उराठ लाग्दो बन्दाबन्दी, बढ्दो कोरोना सन्त्रास (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उराठ लाग्दो बन्दाबन्दी, बढ्दो कोरोना सन्त्रास (भिडियाे)

काठमाडौं, ११ भदौ । कोरोना सन्त्रासकै कारण देश झण्डै ६ महिनादेखि थला परिरहेको छ । पूर्ण या आंशिक जे भनेपनि सम्पूर्ण जनजीवन लकडाउनको चपेटामा छ । देश भित्रको भूभागहरु परदेश जस्तो भएको छ । सामाजिक दूरिकै कारण नातागोता, इष्टमित्रसँगको मिलन लगभग शून्य छ । देशभर लकडाउनदेखि निषेधाज्ञासम्म जारी गरिएको छ । जे जस्तो गरेपनि कोरोनाको संक्रमण दर भने बढ्दो देखिएको छ ।

यो सबै परिवेशमा सरकारले उठाएका कदमहरुको राम्रो जवाफ जनताले पाइरहेका छैनन् । यो अन्त्यहीन लकडाउन नै कोरोनाको औषधी हो या संक्रमण फैलनबाट रोक्न सरकारको अरु योजना पनि छन् ? लकडाउन नै औषधी भएको भए संक्रमण दर नियन्त्रण हुँदै जानुपर्ने थियो तर उल्टो बढ्दै गएको छ । पक्कै पनि लकडाउन समाधान होइन । नयाँ योजना कार्यान्वयन हुँदासम्म थुप्रै संक्रमण हुने डर भए अन्तरिम समयको लागि लकडाउन गर्नु पर्ने हो । तर हाम्रो देशमा कोरोनाको इन्जेक्सन नै लकडाउन जस्तो देखिएको छ । लकडाउन बाहेक सरकारले केही सोचेकै छैन जस्तो देखिन्छ ।

अझ कष्टकर बन्दै गएको जनजीविकालाई मध्यनजर गरी योजनाहरु आउनुको सटृा लकडाउनको सुरुसुरुमा देखिएको सरकारी प्रयासहरु समेत उदासिनतातर्फ परिणत हुँदै जानुलाई भने अचम्मै मान्नुपर्ने अवस्था छ । महामारीको यो संकटकाल अवधीमै बरु नयाँ नयाँ व्यापारहरु सुरु भइरहेको देखिएको छ । पीसीआर चेक गर्ने काम निजी क्षेत्रमा पनि दिइएको छ । सरकारी क्षेत्रबाट थुपै्र विसंगतिहरु देखिएको सन्दर्भमा निजी क्षेत्रले यसलाई कमाउने उपायका रुपमा हेरि दियो भने जनताको लागि त्यो अझ पीडादायक हुन सक्छ ।

माक्स, सेनिटाइजर इत्यादिको सरकारी आदेश अनुसारको प्रयोग गर्नै पर्ने बाध्यात्मक अवस्थासँगै मौलाएको व्यापारको कहींकतै राम्रो अनुगमनको अवस्था भेटिंदैन । जनता घरमा कहिलेसम्म बस्ने हो ? कोरोनाको औषधि त एक दिन निस्केला तर क्षतविक्षत भएको अर्थतन्त्रलाई कसरी पुनर्जीवन दिने हो ? हरेक क्षेत्रमा मौलाएको निराशाजनक राजनीतिक वातावरण जस्तै निराश देखिएका देशका सम्पूर्ण समस्याहरुले कहीं समाज नै क्षतविक्षत हुन पुग्यो भने त्यसलाई सम्हाल्न कठीन हुनसक्छ ।

सरकारले अन्त्यहीन लकडाउनको वकालत होइन, अब जनजीवन सहज बनाउनेतर्फ सोच्नुपर्छ । आवश्यक होसियारी नै कोरोना नियन्त्रणको लागि महत्वपूर्ण पक्ष हो । थुनेर समस्याको समाधान हुँदैन । नयाँ तरिकाले होसियारीपूर्वक रोगसँग लड्ने क्षमताको विकास गर्दै, अभ्यस्त हुँदै अगाडि बढ्नु नै संकट समाधानको उपाय हुन सक्छ । कोरोनासँग त्रसित भएर होइन, आत्मबल बढाएर मात्र जित्न सकिन्छ ।

खुकुलो वातवरण पाउने बितिकै असावधान भई हिंड्ने जनमानसको व्यवहारमा पनि सुधार हुनु जरुरी छ । स्वास्थ्यसँग सम्बन्धित सबै पक्ष यतिबेला व्यापारमा केन्द्रित हुनु आफैंमा दुःखद हो । सबैको संगठित प्रयासबाट मात्रै कोरोना संक्रमणसँग जुध्न सकिन्छ । विजय पाउन सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);