मधेसवादले नेतृत्व गर्न नसकेको तराई मधेस भित्रको विकास र हाम्रो राष्ट्रवाद | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मधेसवादले नेतृत्व गर्न नसकेको तराई मधेस भित्रको विकास र हाम्रो राष्ट्रवाद


काठमाडौं, ७ भदौ । भौगोलिक हिसाबले अत्यन्त सुगम नेपालको तराई मधेस क्षेत्र अहिले पनि पिछडिन बाध्य छ । भूगोलले सुगम बनाई दिएको भए तापनि मधेसमा फैलिएको गलत राजनैतिक संस्कार, सामन्ती पृष्ठभूमि अनि नेता र जनता बीचको ठूलो असमान खाडलको कारण यो क्षेत्रले आशातित विकासको बाटो पहिल्याउन सकेको छैन । सबैलाई आश्चर्य लाग्न सक्छ कि, नेपालमा भएका सबै उद्योगहरु तराईमा छन् । अन्नको भण्डार तराई नै हो ।

यातायातको सुगमता भन्नै परेन । दुई घण्टाको दुरीमा सीमावर्ती क्षेत्रको बजारमा पहुँच पनि छ । तर पनि पछौटेपन, गरिबी जस्ता समस्यै समस्याबाट जनता भने पिल्सिरहेकै छन् । यी जनताको नाममा राजनीति गर्नेहरुले ठूलै प्रगती गरे । मधेसको नेतृत्व गर्नेहरु छोटो समयमै झुपडीदेखि आलिसान महलसम्मको प्रगति गर्न सफल भए । साइकलबाट सुरु भएको राजनीति प्राडा,े पजेरोसम्म पुग्यो । थुप्रैका महलहरु राजधानीमा खडा भए । तर जनताको स्तर भने जहाँको तहीं छ, माथि उठ्नै सकेन ।

आज तराई मधेसको अवस्था हेर्दा भूगोलले नै निर्मम रुपमा ठगेको कर्णालीका विकट स्थानका जनता भन्दा पनि पछि देखिएको छ । वर्षमा ६ महिना हिउँले ढाक्ने कतिपय स्थानहरु छन, जसमा नूनको निमित्त ४।५ दिन लगाएर भेडा च्याङ्ग्रामार्फत ढुवानी गर्नुपर्ने बाध्यता छ । ति क्षेत्र पनि अहिले धेरै अगाडि बढिसकेको देख्न सकिन्छ । तर यस्ता भौगोलिक विकटताको परिवेश तराई मधेसले कहिल्यै नभोग्दा पनि भूगोलले दिएको बरदान नेतृत्व गर्नेहरुको सोच र चिन्तनका कारण बरदानमा परिणत हुन सकेन । आदिवासीको नारा जति नै उठाए पनि आदिवासीको हक हितको निमित्त सिन्को समेत पनि भाँचेको देखिएन ।

मधेस आन्दोलनको बेला शाहदत हुनेहरुलाई राज्यले दिएको क्षतिपूर्तिमा समेत कमिशन दिनु परेको गम्भीर पीडा बताउने जनता अहिलेसम्म पनि लाखौं विदेशीले नागरिकता पाउँदा आफ्नै देशका पहरेदारको रुपमा रहेका नेपाल आमाका छोराछोरीले भने सहज रुपमा नागरिकता समेत पाउन सकेका छैनन् । नागरिकता नभएकै कारण राज्यको मूल प्रवाहबाट अलग हुन बाध्य मधेस भित्रको मधेसको बारेमा बोलिदने राजनीति अहिलेसम्म मधेसमा देखिएको छैन । नेता र ठेकेदारको लागि मात्रै उर्बर बनेको तराई मधेस भूमि कहिल्यै पनि नेपाल आमाको वास्तविक धर्तिपूत्रहरुको लागि भने उर्बर बन्न सकेन ।

