सिन्धुपाल्चोक, २६ भदौ । कार्यालयभित्रै मदिरापान भन्दै सामाजिक सञ्जालमा तथा केही सञ्चारमाध्यममा समाचार छाएपछि मेलम्ची नगरपालिकाले विज्ञप्ती जारी गर्दै बास्तविकता नबुझी भ्रममा नपर्न सार्वजनिक रुपमा आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै मेलम्ची नगरपालिकाले २३ भदौको साँझ अफिसियल कामकै लागि कर्मचारीहरु अबेरसम्म कार्यालयमा बसेको प्रष्टाएको छ ।
चालु आर्थिक बर्षको लागि स्वीकृत ५ योजना कार्यान्वयनका लागि बोलपत्र सम्बन्धि कागजात तयार गरी विद्युतिय खरीद प्रणालमिा अपलोड गर्नका लागि कर्मचारीहरु अबेरसम्म खटिएको र उक्त समयमा आफुलाई युट्युबर बताउने दुई ब्यक्तिहरु आई जबर्जस्ती भिडियो खिचेको मेलम्ची नगरपालिकाले जनाएको छ ।
‘किन रातिसम्म कार्यालयमा बसेको ? भन्दै दुई ब्यक्ति आएको र भिडियो खिचेर लगेको बिज्ञप्तीमा भनिएको छ ।
यसबारे यथार्थता बुझ्नका लागि आन्तरिक प्रकृया सुरु गरिएको र कर्मचारीको गल्ती देखिए कार्वाही गरिने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले बताउनुभयो । ‘यसबारे हामी आन्तरिक रुपमा यथार्थ बुझ्दैछौँ, यथार्थ नबुझी नकारात्मक टीकाटीप्पणी नगर्नुहुन नगरवासीमा आग्रह छ’, प्रमुख प्रशासकीय अधिकृत कोईरालाले भन्नुभयो, ‘रातसाँझ काममा खटिदै आएका कर्मचारीको मनोबल गिराउने काम कसैले पनि नगरौँ ।