मौलाउँदो परिवारवादको कारण आलोचित बनेका र बन्दै गएका नेताहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मौलाउँदो परिवारवादको कारण आलोचित बनेका र बन्दै गएका नेताहरु

काठमाडौं, १६ भदौ । राजनीतिमा परिवारवाद र नियुक्तिमा हुने लोभले शीर्ष नेतृत्वलाई आलोचित बनाएको छ । सत्ता र शक्तिमा पुगेपछि नातागोता र आफन्तहरुलाई खोजीखोजी नेतृत्वले नियुक्ति गर्दा नेतृत्व आलोचित हुने अवस्था आएको हो । पञ्चायतकालिन अवस्थामा भन्दा बढी प्रजातन्त्र र गणतान्त्रिक व्यवस्थामा राजनीतिमा परिवारवाद मौलाएको देखिन्छ । जनताले नरुचाएका यस्ता काम गरेर नेतृत्वले आफ्नो राजनीतिक त्याग र समर्पणलाई संकटमा पारेका छन् ।

पञ्चायतकालदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रामा व्यवस्था र शासकीय सत्ता परिवर्तनको निमित्त थुप्रै संघर्षहरु भए । यी संघर्षका दौरानहरुमा धरैको त्याग र समर्पण पनि देखियो । परिवारमा एक व्यक्ति राजनीतिकर्मीको रुपमा उदाउँदा त्यस परिवार भित्रका थुप्रै सदस्यहरुले दुःख पाउने, त्यति मात्र नभएर उसका नातागोता, इष्टमित्र सबैप्रति धरपकड हुने कुरा सामान्य जस्तै थियो । त्यस क्रममा थुप्रै राजनीतिकर्मीहरुले दुःख पाए र उनीहरुसँगै उनीहरुका परिवारहरुले पनि शान्तिले बस्न पाएनन् । कतिपय परिवारका सदस्यहरु इच्छा बिना राजनीतिमा होमिन समेत बाध्य भए ।

यही परिवेशको व्याख्या गर्दै प्रजातन्त्र पुनस्र्थापनापछिका सबै जसो स्थापित नेताहरुले आफ्नो हैसियत अनुसार परिवारका सदस्यहरुलाई आफूले सकेसम्मको पद, प्रतिष्ठा दिन पुगे । तर राजनीतिक परिवर्तन अघिको मनोविज्ञान अनुसारको परिवार राजनीतिलाई भने जनताले पटक्कै मन पराएका छैनन् । परिवारवादकै कारण नेपाली राजनीतिका शीखर पुरुष स्वर्गीय गणेशमान सिंह आलोचित हुनुप¥यो । छोरा प्रकाशमान सिंह र श्रीमती मंगलादेवी सिंहलाई राजनीतिमा उतार्दा सर्वमान्य नेता सिंहको व्यापक आलोचना भयो । यद्यपी, सिंहको अवशानपछि नेपाली कांग्रेसको हर्ताकर्ता नेताको रुपमा प्रकाशमान सिंह स्थापित नै छन् ।

त्यस्तै छोरीको कारण गिरिजाप्रसाद कोइराला, छोरी र बुहारीको कारण प्रचण्ड, श्रीमतीको कारण डा. बाबुराम भटृराईदेखि लिएर वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलसम्मलाई हेर्ने हो भने, सबैलाई परिवार राजनीतिले कति आलोचित गरेको छ सजिलै देख्न सकिन्छ । श्रीमान श्रीमती नै सांसद बन्नु पर्ने, सत्तारुढ भएमा एक जना कम्तीमा मन्त्री नै बन्नु पर्ने, श्रीमानको मृत्यु भएमा श्रीमती सांसद हुनैपर्ने जस्ता राजनीति भित्रका अन्तरकथाहरुलाई पनि जनताले स्वच्छ र निष्ठापूर्ण देखेका छैनन् ।

