कुम्भकर्ण हिमाल आरोहण असफल, आधार शिविरमा एक महिना बिताएर फर्किए आरोही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कुम्भकर्ण हिमाल आरोहण असफल, आधार शिविरमा एक महिना बिताएर फर्किए आरोही

ताप्लेजुङ । खराब मौसमका कारण ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण असफल भएको छ । हिमाल आरोहणका लागि यो सिजनमा अनुमति लिएका टीम असफल भएपछि फर्किएका छन् ।

कुम्भकर्ण हिमाल विश्वको ३२औं तथा नेपालको १४औं अग्लो हिमाल हो । फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्णको उचाइ सात हजार सात सय १० मिटर छ । हिमाल आरोहणका लािग दुई जना अमेरिकी नागरिकसहितको टोली एक महिनाअघि कुम्भकर्ण हिमाल  आधार शिविर पुगेको थियो । तर बेमौसमी वर्षा र अत्याधिक हिमपातका कारण आरोहण असफल भएपछि टोली फर्किएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार ९ असोजमा कुम्भकर्ण हिमालको आधारशिविरमा आरोहण टोली पुगेको थियो ।

अनुकुल समय पर्खेर आरोहण गर्ने योजना भए पनि मौसममा सुधार नभएपछि टोली फर्केको शेर्पाले बताए । टोली बिहीबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङ फर्केको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टले जनाएको छ ।

पर्यटन विभागका अनुसार यो सिजनमा दुई जना अमेरिकीसहित पाँच जना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका थिए । पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएको थियो । कोरोना महामारी सुरू भएपछि कुम्भकर्ण हिमाल आरोहणमा कसैले पनि अनुमति लिएका थिएनन् । वि.स. २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका थिए । पछिल्लो पटक ०७६ सालमा दुई जना विदेशी नागरिकले कुम्भकर्णको सफल आरोहरण गरेको विभागले जनाएको छ ।

यस्तै, ताप्लेजुङमै कञ्चनजङ्घा हिमाल अरोहणमा यो सिजन तीन जना विदेशीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८५८६) आरोहण भने सफल भएको छ । एक ताइवानी र चार नेपाली आरोहीको टोली ३० असोज दिउँसो १ बजे अरोहण गरेका हुन् । ताइवानका सेङ को अथ, दोलखाका निमा ग्याल्जेन शेर्पा र पाशाङरिन्जे शेर्पा तथा सोलुखुम्बुका ग्याल्जे शेर्पा र दाकीपा शेर्पाले आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले जनकारी दिए । 

दाकीपा शरद् ऋतुमा कञ्चनजंघा आरोहण गर्ने पहिलो महिला बनेकी छिन् । यो हिमाल आरोहणको ६६ वर्षे इतिहासमा शरद्मा यसअघि महिलाले आरोहण नगरेको सेभेन समिटले दाबी गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);