एजेन्सी, २६ भदाै । अफगानिस्तान सरकार र विद्रोही तालिवानी लडाकू समुहबीच शबिवार वार्ता हुने भएको छ । लामो समयको प्रयासपछि अफगान सरकार र तालिवानी समूहबीच शनिबार कतारको दोहामा वार्ता हुन लागेको हो ।वार्ताअघि तालिवानी लडाकूका ६ जना कैदी रिहा गरिएको अफगानिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।
अफगानिस्तानका बिभिन्न राजनीतिक दलहरुको समेत सहभागितामा हुने उक्त वार्ता अफगानिस्तानमा स्थायी शान्ति कायम गर्न महत्वपूर्ण कोसेढुंगा हुने विश्वास लिइएको छ । तालिवानी समूहले पनि उक्त वार्ता प्रक्रिया अघि बढ्न लागेको पुष्टि गर्दै इस्लामिक मूल्य र राष्ट्रिय हितका विभिन्न पक्षमा समान रुपमा छलफल हुने विश्वास लिएको जनाएको छ । वार्ताका लागि दुबै पक्षका प्रतिनिधि कतार पुगिसकेका बताइएको छ ।
दुबै पक्षबीचको वार्ताले अफगानिस्तानमा लामो समयदेखि जारी हिंसा अन्त्य हुने विश्वास लिइएको छ ।गत फेब्ररअरीमा हुने भनिएको वार्ता अघि दुवै पक्षका कैदीबन्दी रिहा गर्ने विषयमा कुरा नमिल्दा वार्ता पछि धकेलिएको हो । उक्त सम्झौतामा तालिवानी लडाकूले आफ्नो नियन्त्रणमा रहेका एक हजार अफगानी सैनिक रिहा गर्ने र सरकारले पाँच हजार तालिवानी बन्दी रिहा गर्ने उल्लेख छ ।
उक्त सम्झौताको विश्वासस्वरुप अमेरिकाले आफ्ना सैनिक अफगानिस्तानबाट फिर्ता बोलाउने समेत सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।तर उक्त सम्झौताको फ्रान्स र अष्ट्रेलिया लगायतका देशले विरोध गरेका छन् ।व्यक्ति हत्यामा संलग्न रहेका तालिवानी विद्रोही लडाकूलाई कानुनी कारवाही बिना रिहा गर्नु गलत भएको उनीहरुको ठहर छ ।