'हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव’

काठमाडौं, २५ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताउनु भएको छ । कोभिड-१९ संक्रमणको कारण लामो समय लकडाउन हुँदा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएकोले यसलाई खुला गर्न पहिलो चरणमा कम वस्ती भएका क्षेत्रमा पदयात्रा गर्न र हिमाल आरोहण गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताउनुभएको हो ।

बिहीबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पर्यटन क्षेत्रका सरोकारवालाहरुसँगको भर्चुअल मिटिङमा बोल्दै मन्त्री भट्टराईले चरणवद्ध रुपमा पर्यटन क्षेत्र खोल्ने नीति अनुसार पहिलो चरणमा हिमाल आरोहण र पदयात्रालाई खोल्न लागिएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै लैजानका लागि असोज १५ गते भित्रमा आन्तरिक उडानलाई खोल्ने तयारी भइरहेको पनि बताउनुभयो ।

पहिलो चरणमा उच्च पहाडी र पहाडि जिल्लामा २५ प्रतिशत उडान अनुमति दिएर आन्तरिक उडान सुरु गर्न लागिएको बताउनुभयो । यस्तै पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना गर्न पर्यटन बोर्डलाई विभिन्न मुलुकमा सेलहरु निर्माण गरेर काम गर्न निर्देशन दिइसकेको समेत बताउनुभयो ।

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विगतमा आन्तरिक पर्यटनलाई वेवास्ता गरि डलरको पछाडि दौडदा अहिले पर्यटन क्षेत्र उठनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । पर्यटन क्षेत्रलाई सुचारु गर्न बाह्य उडानलाई बढाउने, विदेशी पर्यटकलाई नियमित उडानमार्फत ल्याउने, एयरपोर्टमा पीसीआर गर्ने व्यवस्था गर्नुपर्ने र क्वारेन्टाइन बस्ने समय घटाउने लगायतका काम सरकारले तत्काल गर्नुपर्ने बताउनुभयो ।

त्यसबाहेक पर्यटन व्यवसायीलाई आफ्नो व्यवसाय सुरु गर्न पुनरउत्थान कोषबाट छिटोभन्दा छिटो चालु पूँजी उपलब्ध गराउन र दिर्भकालिन पर्यटनका लागि आन्तरिक पर्यटनलाई बढाउनुपर्ने बताउनुभयो ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट ल्याएको पुनरउत्थान कोषको उपयोग अझै गर्न नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले व्यवसायीले पुनरकर्जाको लागि असोज १५ गते सम्म आवेदन दिने म्याद रहेको र त्यसपछि पनि कहिले प्राप्त हुन्छ भन्ने कुरामा अझैपनि स्पस्ट हुन नसकेको बताउनुभयो । त्यसबाहेक होटल कहिले खोल्ने, पर्यटकलाई कहिले देखि नेपाल ल्याउने भन्ने सम्बन्धमा सरकार अझैपनि स्पस्ट हुन नसकेको बताउनुभयो ।

नेपालको पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी रहेको छ । झण्डै १० लाख मानिसहरुले रोजगारी पाएका छन् । तर कोभिड १९ संक्रमणका कारण अधिकांशले रोजगारी गुमाइसकेका छन भने देशको अर्थतन्त्रमा ठूलो नोक्सानी भइसकेको छ । त्यसैले सरकारले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना सहित पर्यटन क्षेत्रलाई तत्काल सूचारु गर्नुपनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);