त्यसमाथि मधेसवादी दलहरुको त कुरै गर्नु परेन । समानुपातिकतर्फ श्रीमतीहरुलाई सांसद बनाएका उदाहरण स्पष्टै छ । मूल राजनीतिमा मात्र होइन, राजनीतिले नेतृत्व गर्ने प्रायः सबै सरकारी पदहरुमा पनि परिवारवाद कुनै न कुनै रुपमा हाबी छ । आज प्रायः सबै जसो सार्वजनिक संस्थानहरु किन व्यवसायिक ढंगले अघि बढ्न सकेका छैनन् ? यसको खोजी हुने हो भने राजनीति भित्र मौलाएको परिवारवाद नै मुख्य कारक बन्न गएको धेरैको बुझाइ छ ।

सत्तामा छँदा हुने शक्तिको मोह अनि टिकिरहन गरिने तिकडम र पुन सक्रिय राजनीतिको निमित्त आवश्यक हुने धन सञ्चितिकै कारण राजनीतिककर्मीबाट हुने शक्ति दुरुपयोगको परिणामको रुपमा मौलाएको परिवारवाद वास्तवमा राजनीतिकर्मीहरुको भविष्यको निमित्त कति घातक भइरहेको छ भन्ने कुरा ति राजनीतिकर्मीहरुले बुझ्नु जरुरी छ । आज राजनीतिकर्मीहरुले मात्र होइन, उनको परिवारले समेत के बुझ्न जरुरी छ भने, आफ्नो मान्छे राजनीतिमा भएकै कारण अपुताली जस्तो गरी प्राप्त हुने पदले कहीं उनीहरुको हिजोको त्याग र समर्पणको गरिमा घटाइ रहको त छैन ? एक सम्धीको कारणले भोलिको देशको नेतृत्व गर्नुपर्ने सुन्दर भविष्य भएको नेता जनताबाट आलोचित हुँदै आफैंले फेसबुकमा बर्बराउन पर्ने अवस्था सृजना गराएर के ति सम्धीको मनले शान्ति पाएको होला ?

सक्रिय राजनीतिमा रहेका नेताका परिवारले अब राजनीतिक पदको निमित्त मरहत्ते गर्दै धर्मसंकटमा पार्नु भन्दा आफ्नो मान्छे राजनीतिको सक्रिय पदमा रहुन्जेल राजनीतिक नियुक्ति नलिने संकल्प गर्नु आवश्यक छ । यसले उनीहरुलाई सम्मानित र मर्यादित जीवन जिउन सहयोग नै मिल्छ । राजनीति गर्नेहरुले आफूले गरेको काम राम्रो छ भनेर मात्र पुग्दैन । जनताको नजरमा पनि राम्रो देखिनु पर्छ । नेतृत्व गर्ने व्यक्ति जति सरल र साधारण देखियो त्यति नै आस्था र निष्ठासँग जनताले जोडेर हेर्छन ।

आज देशकै प्रथम महिला राधिका शाक्यलाई जनताले अलग ढंगले हेर्छन । उहाँलाई यसकारण पनि श्रद्धा गर्छन कि एक होनाहार राजनीतिकर्मी भइकन पनि उहाँको भूमिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्नमा मात्र केन्द्रित देखिन्छ । न कुनै छलछाम, न कुनै लोभलालच । एउटा अलग प्रकारको राजनीतिक संस्कारकै कारण जनतामा प्रधानमन्त्री ओली परिवारवादको नाममा हुने आलोचनाबाट मुक्त देखिन्छन । प्रथम महिला राधिका शाक्यको आदर्शलाई समकक्षी परिवारहरुले पनि अनुसरण गर्न सके यसले देशलाई ठूलो राहतको महसुस गराउन सक्छ ।

सत्ता सबैको पाहुना मात्र हो । जति दिन टिकिन्छ त्यो समय सत्कर्मले ओतप्रोत हुन पुग्यो भने जीवनभरिका लागि त्यो राजनीतिकर्मी जनताको नजरमा अविस्मरणीय ठहरिन्छ । जनताको नजरमा टिक्न नसकेकाहरुको बाँकी जीवन प्राणहीन शरीर बन्न जान्छ । सम्बन्धित पक्ष सचेत हुनु नै समस्याको निकास हो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);