नेकपाको राजनीति ‘माछोमाछो भ्यागुतो’ | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

नेकपाको राजनीति ‘माछोमाछो भ्यागुतो’

काठमाडौं, ७ भदौ । नेकपा भित्रको महिनौं तरंगित राजनीतिक शक्ति संघर्षको विवाद सुल्झिने संकेत देखिएको छ । बहुत अप्रिय अनि आकस्मिक रुपमा धेरैको आँखामा भारतीय प्रायोजित जस्तो लागेको प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अभियान खास कुनै विशेष उपलव्धी विरामतर्फ गएकोलाई, पार्टीकै अनिष्टसँग जोडेर हेर्नेहरुका लागि राम्रो निकास बन्न गएको देखिएको छ । यो निर्णयसँगै प्रधानमन्त्री ओलीको दुबै पद यथावत रहेका छन् र बाँकी बुँदाहरुमा पनि त्यस्तो विशेष चमत्कार देखिएको छैन ।

नेकपाको सुझाव कार्यदलले सर्वसम्मत रुपमा बुझाएको भनिएको सुझाव हेर्दा यत्रो लामो समयको राजनीतिक किचलोको गन्तव्य भने खासै ठूलो रहेनछ भन्ने स्पष्ट देखाएको छ । कार्यदलले कुनै त्यस्तो ठूलो र कायापलटकारी सुझाव भन्दा पनि प्रधानमन्त्रीको अगाडि रक्षात्मक बन्दै गएका प्रचण्ड–माधव लगायतका नेताहरुको लागि सामान्य मास्कको मात्र काम गरेको देखिएको छ ।

देशमा फैलिइरहेको कोरोना संक्रमणदेखि अस्तव्यस्त हुँदै गएको जनजीविकाका सवालहरुलाई खासै महत्व नदिनु, सत्ता इतरका नेताहरुको लागि स्वभाविक मानिए पनि छिमेकी देश भारतसँग उठेको गम्भीर विवादका बीच प्रधानमन्त्रीलाई हटाउने कार्ययोजनासहित आकासिएको पार्टी राजनीति, जनदवावसँगै मत्थर हुनु स्वभाविकै थियो । मत्थर र रक्षात्मक बन्दै पार्टी पंक्तिमै आफ्नो भूमिका गौण बन्दै गएको मध्यनजर गर्दै बनेको यो राजनीतिक वातावरणले उचाइ प्राप्त गर्न सकेमा प्रधानमन्त्रीको निमित्त काम गर्ने वातावरण बन्नेछ र अन्य नेताहरुलाई केही हदसम्म भएपनि राजनीतिको मूल प्रवाहमा समेटिनको निमित्त सहयोग मिल्नेछ ।

महिनौदेखि विवादको कारण सरकारले कुनै काम गर्न सकेको छैन । यसको जिम्मेवारी कसले लिनुपर्ने हो त्यो नेपाली जनता जान्न चाहिरहेका छन् । निरर्थक विवादको भूमरिमा राजनीतिलाई नै अनिश्चिततातर्फ लैजाने परिपार्टी राम्रो होइन । निरर्थक राजनीतिक विवादको उठान र गन्तव्य पनि निरर्थक नै देखिएको छ । देशले विकास खोजेको छ , निकास खोजेको छ । कालापानी क्षेत्रका जनताले राहात खोजेका छन् । थला परेका व्यवसायीले आशा लाग्दो लगानीको वातावरण खोजेका छन् । कृषकले मल खोजेका छन् । दैनिक ज्याला मजदुरी गरी खाने जनताले राहात खोजेका छन् । नेपाल भारत बीचको विकासित घटनाक्रमले निकास खोजेको छ ।

छिमेकीसँग कुरा गर्न, देखाउनकै लागि भए पनि बलियो राष्ट्रिय एकता जरुरी छ । यी सबै राष्ट्रिय मुद्दाहरुलाई ओझेल पार्ने गरी गरिने सत्ता र शक्तिको राजनीतिले जनतालाई निराश मात्र गर्दछ । अहिलेको अवस्थाबाट सबैले पाठ सिक्न जरुरी छ । नेकपाको प्रचण्ड बहुमतमा गठन भएको वर्तमान सरकारलाई क्रियाशील गराएर मात्र नेकपाले जस लिन सक्दछ । प्रधानमन्त्रीलाई हेर्ने पार्टी पंक्तिको सकारात्मक नजर अब सिंगो सरकार र जनतातर्फ मोडिन सक्यो भने, आगामी दिन नेकपाको लागि सुखद हुनसक्छ ।

यसको लागि झन्झटरहित पार्टी संयन्त्र बनाउँदै अल्झाउनेतर्फ भन्दा सुल्झाउनेतर्फ अघि बढ्न नेतृत्व सफल भयो भने यो पार्टीको निमित्त मात्र नभई देशकै निमित्त अझ सुखद हुनेमा कसैको विमती नहोला ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);