एजेन्सी, १८ भदौ । रुसका विपक्षी नेता एवं भ्रष्टाचार विरोधी अभियानका अगुवा एलेक्सी नाभल्नीलाई कडा खाले विष दिइएको जर्मन सरकारले पुष्टि गरेको छ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका आलोचक नाभल्नीलाई स्नायु प्रणालीमा घात पु¥याउने खालको विष दिइएको जर्मनीको सरकारले पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
जर्मनीको एक सैन्य प्रयोगशालामा टोक्सिकोलोजी परीक्षण गर्दा नाभल्नीको शरिरमा स्नायु प्रणालीमा घात पु¥याउने नोविचोक समूहको एक तत्व स्पष्ट फेला परेको जर्मनीको दावी छ । रुसको साइबेरिया क्षेत्रमा एक उडानका क्रममा अचानक अस्वस्थ भई कोमामा गएपछि नाभल्नीलाई विशेषज्ञ उपचारका लागि जर्मनीको बर्लिन लगेर उपचार भइरहेको छ ।
समर्थकहरुले नाभल्नीलाई राष्ट्रपति भ्लादीमिर पुटिनकै आदेशमा विष दिइएको दावी गर्दछन् । तर क्रेमलिनले भने यस आरोप निराधार रहेको भन्दै अस्वीकार गरेको छ । जर्मन सरकारले नाभल्नीलाई विष दिइएको घटनाको निन्दा गर्दै तत्काल स्पष्टीकरण दिनका लागि रुसलाई भनेको छ । यसबारेमा जर्मन चान्सलर एञ्जेला मर्केलले आफ्ना वरिष्ठ मन्त्रीहरुसँग छलफल नै गरेको बताइएको छ ।
रुसले भने नाभाल्नीको शरीरमा विष भेटिएको भन्नेबारेमा जर्मन सरकारबाट कुनै जानकारी नआएको जनाएको छ । जर्मनीले युरोपियन युनियन ईयू र उत्तर एटलान्टीक सहयोग संगठन नाटोलाई पनि यसबारेमा जानकारी गराइने जनाएको छ । परीक्षणको प्रतिवेदन नाभल्नी पत्नी युलिया र जर्मनीका लागि रसियन राजदूतलाई पनि जनाकारी गराइने जनाइएको छ ।