदेखि एअरपोर्टसम्म, चिनी उद्योगदेखि चिया बगानसम्म, त्रिभुवन विश्वविद्यालयदेखि संयुक्त राष्ट्रसंघको सदस्यतासम्म । पछिपछिको सत्ताले पोलेर खाएको थुप्रै उद्योग व्यवसायहरु मात्र होइन त्यति बेलाको भुमि सुधार ऐन, स्थानीय प्रशासन ऐन, नेपाल राष्ट्र बैंक समेत आजसम्म कार्यान्वयनमै छन् । उनको अवशानपछि राजा वीरेन्द्रको शासनकालमा धेरै नै आसेपासेहरु सक्रिय रहे । पुरानो विरासत अनुसार थुप्रै विकास संरचनाहरु खडा हुनुपर्ने हो तर त्यस्तो भएन ।

“राजाका विरोधी कोही छैनन, कोही हुन सक्दैनन्” भन्ने राग अलाप्दै राजाको वरिपरि संगठित यो शक्तिले राजा वीरेन्द्रलाई यति गुमराहमा पारिदियो की, “सबै पञ्च नेपाली, सबै नेपाली पञ्च” भन्दाभन्दै व्यवस्था नै समाप्त भएपछि मात्र राजाले थाहा पाए कि, उनी त आसेपासेको डरलाग्दो सञ्जालबाट घेरिएका पो रहेछन् । जतिबेला थाहा पाए त्यति बेला ढिलो भइसकेको थियो । पञ्चायतको अवशान पश्चात शक्तिशाली प्रधानमन्त्रीको रुपमा देखिएका कृष्णप्रसाद भट्टराईको कार्यकाल अत्यन्त छोटो भएकोले र भर्खर व्यवस्था परिवर्तन भएको क्रान्तिकारी छविका कारण आसेपासेको सञ्जाल बलियो हुन पाएन ।

बहुमतको सरकारसहित स्थापित नेपाली कांग्रेसका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको वरिपरि त्यस्तै आसेपासेहरुको जमघट हुनपुग्यो । “असहमत पक्षलाई विरोधी सम्झने, भजन मण्डलीलाई आफनो सम्झने” प्रवृत्ति हाबी भयो । काम गर्ने पर्याप्त स्प्रीट हुँदाहुँदै पनि भजन मण्डलीको उक्साहटमा त्यो सत्ता समाप्त भयो । त्यतिबेलाको “राम्रो मान्छेको ठाउँमा हाम्रो मान्छे”को श्रृंखला नेपाली जनताको लागि यति महँगो सावित भयो कि झण्डै २० वर्ष देश हल न चलको अवस्थामा परिणत भयो । सम्पूर्ण राज्य संरचना तहसनहस भयो । गृह युद्धमा देश फस्न पुग्यो । विदेशी चलखेलको पराकाष्ठा बढ्यो । संसार कहाँबाट कहा पुग्यो तर हामी आफ्नो राजनीतिक व्यवस्थापनमै सम्पूर्ण शक्ति लगाइ राख्न विवश भयौं ।

अहिलेसम्म पनि यो धङधङी कहीं न कहीं कायम देखिन्छ । यसैवीच देशको शासकीय स्वरुपहरु परिवर्तन भयो । संघीयता आयो, धर्म निरपेक्ष भनियो, राजतन्त्र गयो । यी सबै एजेन्डाहरु जनताका थिए कि थिएनन् आजसम्म प्रष्ट छैन । जे भएपनि मुिश्कलले संविधान आयो, चुनाव भयो । अत्यधिक बहुमतको साथ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सत्ता सम्हाल्यो । त्यत्रो आरोह अवरोहका बीचमा पनि इतिहासकै शक्तिशाली प्रधानमन्त्रीको रुपमा पदासिन वर्तमान प्रधानमन्त्रीको अव्वल शासकीय कौशलता जनताले महशुस गर्न पाइरहेका छैनन् । जनताको अपेक्षा ठूलो छ । तर सरकार सानो सानो कुरामा पनि चुकेको छ ।

पुरानो विरासत जस्तै प्रधानमन्त्री वलीलाई घेर्ने आसेपासेको जलप यति गाढा बन्दै गएको छ की, कोरोनाले बनाउने भनेको लेयर पनि त्यति गाढा हँुदैन होला । थुप्रै जडिवुटि र औषधीहरुको ज्ञाता वर्तमान प्रधानमन्त्री यो जलप हटाउन किन सकिराख्नु भएको छैन, अचम्म छ । प्रधानमन्त्रीको सर्मथन गर्दै बोल्ने यी आसेपासेहरुको बोलीले प्रधानमन्त्रीलाई नै अलोकप्रिय बनाइरहेको कुरा स्वंयम प्रधानमन्त्रीलाई थाहा होला की नहोला ? यी व्यक्तिहरुबाट सत्तालाई नै बदनाम गर्ने गरी आउने भ्रष्टाचारका कथाहरुले प्रधानमन्त्रीलाई छोएको होला की नहोला ? यी व्यक्तिहरुको प्रवक्ता जस्तै यिनीहरुको बचाउमा बोलिदिन प्रधानमन्त्रीको पदीय मर्यादा अनुसार सुहाउला कि नसुहाउला ? बुझनु पर्ने कुरा के हो भने, यी आसेपासेका कारण वर्तमान प्रधानमन्त्री जनताको बीचमा लोकप्रिय हुनु हुन्न ।

आन्तरिक हनुमानहरुबाट सुरक्षित हुन खोज्नुभन्दा जनतालाई हनुमान मान्न सके रामको कार्य सहज र सफल हुन सक्ने कुरा निर्विवाद छ । इतिहासदेखि नै झांगिदै आएको सत्ताको आसेपासे स्वरुपको चत्रव्यूहबाट यदि सरकार बाहिर ननिस्कने हो भने, जतिसुकै बलियो भएपनि जनताको नजरमा बलियो सावित हुन सक्ने छैन । जनताको अगाडि मिठो बोल्न समेत नसक्ने आसेपासेहरुको प्रवृत्तिले इतिहास दोहा¥याउँदै देशले शासकीय व्यवस्थाको विकल्प खोज्यो भने, त्यसको जिम्मेवार को को हुनुपर्ने हो त्यो त इतिहासलाई नै जिम्मा दिनुपर्छ ।

Leave a Reply