एजेन्सी,२२ भदाै । यूईएफए नेसन्स लिग फुटबलमा वेल्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा बुल्गेरियालाई १–० गोल अन्तरले पराजित गर्दै वेल्सले लगातार दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा वेल्सलाई जित दिलाउन निको विलियम्सले निर्णायक गोल गरे । कार्डिफ सिटी स्टेडियममा खेलको इन्जुरी समयमा लिभरपुलका युवा खेलाडी विलियम्सले गोल गर्दै वेल्सलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
जितसँगै वेल्सले २ खेलमा ६ अंक जोडेको छ । लिग बी समूह चारको वेल्स समूहको शीर्ष स्थानमा रहेको छ । वेल्सले पहिलो खेलमा फिनल्याण्डलाई १–० ले हराएको थियो भने बुल्गेरियाको यो पहिलो हार हो ।
बुल्गेरिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहमा १ खेलमा १ अंक जोडेको आयरल्याण्ड दोस्रो र अंक विहीन फिनल्याण्ड पुछारमा रहेको छ ।