विदेशबाट ल्याएका मान्छेलाई जबर्जस्ती नागकिता दिलाउँदै नेपाली बनाएर उनीहरुकै भोटबाट हालीमुहाली गर्ने चिन्तनबाट ग्रसित तराई मधेसको राजनीतिक चिन्तनको आधार पनि छिमेकी भारत नै बन्ने गरेकोले पनि तराई मधेसलाई आफ्नो पेवा सम्झने राजनीतिक मसिहाहरुको दृष्टिमा यी धर्तीपूत्रहरुको कुनै मूल्यांकन नै हुँदैन । नेपालका पहरेदार हाम्रो देशका धर्तीपूत्रहरु नै हुन । नेपाल रुंदा रुने पनि यही धर्तिपूत्रहरु नै हुन । आयातित नक्कली नेपालीहरुलाई के थाहा कि राष्टवाद के हो ? पूरानो मूल्य र मान्यता के हो ? सम्पूर्ण भौगोलिक वातावरणको आधारमा आदिमकालदेखि एक ढिक्का भई बाँचेका तराई पहाड हिमालका मौलिक धरातल के हो ? विरासत के हो ? एकताका सूत्रहरु के के हुन ? इत्यादि । नक्कली रुपमा प्रवेश गरेका भारतीयहरुलाई त भारतको बारेमा मात्र जानकारी हुन्छ । उनीहरुले भारतकै चिन्तन गर्छन ।

अहिले पनि उनीहरु भारतकै नागरिक हुन । उनीहरुले गर्ने राजनीति पनि भारतकै लागि हो । यही राजनीतिक स्वार्थ नमिलेकै कारण तराई मधेसमा गम्भीर राजनीतिक खाडल बढ्दै गएको छ । राजनीतिक खाडलसँगै आर्थिक दुरावस्थाले पनि दिनानुदिन गहिरो खाडल बनाउँदैछ । राजनीतिक नेतृत्वले संविधानमा परिवर्तन गर्ने कुरा त गरेको छ तर नेपाली धर्र्तीपूत्रको लागि होइन । परिवर्तन गरिने भनिएको संविधानको बुँदाहरुले केवल भारतबाट आयातित अवसरवादी जनसागरलाई मात्र लाभ पुर्याउने छ । उनीहरुलाई अझ बढी नेपालमा सुरक्षित गर्नेछ । उनीहरुले मागेको जति अधिकार संविधानमा राखिदिने हो भने, तराईका भूभागबाट हाम्रा आदिवासीहरुले लिएको अहिलेको स्थान पनि ति आयातितहरुले लिनेछन् ।

यही अभिष्ट पूरा गर्नको निमित्त नेपालको सदियौंदेखिको राष्ट्रिय एकतामा दरार ल्याउन उद्यत तत्वहरु क्रियाशील छन् । यो वस्तुस्थितिलाई अब तराई मधेसका नेपालीहरुले राम्रोसँग बुझ्न जरुरी छ । आफ्नो टोल छिमेकमा रातारात ओइरिएका विदेशी झुण्डहरुको दबदबालाई पहिचान गर्न जरुरी छ । सशक्त आवाजसहित आफ्नो हक अधिकारको निमित्त र विदेशी अतिक्रमणको विरुद्ध आवाज उठाउन जरुरत छ । हाम्रो हिमाल, हाम्रो पहाड र हाम्रो तराई भन्ने भावनाले मात्र समग्र नेपाललाई जोड्न सक्छ ।

कसैसंग नझुक्ने गौरवपूर्ण इतिहास बोकेका हामी नेपालीले भारतीय अतिक्रमणलाई सशक्त प्रतिकार गरेर मात्र देशको गौरवपूर्ण इतिहास बनाउन सफल हुन सक्छौं । भारतको मुख हेरेर होइन, नेपाली जनताको मुख र अवस्था हरेरे राजनीति गर्न थालियो भने मात्र रुपान्तरित नेतृत्व नेपालीको लागि प्रिय हुनसक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);